Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवैध बाटो हुँदै हरियो मटरको निकासी बढ्यो

अवैध बाटो हुँदै हरियो मटरको निकासी बढ्यो

प्रहरी बेखबर, कारोबारी मालामाल


विराटनगर । कोभिड १९ को संक्रमणका कारण बन्दाबन्दीमा परेको अवस्थामा समेत विराटनगरका केही ट्रेडिङ कारोबारीहरूले तीव्ररूपमा हरियो मटरको अवैध कारोबार सञ्चालन गरेको पाइएको छ । तेस्रो मुलुकबाट आयात हुँदै आएको हरियो मटरको आयात नै सरकारले रोकेर ठप्प बनाएको अवस्थामा पनि कारोबारीले प्रदेश १ को राजधानी विराटनगरसहित मोरङको सीमावर्ती क्षेत्रबाट अवैधरूपमा भारततर्फ हरियो मटर निकासी गर्नेगरेको पाइएको हो ।

आर्थिक वर्ष ०७७÷०७८ को असार मसान्तसम्म आइपुग्दा केही ट्रेडिङ फर्म र ती फर्म सञ्चालक व्यवसायीको कारोबारले उक्त कुरालाई पुष्टि गरेको देखिन्छ । सरकार आफैँले हरियो मटरमा लगाएको आयात प्रतिबन्ध फुकुवा गर्दै कोटा वितरण गरेसँगै हरियो मटरका कारोबारी अहिले पुनः सलबलाउन थालेपछि हरियो मटर आयातमा हुने चलखेलका रहस्यहरू धमाधम खुल्दै जान थालेका छन् ।

अहिले पनि बजारमा हरियो मटरको मूल्य अत्यधिक महँगिएको व्यवसायीस्रोतले बताएको छ । हरियो मटरको माग उच्च रहे पनि बजारमा भने हरियो मटरको अभाव नै रहेको छ । कारोबारीले तेस्रो मुलुकबाट आयात गरी हरियो मटर भारत निकासी गर्दा बढी मुनाफा हुने भएकाले सरकारले हरियो मटरको कोटा वितरण गरेसँगै हरियो मटरका ट्रेडिङ कारोबारीको कारोबार एक्कासि मौलाएको रहस्य समेत सार्वजनिक भएको छ । आशातीत कारोबार गर्दा पनि ट्रेडिङ कारोबारी पंकज दुगढ र विजय तोदीले आन्तरिक राजस्व कार्यालयमा बुझाएको कारोबार विवरणबाट कुन हदसम्म पुगेर व्यवसायीले राजस्व ठगी गर्दछ भन्ने तथ्य समेत सार्वजनिक भएको छ ।

छिमेकी देश भारतमा पाकिस्तानबाट आयात हुँदै आएको हरियो मटरमा भारत सरकारले नै प्रतिबन्ध लगाएका कारण नेपालका ट्रेडिङ कारोबारीहरूले आयात गरी स्टोर गरिएको हरियो मटर सरकारले कोटा वितरण गरेपछि स्टोक निल गर्नका लागि अवैध बाटो हुँदै भारततर्फ निकासी हुन थालेको कुरा बताउन थालिएको छ ।

गत वर्षको चैतदेखिको बन्दाबन्दी र अहिले पनि कोरोनाको तीव्र वृद्धि हुँदा सरकारले मटरको कोटा वितरण गरेपछि अवैधरूपमा नेपालतर्फ आयात भएको हरियो मटर पछिल्लो केही दिनदेखि कारोबारीहरूले अवैध बाटो हुँदै भारततर्फ निकासी खोलेको दाबी समाचारस्रोतले गरेको छ । तर यसरी हरियो मटरको तस्करी हुँदा पनि नियन्त्रण गर्ने सरकारी निकाय सशस्त्र प्रहरी सीमासुरक्षा बल तस्करी हुने हरियो मटरका सम्बन्धमा बेखबरजस्तै नै बन्न पुगेको छ । यो काम निर्बाधरूपमा सञ्चालन गर्नका लागि पनि कारोबारीले सरकारले खटाएको सीमासुरक्षा बल सशस्त्रसँग पनि राम्रो सेटिङ मिलाएको दाबी समाचारस्रोतले गरेको छ ।

छोटो समयमा नै ट्रेडिङको कारोबार गरी अग्रस्थानमा देखिएको मटर कारोबार गर्ने सिद्धान्त कन्टिनेन्टल, बालाजी खाद्य उद्योग र अंकुर ट्रेडर्स गरी तीन फर्मको कारोबार विवरणमाथि नै आन्तरिक राजस्व कार्यालयबाट प्रश्न उठाएसँगै हरियो मटरभित्र रहेको गुलियो स्वादका रहस्यहरू खुलेको हो । उक्त तीन फर्ममध्ये सिद्धान्त कन्टिनेन्टल र बालाजी खाद्य उद्योग ट्रेडिङ कारोबारी पंकज दुगढले सञ्चालन गर्दै आएका भने अंकुर ट्रेडर्स ट्रेडिङ कारोबारीका पोख्त खेलाडी विजय तोदीले सञ्चालन गर्ने गरेका छन् ।

चाइनीज स्याउको आयातदेखि पछिल्लो समय मटर आयातमा समेत निकै चर्चामा आउने गरेका विजय तोदी ट्रेडिङ व्यापारमा समेत अग्रपंक्तिमा रहेका छन् । आफू मटर आयातमा अगाडि नपर्ने सर्तमा पार्टनर भएर मुनाफा खाने भन्दै कारोबारी पंकज दुगढलाई अगाडि सारेर मटरको सबै कारोबार विजय तोदी आफैँले गर्नेगरेको कारोबारी बताउँछन् ।

कोभिड १९का कारण नेपाल भारत सीमा बन्द भएको अवस्थामा पनि तोदी र दुगढले राम्रो मुनाफा आर्जन गरेको स्रोतको दाबी छ । कोरोना संक्रमण उच्च रहे पनि भारतमा दैनिक हरियो मटरको माग अत्यधिक रहेको छ । जसले गर्दा पछिल्लो समय सरकार आफैँले हरियो मटर आयातका लागि कोटा वितरण गरेर कारोबारीलाई सहजीकरण नै गरिदिएपछि अवैध कारोबारीलाई झनै सहज भएको बताउन थालिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x