Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्राफिक कार्यालयद्वारा झण्डै दुई गुणा बढी राजस्व संकलन !

ट्राफिक कार्यालयद्वारा झण्डै दुई गुणा बढी राजस्व संकलन !


कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आव २०७७/०७८ मा झण्डै दुई गुना बढी राजस्व संकलन गरेको छ । कार्यलयले अघिल्लो आवमा भन्दा गत आवमा ३० लाख बढी राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा ७७ लाख २८ हजार पाँच सय राजस्व रकम संकलन गरेको कार्यलयले आव २०७६/०७७ मा ४७ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो । त्यसअघि २०७५/०७६ मा ६८ लाख आठ हजार पाँच सय राजस्व संकलन गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका नयाँ इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक केशवराज भट्टले कार्यालय सम्हालेपछि गत वर्ष फेरि राजस्व बढाएका हुन् । उनी गत असोजदेखि ट्राफिक इन्चार्ज छन् ।

आव २०७६/०७७ राजस्व असुली कम हुनुमा कोरोना महामारी संक्रमणलाई देखाएको थियो । पहिलो पटक २०७६ फागुनमा महामारी फैलिएपछि चैत ११ गतेदेखि जेठसम्म लकडाउन गरिएको थियो । गत वर्ष पनि चैतदेखि जेठसम्म लकडाउन गरिएको हो । ट्राफिक प्रहरी कार्यालयले गत वर्ष भने कोरोना महामारी संक्रमणमा पनि ३० लाख बढी राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज ट्राफिक प्रहरी इन्चार्ज केशवराज भट्टले सवारी नियम मिच्ने सवारी साधनलाई कारबाही गरी राजस्व संकलन गरिएको बताए । ‘कारबाहीबाट यो राजस्व संकलन गरिएको हो’ उनले भने, ‘कारबाहीमा बढी सवारीसाधन परेका छन् ।’

कार्यालयका अनुसार गत वर्ष १३ हजार सात सय ५९ सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्ला तीन वर्षमा सबैभन्दा बढी सवारी गत वर्ष कारबाहीमा परेका हुन् । अघिल्लो वर्ष २०७६/०७७ मा आठ हजार तीन सय ९९ सवारीलाई कारबाही गरिएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १२ हजार १० सवारीमाथि कारबाही गरिएको थियो ।

ट्राफिक प्रहरीलाई ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई पाँच सयदेखि एक हजार पाँच सय रूपैँयासम्म जरिवाना गर्ने अधिकार छ । त्यसभन्दा बढीको जरिवाना गर्ने अधिकार यातायात व्यवस्था कार्यालयलाई छ । कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल छन् । हेल्मेट नलगाउने, सवारी चालक अनुमतिपत्रसहित कागजात नबोक्ने, दुईभन्दा बढी यात्रु बोक्ने, गैरप्रयोजनमा प्रयोग गर्नेलगायतका नियम मोटरसाइकलले उल्लंघन गर्दै आएका छन् । लाझाडी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा ट्राफिक प्रहरी पुगेका छन् । कञ्चनपुरमा ५२ जना ट्राफिक प्रहरी परिचालन गरिएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x