Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफरक मतडीएसपी सत्य नारायण थापालाई खुला पत्र !

डीएसपी सत्य नारायण थापालाई खुला पत्र !


तपाईं महानगरीय प्रहरी वृत्त (लैनचौर) सोह्रखुटेको प्रमुख हुनुहुँदो रहेछ र एक पटक भेट्ने मौका मिल्यो । भेट्न दिएकोमा धन्यवाद ।

गत १८ गते बिहान ९ बजेपछि म डेराबाट अफिस जान निस्किएँ । क्षेत्रपाटीबाट ढल्को जाने बाटोमा गणेश बेकरी रहेको पूर्ववडाध्यक्ष विजयबहादुर मालीको घरमा म बस्दै आएको छु । देब्रे साइडबाट अघि बढ्दै थिएँ, अलिक अगाडि पुगेपछि विपरीत दिशाबाट विजय माली नामको युवक ढल्कोतर्फ जाँदै थियो । म आफ्नो बाटोमा जाँदै थिए । ऊ आफ्नो तालमा लम्किँदै थियो । त्यहाँबाट क्षेत्रपाटी भएको चोकतर्फ मोडिने ठाउँमा नपुग्दै त्यो केटो ओई… ओई… भन्दै चित्याउँदै दौडिएर म भएतिर आउँदै थियो । वरिपरि भएका सबैले चासोपूर्वक हेर्ने नै भएँ, म रोकिएँ । मेरो अगाडि आएर औंला मेरो नाक नजिकै पु¥याएर बाटो छेकेर धम्क्यायो । तैले के खोजेको भनेर उसले धम्क्याउँदै भन्यो ‘तँलाई मैले कुन अवस्थामा भेटेको थिएँ भन्ने त थाहा होला नि ? अहिले त्यसैको (त्यहाँ उसले बोलिएको शब्द उल्लेख गर्न असमर्थ छु) पछिपछि लुते कुकुरजस्तो लिप्रिकलिप्रिक लागेर खान परेको छ ।’

मैले सोधेँ, ‘तैँले खोजेको के हो ? मैले तँलाई के गरेँ ? म तँलाई चिन्छु तर तँसँग बोलचाल वा कुनै कारोबार केही छैन । तर पनि तँ किन धम्क्याउँछस् । म तँलाई राम्रोसँग चिन्छु । जे लछारपाटो लगाउन सक्छस् लगा भनेर जवाफ दिएँ ।
विजय माली कुनै होस् ठेगान नभएको केटो हो, उसको काम व्यवहार यस्तै मात्रै रहेछ । बुझ्दै जाँदा थाहा भयो, अहिले मलाई गरेकोजस्तो अभद्र व्यवहार अरूलाई पनि गरिसकेको रहेछ । त्यो कुरा डीएसपी थापाकै अगाडि जाहेरी दिन जाँदा २० गते उपस्थित केही व्यक्तिले बताएका थिए । अरू मुख खोल्न नसकेको मानिस कति होलान् ? डीएसपीको ध्यान त्यता पर्नुुपर्ने थियो । तर सामाजिक न्यायतर्फ उनको चासो कमसेकम मैलेचाहिँ पाइनँ ।

१८ गते बिहान जुन ठाउँमा मालीले मलाई धम्क्यायो मैले त्यहाँबाट दुई पाइला पनि यताउता नगरी जानकारी गराउनुपर्ने ठाउँमा गराएँ । तीमध्ये एक थियो, आईजी सचिवालय । सचिवालयले डीएसपी थापालाई निर्देशन दिएको हो कि जानकारी गराएको हो भन्नुपर्ने हो । उनै डीएसपी थापाले जान्लान् । तर त्यसको केही मिनेटमै डीएसपीले मलाई फोन गरे । त्यतिबेला विजय माली मलाई अभद्र व्यवहार गरेर, धम्क्याएर ढल्कोतर्फ हिँडिसकेको थियो । डीएसपी थापाले ‘के भएको ?’ भनेर सोधे । त्यो मानिस कता गयो ? तिम्रो अवस्था के छ ? हातपात भयो कि भएन भनेरसम्म पनि सोधेनन् । त्यो मालीको नम्बर छ भनेर सोधे । मैले छैन तर खोजेर पठाउँछु भने ।

उनले फोन काटे । अनि मैले विजय मालीलाई मेराविरुद्ध अहिले उक्साएर अभद्र व्यवहार गराउने मुख्य भूमिका निभाउने सामाखुसी निवासी सुचेन मालीलाई फोन गरेँ र विजय मालीको नम्बर मागेँ । उसले किन र भन्दै नम्बर दिन आनाकानी गरेको थियो । जरुरी छ भनेपछि उसले नम्बर दियो । त्यो नम्बर डीएसपी थापालाई पठाइदिएँ । त्यसपछि म सदाझै आफ्नो बाटो पकडेर अफिस लागेँ ।

म आर्थिक दैनिकमा काम गर्छु । त्यसको अफिस कुपण्डोलमा छ । मैले बाटोमा भएका साथीसँग यो घटना बताइन् । अफिसमा पनि केही भनिन् । अफिसबाट निस्कने बेलामा समाचार छाडिदिएँ । त्यहाँबाट निस्किएपछि चियापानमा बस्दा एक जना साथीसँग कुरा खोलेँ ।

निवास फर्किँने बेला हुँदै गएको थियो । अनि मैले क्षेत्रपाटीमा पुष्प मानन्धरलाई फोन गरेँ । पुष्प दाइलाई बिहान भएको घटना सुनाएँ । फर्किँदा सांघातिक आक्रमण हुने हो कि भनेर के गर्ने भनेर सोधेँ । किनभने त्यो मानिसले मलाई २०६४ सालमै ‘तँ कुन घरमा बस्छस्, कुन बाटो हिँड्छस भन्ने मलाई राम्ररी थाहा छ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पीएल सिंह, प्रकाशमान सिंहको त के गर्ने कार्यकर्ता होस् भन्ने पनि थाहा छ । तँलाई कहाँबाट घिसारेर टाँङ च्यात्नुपर्छ भन्ने पनि मलाई थाहा छ’ भनेर धम्क्याएको थियो । त्यसो हुनाले मलाई अहिले पनि डर लागिरहेको छ । डेरामा फर्किँदा कतै लुकेर आक्रमण गर्छ कि के गरौँ भनेर कुरा सेयर गरेँ ।

पुष्प दाइले त्यस्तो डराउनुपर्दैन त्यसले केही गर्न सक्दैन । आउनुस् भनेर सान्त्वना दिए । उनलाई त्यसरी सोध्नुको कारणचाहिँ उनी खेलाडी भएर मात्रै होइन मेरो क्षेत्रपाटी बसाइँको करिब ४० वर्षको सबैभन्दा पुरानो साथी हुन् । त्यसपछि म डेरामा फर्किएँ । १९ गते बिहानसम्म सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरू र टेलिभिजनहरूमा मलाई बाटो छेकेर अभद्र व्यवहार गरिएको घटनाको विरोधमा समाचारहरू आइसकेका थिए ।

एक जना साथीले त्यो घटना थाहा पाएपछि अरू साथीहरूसँग कुरा गरेर बिहान ब्रेकफास्ट मिटिङ एरेन्ज गरेका रहेछन् । त्यहाँ मलाई नबोलाउने कुरै भएन । मलाई जस्तो पिडा उसले अरूलाई पनि दिएको रहेछ । कारबाही गर्नुपर्छ छाड्नुहुँदैन भन्ने सुझाव दिए । उनीहरूले प्रहरीले पक्राउ गरिसक्यो होला, डीएसपी थापालाई सोध्नुस भनेर साथीहरूले कर गरेपछि मैले बुधबार बिहान ११ः२० मा फोन गरेँ । तर उनले फोन उठाएनन् । त्यस दिन मे दिवस परेकाले सार्वजनिक बिदा परेको थियो । अघिल्लो दिन ९ः१९ बजे उनले ९८५११५५६२५ नम्बरबाट फोन गरेका थिए । भोलिपल्ट मैले त्यही नम्बरमा फोन गर्दा उनले उठाएनन् । कतै व्यस्त होलान्, फुर्सद भएपछि फोन आउला भन्ने आसमा म अफिस लागेँ । दिनभरको काम सकेर निस्कने बेलामा तिवारीजीसँग भेट भयो । उनले एक जना उनको साथी चिनाए । पेसाले उनी प्रहरी रहेछन् ।

उनीसँग भेट्दा म सुचेन मालीसँग फोनमा कुरा गर्दै थिए । किन त्यसरी मान्छे उकासेर मलाई बाटो छेक्ने, तर्साउने, अभद्र व्यवहार गर्ने गरेको ? कि आफैँ अगाडि आएर गर्नू । अफिसमा आऊ के भएको हो कुरा गरौँ भनेँ । तर उसले मानेन । बिदाको दिन सुचेन माली ममाथि अभद्र व्यवहार गर्ने विजय मालीलाई लिएर डीएसपी थापासँग मिटिङ गर्न पुगेको रहेछ । त्यसको सुइँको मैले पाइसकेको थिए । पहिला त उसले आफूले गरेको कुरा स्वीकारेन । तर पछि कुरा गर्दै जाँदा उसले विजय मालीलाई लिएर सोह्रखुट्टे प्रहरीमा गएको र डीएसपी थापासँग कुरा गरेको स्वीका¥यो । त्यतिबेला पनि त्यसो नगर अहिले छोराको सुटिङमा जानुछ भनेँ, भोलि बिहान भैटौँ भने । उसले हुन्छ भन्यो तर सुचेन मालीले भोलि बिहान भेट्ने होइन, फोन काट्ने बहानाका लागि हुन्छ भनेको रहेछ ।

सुचेनसँग फोन वार्ता हुनुअघि मैले पुष्पसँग कुरा गरेको थिएँ । प्रहरीले कारबाही गरेन भनेपछि उसले निवेदन हालेको छ कि छैन भनेर सोध्यो । मैले निवेदन नहालेको जवाफ दिएँ । निवेदन नहाली कसरी पक्राउ पर्छ । निवेदन हाल भन्यो । अनि मैले निवेदन तयार गरेँ । यतिबेलासम्म पत्रपत्रिका र टेलिभिजनहरूमा समाचार आइसकेछन् । पत्रकार महासंघका तीनै तह केन्द्र, उपत्यका प्रदेश र काठमाडौं शाखाले छुट्टाछुट्टै वक्तव्य निकालेर पत्रकारलाई अभद्र व्यवहार गर्ने मालीमाथि कारबाहीको माग गरेका छन् । किन चाहियो निवेदन भनेर मैले पुष्पलाई भनेको थिएँ । उसले निवेदन नहाली हुँदैन भनेपछि निवेदन तयार पारिसकेको थिएँ ।

तिवारीजीको प्रहरी साथीसँग चिया खाएर बिदा भइयो । सबै आ–आफ्नो निवासतर्फ लागियो । २० गते बिहान निवेदन बोकेर क्षेत्रपाटी चोकमा उभिएँ । पुष्पलाई फोन गरेर बोलाएँ । उनले निवेदन दिनुपर्छ भनेका थिए । सोह्रखुट्टे जाउँ भने । उनले जेपी स्कुल पु¥याए । त्यहाँ दुई कप चिया पिएर सवा घण्टापछि निवेदन दर्ता गराउन मलाई प्रहरीकोमा लगेर छाडिदिए । सोध्दैखोज्दै डीएसपी थापाको कोठामा पुगेर विजयी मालीविरुद्ध अभद्र व्यवहारको किटानी जाहेर हातमा थमाएँ । त्यति बेलासम्म मैले निवेदनको फोटो पनि खिचेको थिइनँ । डीएसपीको हातमा भएको निवेदन मागेर मैले फोटो खिचेँ र जाहेरी र प्रकाशित समाचारको फोटोकपी उनलाई दिए । उनले इन्सपेक्टर श्यामकुमार बस्नेतलाई बोलाएर त्यो निवेदन सुम्पिए । त्यसपछि विजय मालीलाई फोन गरेर बोलाइयो । त्यतिबेला कामनपा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर त्यहाँ आइसकेका थिए । प्रहरीले फोन गरेपछि सायद विजय मालीले वडाध्यक्षलाई फोन गरेर ‘प्रहरीले बोलायो, जाउँ कि भागौँ ?’ भनेर सोध्यो । आऊ भनेपछि त्यहाँ आयो ।

विजय आएपछि डीएसपीले उहाँहरूलाई राखेर छलफल गराउनु भन्ने आदेश दिए । छलफल सुरु भयो । विजयले गल्ती स्वीकार गरेन । उसले २०६४ सालदेखि मलाई टर्चर दिँदै आएको थियो । उसका लागि त्यस्तो टर्चर सामान्य रहेछ । इन्सपेक्टर बस्नेतले मैले दिएको जाहेरी पत्र हातमा हल्लाउँदै यही पत्रको आधारमा तपाईंलाई पनि पक्राउ गर्न मिल्छ । दुवै जनालाई थुनिदिन्छु भन्नेर सुरुमै धम्क्याए । उनको रबैयाबाट एकछिन निःशुल्क मनोरञ्जन लिएँ । अनि डीएसपी थापाको कोठामा प्रवेश गरेँ । त्यहाँ कोठामा डीएसपीसँगै कपिल, नवीन, डा मनोजलगायतका प्रतिनिधि पात्र थिए । हिँड्दाहिँड्दै डीएसपीको मुखबाट चौथो अंग होस् कि पाँचाँै अंग होस् के मतलब भनेको मेरो कानमा प¥यो ।

त्यसअघि चिया खुवाएर त्यहाँभित्र भएका डाक्टरहरूको टोलीलाई तपाईंहरूलाई अहिल्यै जेलमा हाल्न सक्छु भनेर धक्याइसकेका रहेछन् । मन चिन्तित बन्यो, कहाँ गल्ती गरेँ ? मै खराब छु कि के हो जस्तो लाग्यो । डीएसपीले त त्यसै भनेनन् होला, अन्यथा अर्थ नलगाइयोस् कि उनको तेस्रो आँखा खुलेकोजस्तो लाग्यो । मानिसले दुईवटा आँखाले नदेखेको कुरा तेस्रो आँखा अर्थात् दिव्य चक्षुले देख्छ अरे । तर महादेवको तीन नेत्र भनेकोचाहिँ फरक हो क्यारे । अघिल्लो दिन सुचेन मालीले विजय मालीलाई लिएर डीएसपी थापालाई बिदाको दिन पारेर घण्टौँ भेटवार्ता गर्नु र त्यसको भोलिपल्ट उनको मुखबाट त्यस्ता कुरा निस्कनुले मलाई झनै चिन्तित बनायो । क्षेत्रपाटीमा सडकमा त असुरक्षित भएको थिएँ । तर प्रहरी कार्यालयभित्र पनि सुरक्षित भएको महसुस गर्न सकिनँ, डीएसपीको हातमा जाहेरी थमाएपछि म त्यहाँ झण्डै पौने चार घण्टा बसेँ ।, तर त्यहाँभित्रबाट निस्कँदा पनि भयरहित भएर निर्भयपूर्वक निस्किनँ सकिनँ । प्रहरीले डेरावालाप्रति गरेको विभेदपूर्ण व्यवहार देखेँ । उनले पटक–पटक जाहेरी फिर्ता लिन दबाब दिए । तर मैले स्वीकार गरिनँ । त्यहाँबाट निस्किएपछि अपराह्न चार बजेर ४८ मिनेट जाँदा डीएसपी थापालाई फोन गरेर म जाहेरी फिर्ता लिन्नँ कारबाही अघि बढाउनुस् है भनेको थिएँ । उनले हस् भनेका थिए ।

त्यसको भोलिपल्ट अर्थात् २१÷२२ गते नेपाल पत्रकार महासंघको महाधिवेशन थियो । म आफू पनि प्रतिनिधि भएकाले नाम रजिस्ट्रेसन गर्नेदेखिका काम गर्न बाँकी थियो । अफिस पुगेपछि त्यसतर्फ लागेँ । बेलुका हिँडेर न्युरोड हुँदै निवासतर्फ फर्कँदै गर्दा अफिसको ल्यान्डलाइनबाट फोन आयो र उठाउँदा उजुरी गर्न सुझाव दिने र उजुरी दर्ता गराउन प्रहरी वृत्त सोह्रखुट्टे पु¥याउने पुष्प मानन्धरको आवाज आयो । कुरा गर्दै जाँदा उनले बिहान र अहिले वातावरण धेरै चेन्ज भयो, त्यो निवेदन फिर्ता लिनुस् भनेर दबाब दिए । मैले म ताइको फुरौला होइन, जता हल्लायो उत्तै पल्टिने, मैले मान राखेर के गरौं तपाईंलाई फोन गरेँ, कमसेकम मानको लाज जोगाउनुहोस्, यसरी अहिलेको अहिले कुरा बदल्न लाज लाग्दैन ? भनेपछि उनले फोन फालेर हिँडे । त्यसको केही समय बित्न नपाउँदै घरबेटी विजयबहादुर मालीको त्यही शैलीमा फोन आयो तर उनले पनि केही बेर चर्का कुुरा गरेर फोन काटे ।

विजय माली, विजयबहादुर माली र पुष्प मानन्धर फरक–फरक पृष्ठभूमिका व्यक्ति हुन् । छवि पनि फरक–फरक नै छ तर बाहिरको मानिस डेरावाललाई हेर्ने दृष्टिकोण समान पाएँ । त्यसको भोलिपल्टदेखि महासंघको महाधिवेशन थियो र त्यसमा सरिक हुने नै भएँ । शनिबार साँझ छ बजेर १९ मिनेट जाँदा डीएसपी थापाले मिसकल दिएका थिए । थाकेकाले फोन फर्काइनँ । तर त्यसको भोलिपल्ट उनको अफिसमै उनी रहेनछन् । उनको अफिसको रिसेप्सनले फर्किने टुङ्गो नभएको बताइयो । अनि २० गते थुनामा राखिएको विजय मालीको हालखबर के छ भनेर सोधपुछ गर्दा उनी त छुटिसकेको जानकारी पाएँ । त्यहाँबाट बाहिर निस्किन खोज्दा जाहेरी हाल्ने मलाई उल्टै थुनिदिने धम्की दिने इन्सपेक्टर श्यामकुमार बस्नेत भेटिए ।

पहिले त उनले नचिनेझैं गर्दै मालीको बारेमा सोधपुछ गर्दा ‘हामीलाई के थाहा त ?’ भनेर पन्छिँदै ‘तपाईंले नै जिम्मा लिएर छुटाएर लैजानु भएको होइन र ?’ भनेर उल्टोपाल्टो कुरा गर्दै खै के हो मलाई थाहा छैन भनेर टकटकिँदै उनले डीएसपी थापालाई फोन गरे । त्यहाँबाट बाहिर निस्किँदा साँझ छ बजेर २० मिनेट गएको थियो । मलाई असह्य छट्पटी भयो र डीएसपी थापालाई फोन गरेँ । म तपाईंको अफिसमा गएको थिएँ । मालीलाई त देखिनँ, छाडीदिनु भएछ । तपाईंको इन्सपेक्टर श्याम बस्नेतले त उल्टै मैले जिम्मा लिएर लगेको भने । के हो कुरो ? भनेर प्रश्न गर्दा भोलि बिहान भेटौं भनेर प्रस्ताव गरे । मैले किन भेट्नु तिमीलाई जसलाई कारबाही गर्न निवेदन दिएको थिएँ, ऊप्रति प्रहरीको करुणा जागेको देखेर अचम्मित भएको छु ।

जबकि त्यही डीएसपीले अभद्र व्यवहार भएको सूूचना हेडक्वाटरले दिएपछि मलाई फोन गर्दा होस् वा उनको कार्यालयमा जाहेरी दिन जाँदा झण्डै चार घण्टा बस्दा होस् डराउनु पर्दैन । हामी सुरक्षा दिन्छौं भनेर आश्वासन मात्रै पनि दिएनन् । सडकमा माली आतंकबाट सधैं आतंकित भइरहनुपरेको एउटा सञ्चारकर्मीलाई त्यति शब्द खर्चिन पनि उनले किन कन्जुस्याइँ गरे होलान् भन्ने कुरा अब कसैबाट छिपेको छैन । प्रहरीकोमा पुगेपछि नागरिकले सुरक्षाको प्रत्याभूति पाउनुपर्ने हो, त्यसमाथि पनि ‘प्रहरी जनताको साथी’, ‘मुस्कानसहितको सेवा’ जे–जे भनिए पनि व्यवहारचाहिँ साग निमोठेको भन्दा फरक देख्न पाइएन । तर पनि उनले आफूले गल्ती गरेको स्वीकारेका छैनन् । हेडक्वाटरले त्यस्तो घटना भएको जानकारी दिनु नै ठीक होइन भनेजस्तो उनको व्यवहारले देखाएको छ ।

विजय मालीलाई लिएर गएको सुचेन मालीसँगको उनको सहमति रहस्यमय छ र त्यही रहस्यमय सहमतिले मजस्तालाई थप असुरक्षित बनाएको छ । उनी टौदहको थापाकाजी हुन् । प्रहरीमा जागिर खाएको पहिलो महिनाको तलब लिएपछि मिठाई किनेर ख्वाएको सम्झनेहरू अहिले पनि जिब्रोले ओठ चाट्छन् । उनले आइतबार यस्तै दम्भपूर्ण अभिव्यक्ति दिएर तर्साउने प्रयास पनि गरे । अहिलेसम्म गरिएको सम्मान उनको होइन, बर्दीको हो । बर्दीको त्यसरी दुरूपयोग गर्नुहुँदैन । मैले उनको हातमा थमाएको विजय मालीले ममाथि गरेको अभद्र व्यवहारको जाहेरी कहाँ गयो ? र उनीमाथि किन कारबाही गरिएन ? नागरिकले तिरेको करबाट तलब, भत्ता खाएर एउटा सचेत नागरिकलाई त यतिसम्म गरिन्छ भने सर्वसाधारणमाथि यस्ताको व्यवहार कस्तो होला ? साँचोमा परेको मुसोको भन्दा फरक अवस्था नहोला । तर चौथो अंग भए पनि होस् उनले भनेजस्तो पाँचौँ अंग भए पनि होस् अथवा तेस्रो नेत्र नै सक्रिय भएका भए पनि होस् के हो भन्ने कुरा समयले नै बताउने छ ।


क्याटेगोरी : बिबिध, समाचार, फरक मत
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया