Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमाछाका भुरा उत्पादनमा समस्या

माछाका भुरा उत्पादनमा समस्या


कैलाली । कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो ।

वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीले जानकारी दिए । बीस बिघा जमिनमा फैलिएको मत्स्य विकास केन्द्रमा ४२ पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएको थियो । यहाँ प्रारम्भमा सात प्रकारका माछाका भुरा राख्ने पोखरी निर्माण गरिएका थिए । निमित्त प्रमुख खातीका अनुसार माछा उत्पादनका लागि १७ नर्सरीको व्यवस्था गरिएको छ । भुरा उत्पादन गरी सुपथ मूल्यमा बिक्री गरिँदै आएको छ ।

मत्स्य विकास केन्द्र हाल ह्याचरी, फिङ्गर र फ्राई माछाका भुरा उत्पादन गर्दै आएको छ । झण्डै पाँच दशक वर्षअघि निर्माण गरिएका ह्याचरी पोखरीको मर्मत गर्न सकिएको छैन । भुरा राख्न नयाँ पोखरी निर्माण गर्नुपर्ने निमित्त प्रमुख खातीले बताए । उनका अनुसार बजेट अभावले जीर्ण संरचना मर्मत गर्न सकिएको छैन । मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा तीन करोड २० लाख ह्याचरी भुरा उत्पादन गरेको थियो । चालू आव २०८०/८१ मा चार करोड ह्याचरी भुरा उत्पादन गर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ । तीस कट्ठा जग्गामा नयाँ पोखरी निर्माण गर्न सकिने निमित्त प्रमुख खातीले बताए । उनका अनुसार क्षेत्र विस्तार भएपछि आठ करोड भुरासम्म उत्पादन गर्न सकिन्छ । सोपश्चात सुदूरपश्चिमका लागि ७० प्रतिशत माछाका भुराको आपूर्ति गर्न सकिने उनले बताए ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वर्षअघि निर्माणका लागि ठेक्का गरेको आधुनिक ह्याचरीको काम बजेट अभावमा पूरा हुन सकेको छैन । सो ह्याचरीको काम पूरा गर्न सकियो भने एक वर्षमा आठ करोड भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ । प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले नयाँ संरचना थप गर्न समस्या भएको हो । मत्स्य विकास केन्द्रले एक लाख भुरा दुई हजार पाँच सय रुपैयाँमा बिक्री गर्दै आएको छ । केन्द्रमा उत्पादित माछाका भुरा सुदूरपश्चिमका नौ वटै जिल्लासहित बाँके, बर्दियालगायत जिल्लामा बिक्री गरिँँदै आएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया