Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवित्तीय संकट एक वर्षभन्दा बढी लम्बिने विश्व बैंकको दाबी

वित्तीय संकट एक वर्षभन्दा बढी लम्बिने विश्व बैंकको दाबी


काठमाण्डौं,चैत १९

चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरस (कोभिड–१९)ले विश्वको अर्थतन्त्रलाई गम्भीर धक्का दिने भएको छ । विश्वव्याधिबाट विश्वलाई एक वर्षभन्दा बढी समय वित्तीय संकटमा धकेल्ने पनि विश्व बैंकको दाबी छ । विश्व बैंकका अनुसार खासगरी पर्यटन, व्यापार र कमोडिटीमा निर्भर देशहरुमा संकट लम्बिनेछ । विश्वको अर्थतन्त्र ठप्प हुँदा यो वित्तीय संकट सन् २०२० भन्दा पनि पछिसम्म लम्बिने बताइएको छ । गरिबहरु थप गरिब हुनेछन् भने धनीहरुले पनि आम्दानी जोगाउन सक्नेछैनन् । यसले अर्थतन्त्र सुधारको बाटो लामो र कष्टकर हुने पक्का भएको छ । डिसेम्बर महिनामा सुरु भएको कोरोना विश्वका दुई सय तीन मुलुकमा फैलिसकेको छ । विश्व बैंकका अनुसार पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका मात्रै एक करोड दश लाख मानिसलाई थप गरिबीमा धकेल्ने केही दिन अगाडि सार्वजनिक गरेको ‘कोभिड–१९ को महामारीले पार्ने आर्थिक प्रभाव’सम्बन्धी प्रतिवेदनमा देखाइएको छ । विश्व बैंकले कोरोनाको कारण न्यून ज्याला तथा अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरु अत्यधिक जोखिममा रहेको पनि दाबी गरेको छ । नेपाल पनि त्यस्तै न्यून ज्याला तथा अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरु धेरै भएको मुलुकमध्येमै पर्छ । विश्व बैंकका अनुसार कोरोनाको कारण नेपालसहित दक्षिण एसियाका करिब ४० देशका जनताले आर्थिक रुपमा ठूलो जोखिम भोग्नुपर्नेछ । आन्तरिक रुपमा उत्पादन नभएका देशहरुको आर्थिक अवस्था थप कमजोर बन्नेछ । तर, धनी देशहरुमा पनि आर्थिक मन्दी आउनेछ । आर्थिक मन्दी आएपछि अत्यन्तै सुस्त तरिकाले मात्र सुधार आउनेछ । अन्य प्राकृतिक वित्तीय केही निश्चित देशमा आउने गरे पनि कोरोनाले विश्वका सबै देशलाई असर पारेको कारण सबै देशले आफ्ना लागि मात्र आर्थिक प्याकेज ल्याउनेछन् । धनी देशहरुले पनि आफ्नो अर्थतन्त्र सुधार्न मात्र आर्थिक प्याकेज ल्याउने भएको कारण नेपालजस्ता कमजोर आर्थिक अवस्था भएका देशहरुलाई त्यसले तत्काल राहत दिनेछैन ।

विश्व बैंकका अनुसार पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा अर्थतन्त्रको आधारभूमि अवस्थामा आर्थिक वृद्धिमा गम्भीर मन्दी आउने र संकुचन धेरै हुने भएकाले अर्थतन्त्रको सुधार अत्यन्त सुस्त हुनेछ । विश्वव्याधिले नछोएका करिब दुई करोड ४० लाख मानिस गरिबी नजिक पुगेर जोगिन सफल हुनेछन् । कोरोनाको प्रभाव बढ्दै गएमा साढे तीन करोड मानिस गरिबी नजिक पुग्नेछन् । विश्व बैंकले दैनिक आम्दानी साढे पाँच अमेरिकी डलरलाई गरिबीको रेखाको सीमा मानेको छ । चीनमा धेरै मानिस गरिबीको रेखा नजिक पुग्ने विश्व बैंकको प्रक्षेपण छ । चीनमा छ प्रतिशतको स्थिर आर्थिक वृद्धिदर रहेको छ । कोरोनाको कारण चार प्रतिशत विन्दुसम्मले घट्ने अनुमान गरिएको छ । तर, चीनमा सन् २०१९ मा छ दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर थियो । सन् २०२० मा दुई दशमलव तीन प्रतिशतदेखि सून्य दशमलव एक प्रतिशतसम्म खुम्चिनेछ । विश्व बैंकका अनुसार थाइल्याण्डको पर्यटन र कम्बोडियाको गार्मेन्ट क्षेत्रमा काम गर्ने हजारौं श्रमिक कादार गरिबीको रेखामुनि पुग्नेछन् । विश्व बैंकको प्रतिवेदनअनुसार फिलिपिन्स, पपुवा न्यूगिनी, इन्डोनेसिया, मलेसिया, टिमोर र थाइल्याण्डको आर्थिक वृद्धि पूर्णतः ऋणात्मक हुनेछ । कोरोनाको कारण थाइल्याण्डको अर्थतन्त्र माइनस शून्य दशमलव तीनदेखि माइनस शून्य दशमलव पाँच प्रतिशतसम्मले खस्किनेछ । मलेसिया, टिमोर इन्डोनेसियाको आर्थिक अवस्था पनि थप कमजोर हुनेछ ।  


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया