Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीआईबीले पायो ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड’

सीआईबीले पायो ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड’


काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२० प्राप्त गरेको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमअन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, संयुक्त राष्ट्रसंघअन्तर्गतको कार्यालय लागूऔषध र अपराध, इन्टरपोल, साइटिस, वर्ल्ड कस्टुम्स अर्गनाइजेसनको सहयोग तथा साझेदारीमा अन्तर्देशीय वातावरणीय अपराधविरुद्ध प्रदान गरिने एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२० सीआईबीले पाएको हो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीलाई उक्त अवार्ड प्रदान गरिएको हो । सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुल बहादुर थापाका अनुसार बैंककमा भएको विशेष कार्यक्रममार्फत गत फागुन ५ गते उक्त अवार्ड प्राप्त भएको घोषणा गरिएको हो । सो पश्चात् २०७७ चैत ४ गते प्रहरी नायब महानिरीक्षक थापाले उक्त अवार्ड विशेष कार्यक्रमबीच पुरस्कृत हुने प्रहरी कर्मचारीहरुलाई प्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा निर्देशक प्रहरी नायब महानिरीक्षक थापाले पुरस्कृत हुने प्रहरी कर्मचारीहरु र समस्त केन्द्रीय अनुसन्धान ब्युरोको कर्मचारीहरुलाई बधाई ज्ञापन गर्नुका साथै उक्त पुरस्कारले प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाएको र अन्तर्राष्ट्रियजगतमा संगठनको गरिमा बढाएको बताए ।

सीआईबीका अनुसार २०६२ भदौ १६ गते रसुवा स्याफ्रु गाविस वडा नं. ९ बाट पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओंतको छाला दुई सय ३८ थान र बाघको हड्डी एक सय १३ किलो आखेटोपहारहरुसमेत बरामद भएको मुद्दामा सुरुदेखि नै फरार रहेका मुख्य अभियुक्त जिल्ला हुम्ला, साबिक लिमी गाविस वडा नं. ४ स्थायी वतन भएको वर्ष ५० को कुञ्जोक लामा भन्ने कुञ्जोक छिरिङ तामाङलाई २०७७ असार ११ गते ब्युरोको टोलीले काठमाडौंको बौद्धबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, रसुवामा बुझाइएको कारण यो अवार्ड प्राप्त गरिएको हो ।

एसियामा अन्तर्देशीय वातावरणीय अपराधविरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिक रुपमा पुरस्कृत गरिने उद्देश्यले उक्त अवार्ड प्रदान हुँदै आएको सीआईबीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया