Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतातोपानी र रसुवागढी नाका निर्बाध सञ्चालन गर्न माग

तातोपानी र रसुवागढी नाका निर्बाध सञ्चालन गर्न माग


काठमाडौं, असार २४
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले तातोपानी र रसुवागढी नाका आयात तथा निर्यातका लागि निर्बाध रुपले सञ्चालन गरिनुपर्ने बताएका छन् । चीनका लागि नवनियुक्त नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेसँग मंगलबार भएको भेटमा उनले दुवै नाका निर्बाध रुपमा सञ्चालन गर्न प्रक्रियात्मक जटिलताहरुलाई सरलीकरण तथा सहजीकरण गर्नुपर्ने बताए ।

चीनले आठ हजारभन्दा बढी नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शून्य भन्सार महसुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घटाउन पनि पहल गरिनुपर्ने उनले बताए । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकोले ती वस्तुहरु चिनियाँ बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन अनुरोध गरे । यसका लागि क्वारेन्टाइनको प्रक्रियालाई सहजीकरण गर्न प्रयास गरिनुपर्ने बताए ।

नेपालको पर्यटन विस्तारमा चिनियाँ पर्यटकको ठूलो योगदान रहेको हुँदा कोभिडपश्चात् चीनका पर्यटकहरुलाई नेपाल आगमनको लागि प्रवर्द्धन गरिनुपर्ने तथा हवाइ भाडा प्रतिस्पर्धी बनाउनुपर्ने उनको भनाइ थियो । सो अवसरमा नेपाल–चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवद्र्धन गर्न आग्रह गरे ।

त्यसैगरी नवनियुक्त राजदूत महेन्द्र बहादुर पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भीरतापूर्वक मनन गरी आफ्नो तर्फबाट सहजीकरण गर्न सक्दो प्रयास गर्ने बताए । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष, राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल–चीन चेम्बर अफ कमर्सका अध्यक्ष तुलाधरलगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x