Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएक सय गन्तव्य सूचीमा समावेश बराहपोखरी संकटमा

एक सय गन्तव्य सूचीमा समावेश बराहपोखरी संकटमा


सोलुखुम्बु ।। सरकारले एक सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरी संकटमा परेको छ । बराहपोखरी गाउँपालिका–१ स्थित बराहपोखरीको पछिल्लो समय स्वरूप नै परिवर्तन भएर यसको सुन्दरता गुम्दै गएको छ ।

बराहपोखरी अहिले गेगरले पुरिएर खुर्पाको जस्तो आकार बनेको छ । वर्षात्को भलले बगाएर थुप्रिएको बलौटे गेगरले पोखरीको स्वरूप नै बिग्रिँदै गएको स्थानीयको भनाइ छ । सो गेगरलाई पन्छाएर बराहपोखरीको आकारलाई पूर्ववत् अवस्थामा फर्काउन कसैले चासो नदिएको स्थानीय ध्रुव गिरीले बताए । तीन सय ३० मिटर लम्बाइ र दुई सय १० मिटर चौडाइ रहेको बराहपोखरीमा जिमीगाउँ (सैंटार)तिरबाट वर्षामा भलपानी झर्ने गरेको छ । साथै, बराहपोखरीको पानीको सतह पनि घटेको छ । स्थानीय जानकारहरूका अनुसार विक्रम संवत् १९९० सालको भूकम्पले नै बराहपोखरीको पानी घट्न थालेको थियो । २०७२ सालको भूकम्पले पनि बराहपोखरीको छेउछाउका जमिन फुटेको स्थानीय डिल्लीराम गिरी बताउँछन् ।

चारैतिर पहाडले घेरिएको खाल्डोमा रहेको बराहपोखरीलाई उचित प्रवद्र्धन र संवद्र्धन गर्न सके प्रमुख पर्यकीय स्थलका रूपमा विकास गर्न सकिने सम्भावना छ । तर संरक्षण र संवद्र्धनको अभावमा पोखरीको अस्तित्व संकटमा पर्दै गएको छ । मुहान र निकास हुने ठाउँ नदेखिए पनि बाह्रै मास पानी हुनु बराहपोखरीको विशेषता रहेको स्थानीयको भनाइ छ । लोपोन्मुख मानिने रातो माछा बराहपोखरीको अर्को आकर्षण हो । यसको संरक्षणका लागि अन्यत्रबाट पानी ल्याएर फिल्टर गरियो भने पोखरी संरक्षणको सम्भावना रहेको बराहपोखरी गाउँपालिका–१ का वडाध्यक्ष ढकबहादुर कार्कीको भनाइ छ । यसका लागि पालिकासँग समन्वय गरेर अघि बढ्ने उनले बताए ।

स्थानीयका अनुसार बराहपोखरीको चार भागमा तीन भाग पानी घटेको छ । कतिपयले पर्याप्त वर्षा हुन छाडेका कारण पनि पोखरीमा पानीको सतह घटेको बताउँछन् । खोलाको पानी फिल्टर गरेर हिउँदमा हाल्ने व्यवस्था गर्न सके बराहपोखरीको आकर्षण फर्काउन सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ । यही पोखरीको नामबाट बराहपोखरी गाउँपालिकाको नाम समेत रहन गएको हो । तर यसको संरक्षणमा स्थानीय सरकार समेत उदासिन बनेको पालिकवासीको गुनासो छ ।

रातो माछा समेत संकटमा : बराहपोखरीमा पाइने दुर्लभ रातो माछा समेत मर्न थालेका छन् । यो पोखरीमा पाइने रातो माछा पछिल्लो समय दिनदिनै मर्न थालेको भेटिएको स्थानीय डिल्लीराम गिरीले बताए । पोखरीमा टाढाबाटै राताम्य माछा खेलिरहेको देखिने गरेकोमा हाल मरेको माछा तैरिरहेको मात्रै भेटिने गरेको स्थानीयको भनाइ छ । पोखरीमा बेला–बेलामा माछा मर्ने गरेको जानकारी पाए पनि मर्नुको कारण भने पत्ता नलागेको वडाध्यक्ष कार्कीले बताए । बढ्दो फोहोरमैलाका कारण पोखरीको रातो माछाको अस्तित्व संकटमा पर्न लागेको अनुमान गरिएको छ । स्थानीयवासीले पोखरीमा नुहाउने र लुगा धुने गर्दा बढेको फोहोरमैला र साबुनको असरका कारण रातो माछा मर्न थालेको हुन सक्ने अनुमान छ ।

साथै, जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरले समेत माछाको अस्तित्व संकटमा परेको हुन सक्ने बताइन्छ । पोखरीको पानी कम हुँदै जाँदा र पानीमा जैविक पदार्थको मात्रा बढ्दै जाँदा माछालाई ढुसीजन्य संक्रमण हुने र फुल्का कुहिने रोग लागेर मर्ने गरेको माछासम्बन्धी जानकारहरू बताउँछन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया