Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना महामारी, नेकपा विवाद र चीनको सक्रियता

कोरोना महामारी, नेकपा विवाद र चीनको सक्रियता


रामहरी चौलागाइँ
काठमाडौं, असार २४
टिप्पणी : हिजोका दिनमा आम नागरिक रोगले भन्दा पनि भोकले मर्नुपर्ने हो कि भन्ने त्रास र चिन्तामा थिए । सरकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाएसँगै दैनिक जनजीवन केही सहज भएको छ । जनजीवन केही सामान्य भएसँगै संक्रमणको जोखिम पनि त्यत्तिकै बढेर गएको छ । सरकारले संघीय राजधानी प्रवेशका लागि प्रवेशबिन्दुमा कडाइ गरेको र निगरानी बढाएको भनिए पनि निर्वाधरूपमा सवारीसाधन भित्रिरहेका छन् ।

यही कारण अहिले सुरक्षित मानिएको काठमाडौं उपत्यकामा संक्रमितको संख्या हवात्तै बढेको छ । सरकारसँग कोरोना महामारीबाट बच्न र जीवन रक्षाको लागि आम नागरिकले याचना गरिरहेका छन् । तर सरकार भने कुर्सीको राजनीतिमा अल्मिलिइरहेको अवस्था छ । १० असारबाट सुरु भएको सत्तारुढ दल नेकपा स्थायी समितिको बैठकमा शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्रको आन्तरिक संघर्ष र विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री ओली पक्षका नेताहरूले सरकारको बचाउ गर्दै कुनै पनि हालतमा राजीनामा दिन नहुने भन्दै पार्टी फुटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिँदै आएका छन् । प्रधानमन्त्री ओली पक्षले पार्टी र सरकार दुवैबाट राजीनामा दिनुहुँदैन भनेर उक्साइरहेको छन् भने अर्को पक्ष कुनै पनि हालतमा त्यो कुरा मान्ने अवस्थामा छैनन् ।

आफैँ आन्तरिक समस्यामा फसेको सरकारले कोरोना महामारी नियन्त्रणमा समेत प्रभावकारी भूमिका खेल्न सकिरहेको छैन । कुर्सी जोगाउनेतिर सरकार र कुर्सीबाट हटाउनेतिर नेकपाको अर्को पक्ष हात धोएर लाग्दै आएका छन् । सरकारको ध्यान रोग नियन्त्रणमा भन्दा पनि कुर्सी जोगाउनेतिर लागेकै कारण अहिले उपत्यकामा माहामारीको जोखिम उच्च किसिमले बढ्दै गएको छ । महामारी नियन्त्रण र रोगथामका लागि सरकारलाई दबाब दिनुपर्ने नेकपाका नेता तथा कार्यकर्ताहरू पार्टीको झण्डा बोकेर सडकबाटै सर्मथन र विरोधमा उत्रिएका छन् । यसबाट के कुरा भएको छ भने आगामी दिनमा नेकपाको आन्तरिक झगडाको मूल्य सर्वसाधरण नागरिकले चुकाउनु पर्नेछ ।

ओली नेतृत्वको वर्तमान सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि रिसाएको छिमेकी मुलुक भारतले आफ्नो विकल्प खोज्न थालेको आरोप स्वयं प्रधानमन्त्री ओलीले लगाएका छन् । असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद र ओहोदाको मर्यादा नै ख्याल नगरी यस्तो अभिव्यक्ति दिएपछि नेकपा स्थायी समितिको जारी बैठकले अर्कै मोड लिन पुगेको थियो ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली आफैँले बालुवाटारस्थित सरकारी निवासमा बोलाएको स्थायी समितिको बैठकमा पार्टीका शीर्ष नेताहरूलाई भारतको उक्साहटमा लागेर आफूविरुद्ध षड्यन्त्र गर्दै राजीनामा मागेको आरोप लगाएका थिए । त्यसपछि लगत्तै बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले होइन, आफूहरूले नै प्रधानमन्त्रीको राजीनामा मागेको भन्दै प्रतिवाद गरेपछि एकाएक रिसाएका प्रधानमन्त्री ओलीले नेकपाबाट अलग हुनेसम्मको धम्की दिन भ्याएका छन् । नेकपामा बढेको विवाद सय डिग्रीमा पुगेर अहिले मत्थर हुँदै तल झर्ने क्रममा रहेको छ ।

यसो हुनुमा नेपालको अर्को छिमेकी मुलुक चीनको भूमिकाले काम गरेको प्रस्ट देखिएको छ । दक्षिणी छिमेकी मुलुक भारतले नेकपा फुटाउन र प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारलाई अपदस्थ गर्नको लागि हात धोएर लागिरहेको समयमा नेकपालाई जुटाउने र सरकारलाई पनि जोगाइराख्ने गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता अहिले निकै बढेको छ । उनको सक्रियताको विषयलाई लिएर नेपाली राजनीतिक वृृत्तमा निकै नै टिकाटिप्पणीहरू भइरहेका पनि छन् ।

राजदूत यान्छीले पूर्वप्रधानमन्त्री माधव नेपालदेखि नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरिसकेकी छन् । साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरिसकेकी छन् । उनले नेकपाका नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएसँगै अहिले नेकपा फुटबाट जोगिन लागेको हो कि भन्ने भान पर्न थालेको छ । यसअघि पनि नेकपामा उत्कर्षमा पुगेको विवादलाई उनकै सक्रियताले केही मत्थर पारिदिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x