Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशजथाभावी नार्कोटिक औषधि बिक्री गर्ने उज्वल फर्मालाई उन्मुक्ति

जथाभावी नार्कोटिक औषधि बिक्री गर्ने उज्वल फर्मालाई उन्मुक्ति


विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङका महासचिव अरुण ठाकुरले सञ्चालन गर्दै आएको विराटनगको उज्वल फर्मामा नशा रोगका बिरामीले प्रयोग गर्ने ‘नार्कोटिक’ औषधि अभिलेख नराखी जथाभाबी बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

औषधि व्यवस्था कार्यालय विराटनगरले हालै गरेको अनुगमनका क्रममा उज्वल फर्माले नार्कोटिक औषधि अभिलेख नराखी बिक्री वितरण गर्ने गरेको फेला पारे पनि कार्यालयले कुनै कारबाही गरेको छैन । कार्यालय र महासचिव ठाकुुरका बीचमा भएको गोप्य सहमतिपछि कारबाहीको प्रक्रिया अगाडि नबढाइएको स्रोतको दाबी छ । अनुगमनको क्रममा औषधि व्यवस्था कार्यालय विराटनगरका प्रमुख निकेश श्रेष्ठले सो फर्मालाई कारबाही गर्ने बताएका थिए । तर उक्त फर्माका सञ्चालकसँग गोप्य सम्झौता गरेर प्रमुुख श्रेष्ठले उन्मुक्ति दिएका छन् । नार्कोटिक औषधिको अनुचित प्रयोग र दुरूपयोग नहोस् भनेर चिकित्सकको सिफारिस र अभिलेख राखेर मात्रै बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

उज्वल फर्मामा मनलाग्दीरूपमा अनुचित प्रयोग गर्न सक्ने गरी बिक्री वितरण भइरहेको सूचनासहित औषधि व्यवस्था कार्यालय विराटनगरमा उजुरी परेपछि गत वैशाख २१ गते कार्यालयले अनुमगन गरेको थियो । अनुगमनका क्रममा उक्त फर्माको कारोबारमा कैफियत नै फेला परेपछि सञ्चालकलाई प्रमुख श्रेष्ठले कार्यालयमा बोलाएका थिए । कार्यालयमा बोलाएर अनुसन्धान गर्नको सट्टा उल्टो प्रमुख श्रेष्ठले सहमति गरी उज्वल फर्मालाई सफाइ दिएको स्रोतको दाबी छ । अनुगमनका क्रममा ‘नार्कोटिक औषधिको उज्वल फर्माको खरिद खाता र मौज्दात विवरणमा मेल नखाएको कुरा स्वयं कार्यालय प्रमुख श्रेष्ठले तत्कालै जानकारी गराएका थिए ।

स्रोतका अनुसार उज्वल फर्माले दैनिक नार्कोटिक औषधिको अर्डर लिने गरेको छ । साथै, सो फर्माले जोगबनीबाट अवैधरूपमा भित्र्याएको औषधि पनि बिक्री वितरण गर्ने गरेको स्रोतको दाबी छ । यसरी भित्रिएको औषधिविना रेकर्ड नै जथाभावीरूपमा सेवन गर्नेहरूलाई सो फर्माले औषधि बिक्री वितरण गर्दै आएको छ । एक औषधि व्यवसायीका अनुसार नार्कोटिक औषधिका आइटम धेरै हुन्छन् । नार्कोटिक आईटम–कोडेफ, कोडोफोक्स, कोडो ट्याब, प्रिगास्टार ७५ एमजी, ओपीडोल, स्पास्मोल, ट्रपेन्टाडोल र अट्रासेटजस्ता मेडिसिन खुला बोर्डरका कारण खुलेआम नेपाल भित्र्याउने गरेको छ । यी औषधिको अनुचित प्रयोग गरी लागू औषधिको रूपमा खपत हुने गरेको छ ।

फार्मेसीमा कारोबार हुने मेडिसिन अनिवार्य औषधि व्यवस्था विभागको स्वीकृतिअनुसारको मात्रै हुनुपर्छ । नेपाली वा विदेशी मेडिसिन बिक्रीका लागि विभागले स्वीकृति नदिएको औषधि तथा फुड सप्लिमेन्टका कुनै पनि आइटम बिक्री गर्न पाइँदैन । नार्कोटिक आइटम बिक्री गर्दा चिकित्सकको सिफारिस अनिवार्य आवश्यक पर्छ । औषधि बिक्रीसँगै त्यसको अभिलेख अनिवार्य राख्नुपर्ने हुन्छ । त्यसमा चिकित्सकको नेपाल मेडिकल काउन्सिल नम्बर पनि समावेश हुनुपर्दछ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया