Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमूल मर्मविपरीत लुघवित्तहरूको शाखा विस्तार

मूल मर्मविपरीत लुघवित्तहरूको शाखा विस्तार


काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सहज पहुँच ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत पु-याउने उद्देश्यले स्थापित लघुवित्तहरु व्यावहारिक रुपमा सहर केन्द्रित भएका छन् । दुर्गम क्षेत्रमा बढी क्रियाशील हुनुपर्ने लघुवित्तहरुको संख्या दुर्गममा न्यून देखिएको छ । लघुवित्तहरु आफ्नो मूल मर्मविपरीत ग्रामीण क्षेत्रको सट्टा सहरी क्षेत्रमा बढ्दा दुर्गममा आमसर्वसाधारण बैंकिङ पहुँचबाट अझै विमुख हुनुपरेको छ । पछिल्लो समयमा ग्रामीण क्षेत्रलाई आधार मानेर स्थापित लघुवित्तहरुले सहरी क्षेत्रमा शाखा विस्तारलाई जोड दिएका छन् । कतिपय लघुवित्तहरुले नाम मात्रको कार्यालय ग्रामीण भेगमा राखेका छन् ।

पछिल्लो समय नेपालमा लघुकर्जासम्बन्धी कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुको संख्या सहरी क्षेत्रमा बढेर गएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गत लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको निरीक्षण तथा सुपरिवेक्षण वार्षिक प्रतिवेदन २०७७/०७८ अनुसार २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या तीन हजार नौ सय ४६ वटा रहेकोमा २०७८ असार मसान्तमा यस्तो संख्या १७ दशमलव ११ प्रतिशतले बढेर कुल शाखा संख्या चार हजार छ सय २१ पुगेको छ ।

ती शाखा संख्याहरुमा संस्थाको केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालयहरु समावेश नगरिएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुले सातवटै प्रदेशहरुमा सेवा प्रदान गर्दै आइरहेकोमा सबैभन्दा बढी शाखा भने लुम्बिनी प्रदेशमा देखिएको छ भने सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा देखिएको छ । तुलनात्मक रुपमा लुम्बिनी प्रदेश सुगम छ ।

लुम्बिनी प्रदेशमा एक हजार ७५ अर्थात् २३ दशमलव २६ प्रतिशत शाखाहरु सञ्चालन हुँदा कर्णाली प्रदेशमा एक सय ९८ अर्थात् चार दशमलव २८ प्रतिशत मात्र शाखाहरु सञ्चालनमा छन् । प्रदेश नं. १ मा भने सात सय ७२ अर्थात् १६ दशमलव ७१ प्रतिशत शाखाहरु सञ्चालनमा रहेकोमा मधेश प्रदेशमा नौ सय ५७ वटा अर्थात् २० दशमलव ७१ प्रतिशत शाखाहरु सञ्चालनमा छन् । यसैगरी बागमती प्रदेशमा छ सय ५४ वटा अर्थात् १४ दशमलव १५ प्रतिशत शाखाहरु सञ्चालनमा रहेकोमा गण्डकी प्रदेशमा पाँच सय ५१ अर्थात् ११ दशमलव ९२ प्रतिशत शाखाहरु सञ्चालनमा रहेका छन् । प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशमा भने चार सय १४ अर्थात् आठ दशमलव ९६ प्रतिशत शाखाहरु सञ्चालनमा रहेका छन् ।

प्रतिवेदनअनुसार २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा शाखा संख्या सबैभन्दा बढी मधेश प्रदेशमा २२ दशमलव ६९ प्रतिशतले वृद्धि भएको देखिन्छ भने गण्डकी प्रदेशमा १० दशमलव दुई प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या चार हजार छ सय २१ र कुल सदस्य संख्या ५१ लाख ९१ हजार तीन सय ६३ रहेका छन् । जसअनुसार एउटा शाखाले औसतमा एक हजार एक सय २३ सदस्यहरुलाई सेवा दिइरहेको प्रतिवेदनमा भनिएको छ ।

लघुवित्तहरूको कुल लगानी १४ अर्ब ४२ करोड
लघुवित्त वित्तीय संस्थाहरुको लगानी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल लगानी २०७७ असार मसान्तको तुलनामा ६१ दशमलव ३६ प्रतिशतले वृद्धि भई १४ अर्ब ४२ करोड रुपैंयाँ पुगेको छ । सोमध्ये सबैभन्दा बढी लगानी भने मुद्दती निक्षेपमा भएको देखिएको छ । मुद्दती निक्षेपमा लघुवित्त वित्तीय संस्थाहरुले कुल १२ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन् । यीबाहेक २०७८ असार मसान्तमा सरकारी सुरक्षणमा ५८ करोड रुपैयाँ लगानी भएको छ भने सेयर तथा डिबेन्चरमा ११ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले सूचीकृत नभएको सेयरमा ४० करोड रुपैयाँ लगानी गरेका छन् भने अन्य लगानीमा ६७ करोड रुपैयाँ लगानी गरेका छन् ।

Open photo

राष्ट्र बैैंकका अनुसार २०७८ असार मसान्तमा सेयर तथा डिबेञ्चरमा लगानी भएको रकमको प्राथमिक पुँजीसँगको अनुपात शून्य २४ रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त अनुपात शून्य दशमलव १७ रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x