Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसङ्घले नेपालमा युरोपेली लगानी भित्र्याउन सघाउने

सङ्घले नेपालमा युरोपेली लगानी भित्र्याउन सघाउने


काठमाडौँ । युरोपेली सङ्घले नेपालमा युरोपेली लगानी भित्र्याउन सघाउने बताएको छ । युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले बताइन् ।

राजदूत लोरेञ्जोले नेपाल र युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार यहाँ आयोजित स्वागत समारोहमा नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौँमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिइन ।

बैठकमा राजदूत लोरेञ्जोले नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली सङ्घमा आबद्ध मुलुकका कम्पनीले भाग लिने बताइन् । उनले सङ्घमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिइन् । उनले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यसनिम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताइन् ।

राजदूत लोरेञ्जेले बन्दी बनाइएका विपिन जोशी र उनको परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिन् । उनले विश्वव्यापी रूपमा सङ्घ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताइन् । नेपालको विकास साझेदार सङ्घले २०७२ सालको भूकम्प होस् या कोरोना महामारी यहाँको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको राजदूत लोरेञ्जेले बताइन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको समारोहमा उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया