Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध६७ चार्टर्ड उडानमार्फत अलपत्र नेपाली स्वदेश ल्याइँदै

६७ चार्टर्ड उडानमार्फत अलपत्र नेपाली स्वदेश ल्याइँदै


काठमाडौँ, जेठ ३०
सरकारले विदेशमा रहेका नेपालीको उद्धार कार्यक्रमलाई निरन्तरता दिएको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विदेशबाट फर्किने नेपालीको लागि उडान तय गर्न निर्देशन दिएको छ भने सोसँगै मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी ६७ वटा चार्टर्ड उडानलाई अनुमति दिएको छ । जेठ ३२ देखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमलाई २४ वटा, हिमालयलाई १९ वटा र विदेशी एयरलायन्सलाई २४ वटा चार्टर्ड उडान गरी कुल ६७ वटा उडानलाई अनुमति दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रुद्र तामाङका अनुसार सरकारको निर्देशनअनुरुप विदेशमा रहेका नेपालीको उद्धारको लागि चार्टर्ड उडानको तय गरिएको बताए । ‘विदेशमा रहेका नागरिकलाई एकै दिन धेरै उडान गरी ल्याउनेभन्दा सीमित उडानबाट स्वदेश फर्काउन लागेका हौं’, उनले भने, ‘यसबाट स्वदेशमा व्यवस्थापनका लागि सहज हुन्छ ।’

उडान तय भएसँगै पाकिस्तान, बंगलादेश, श्रीलंका, मलेसिया, साउदी अरेबिया, बैंकक, बहराइन, कतार, मस्कट, कुवेत, नाइजेरिया, संयुक्त अरब इमरेट्स, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, बेलायत, जर्मनी, अमेरिका, युगान्डा, साइप्रस र इजरायललगायतका मुलुकमा रहेका नेपाली स्वदेश फर्किन पाउने भएका छन् ।

मन्त्रालयले भाडादर तथा उडान तालिका समेत सार्वजनिक गरेको छ । दिल्ली २०५, मुम्बई ३१०, बैग्लोर ३३५, मलेसिया ५२०, बैंकक (थाइल्याण्ड) ३९०, हङकङ ५५०, ढाका (बंगलादेश) १६५, माल्दिभ्स ५०५, नारिता (जापान) ९३५ डलर रहेको छ भने ओमानको लागि ५१०, दमाम (साउदी अरब) ५९०, रियाद (साउदी अरब) ६३०, जेदाह (साउदी अरब) ७७०, दोहा(कतार) ५४५, युएई ५००, कुवेत ५७०, कम्बोडिया ४००, बहराइन ५४५, सुडान ९४०, ओमन ८१५, साइप्रस ८७५, हिब्रो (बेलायत), १३५०, फ्रान्कफर्ट (जर्मनी) १२५५ डलर रहेको छ ।

नेपाल वायुसेवा निगमले ढाका, माले, युएई, बैंकक, क्वालालम्पुर, दक्षिण कोरिया, बहराइन, कतार, कुवेतलगायतका मुलुकमा उडान भर्नेछ भने हिमालय एयरलायन्सले पनि साउदी अरब, कुवेत, बंगलादेश, माले, साइप्रसलगायतका मुलुकमा उडान भर्नेछ । यस्तै विदेशी एयरलायन्सले कुवेत मस्कट, अमेरिकालगायतका मुलुकमा उडान भर्नेछ । यस्तै विमानहरुले दैनिक १० वटा चार्टर्ड उडान भर्नेछ । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर तथा आरडीटी परीक्षण गरेको हुनुपर्छ भने स्वदेश आएपछि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । विमानमा ८५ प्रतिशत यात्रु हुनुपर्ने मापदण्ड समेत तोकिएको छ । सरकारले तोकेको भाडादर भने करसहितको भएको हुँदा सोभन्दा बढी लिन पाइनेछैन ।

पछिल्लो समय खाडी मुलुकमा रहेका नेपालीहरु चार्टर्ड विमानमार्फत स्वदेश फर्किएका छन् । सोही क्रममा बिहीबार मात्रै कुवेतमा आममाफीमा सहभागी भएका तीन सय जना महिला स्वदेश फर्किएका छन् । कुवेतले आफ्नै जहाज जजिरा एयरलायन्समार्फत आममाफीमा सहभागी नेपालीहरुलाई चार्टर्ड विमानमार्फत स्वदेश फर्काएको हो । दुईवटा चार्टर्ड उडानमार्फत ती नेपालीहरु स्वदेश फर्किएका नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । योसँगै पहिलोपटक कुवेतबाट नेपालीहरु स्वदेश फर्किएका हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया