Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधथोपा सिँचाइ निर्माण कार्यक्रममा भ्रष्टाचार

थोपा सिँचाइ निर्माण कार्यक्रममा भ्रष्टाचार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा पलाता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले पलाता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा, सब इन्जिनीयर माधवकुमार काप्mले, वडा नं ८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडा सचिव जानकीकुमारी शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस्तै, आयोगले मूलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिसुरा रोकायविरुद्ध पनि मुद्दा दायर गरेको जनाएको छ ।

थोपा सिंचाइ आयोजना निर्माणका क्रममा उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौताअनुसार काम नगरेको, गलत प्रतिवेदन बनाएको, वास्तविक लागतभन्दा बढी उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारले दाबी गरेको छ । सो आयोजना निर्माणमा १३ लाख ७४ हजार नौ सय ९१ रुपैयाँ बढी भुक्तानी गरेको देखिएको आयोगले उल्लेख गरेको छ । आयोगले सबैलाई १३ लाख ७४ हजार नौ सय ९१ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

यसैगरी आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठजनाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूलाई कृषि निर्देशनालय गण्डकी प्रदेशबाट प्राप्त अनुदान रकममा भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगले निमित्त कार्यालय प्रमुख खनालविरुद्ध २८ लाख ३७ हजार दुई सय १७ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । यस्तै, कृषि इन्जिनियर विश्वनाथ पौडेल, कृषि विकास अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा पौडेल तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ नगरपालिका–३ श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि समान बिगो दाबी गरी आरोपीलाई कैद सजायको समेत माग दाबी गरी मुद्दा दायर गरेको जनाएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया