Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’

बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’


खेमराज गौतम
बागलुङ, असार २५
बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ । सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो । आर्थिक वर्ष २०७६/०७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी आव २०७७/०७८ मा निर्माण कार्य थाल्न बजेटसमेत विनियोजन भएको छ ।

जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्सनले आठ लाख रुपैयाँको लागतमा सम्भाव्यता अध्ययनसहित डीपीआर तयार गरेको थियो । २४ करोडभन्दा बढी लागतमा निर्माण गर्न लागिएको जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारद्वारा विशेष अनुदानमार्फत बागलुङ नगरपालिकालाई आगामी आव २०७७/०७८ मा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले जानकारी दिए ।

जुलोजिकल पार्क हालसम्म प्रक्रियामा भए पनि आव २०७७/०७८ मा निर्माण आरम्भ गर्नका लागि बजेटसमेत विनियोजन भएर आएको र थप बजेटका लागि केन्द्र सरकारसँग माग गरिएको नगरपालिका प्रमुख जनकराज पौडेलले बताए । ‘यो पार्क ठूलो परियोजना हो, विस्तारै निर्माण हुँदै जान्छ, बजेट आउँदै जान्छ’, पौडेलले भने, ‘सुरुमा पूर्वाधार निर्माणमा जोड दिन्छौँ, विस्तारै पार्क बन्दै जान्छ, पर्यटकहरु आउँदै जानेछन् ।’

नगरप्रमुख पौडेलका अनुसार धेरै बजेट लाग्ने परियोजना भएकाले निर्माण सम्पन्न हुनका लागि लामो समय लाग्ने भए पनि यही साउनबाटै निर्माणकार्य आरम्भ गरिनेछ । पशुपक्षी, जडीबुटीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जुलोजिकल पार्कको अवधारणा ल्याइएको नगरप्रमुख पौडेलको भनाइ छ । हालसम्म कानूनी प्रक्रिया सबै पूरा भइसकेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका विज्ञ नारायण रुपाखेतीको समूहले बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने पाँच सामुदायिक वनलाई जुलोजिकल पार्क बनाउन सकिने निष्कर्ष निकालेपछि यसको पहल थालिएको थियो । बीस वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको सामुदायिक वनमा प्राकृतिक, पर्यटन, वन्यजन्तुलगायतका पाँच क्षेत्रलाई ध्यान दिएर जुलोजिकल पार्क निर्माण गरिने निर्माणको जिम्मा लिएको आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्सनका अध्यक्ष शेरसिंह ठकुन्नाले जानकारी दिए ।

उनले पार्क वरपर तीन किलोमिटर सडक, करिब दुई किलोमिटर पदमार्ग, दृश्यावलोकन स्तम्भ, रेष्ट्रो सेन्टर, जुलोजिकल पार्कभित्र र बाहिर बाटो निर्माण, ५० हेक्टर जमिनमा जङ्गल व्यवस्थापन केन्द्र र वन्यजन्तु उद्धार तथा जङ्गलको फायर निर्माणलगायतका संरचना निर्माण गर्ने गरी डीपीआर तयार गरिएको बताए । ‘जुलोजिकल पार्क नितान्त प्राकृतिक सम्पदालाई संरक्षण गर्दै निर्माण हुनेछ’, ठकुन्नाले भने, ‘त्यस वन क्षेत्रमा बाँच्न सक्ने तर त्यस ठाउँमा हाललाई नभएको जीवजन्तुलाई समेत त्यस क्षेत्रमा तारबार गरेर राख्न सकिन्छ ।’ उनले पर्यटकलाई सडकमार्ग र पदमार्गमार्फत जङ्गल सफारी गराउँदै जीवजन्तुको अवलोकन गर्न सकिने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x