Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबिहारमा लकडाउनले मलको अवैध आयात बन्द

बिहारमा लकडाउनले मलको अवैध आयात बन्द


सन्तोष पौडेल
बीरगञ्ज, साउन ६
भारतको बिहारमा पुनः लकडाउन भएपछि नेपाली किसानहरूले अवैध तरिकाले रासायनिक मल ल्याउने कार्यमा समस्या परेको छ । नेपालमा लकडाउन खुकुलो भएपछि पर्साका किसानहरूले युरिया मल भारतका विभिन्न स्थानबाट ल्याउँदै आएका थिए । ५० किलोको युरिया मल भारतमा भारतीय रुपैयाँ तीन सय ५० रुपैयाँ र नेपालमा सात सय ५० रुपैयाँ पर्दछ । भारतको मूल्यअनुसार नेपालमाा भन्सार र भाडाबाहेक पाँच सय ६० रुपैयाँमा पाउनुपर्ने हो । तर यो मूल्यमा पनि युरिया मलको आधिकारिक विक्रेता कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले किसानहरूलाई उपलब्ध गराउँदैनन् । प्रत्येक वर्ष धान रोपाइँको बेलामा आलोपालो युरिया र डीएपी मलको अभाव सृजना गराइन्छ । अभावको बेला भारतबाट अवैध तरिकाले युरिया, पोटास, डीएपी मल भित्रिने गरेको छ ।

सहकारीमार्फत् दुवै कम्पनीले स्थानीय तहको सिफारिसमा साप्ताहिकरूपमा मल वितरण गर्दछन् । तर मल आवश्यक नभएको बेलामा गोदाममा सञ्चय हुने र आवश्यक भएको बेलामा गोदाम रित्तिने र व्यापारीहरूले बढी मूल्यमा बेच्ने क्रम धेरै वर्षदेखि चलिआएको र यस वर्ष पनि यसले निरन्तरता पाएको छ । सरकारी संयन्त्रले नै मल उपलब्ध नगराएपछि किसानहरुले अवैध मार्गबाट मल आयात गरेर आफ्नो आवश्यकता पूर्ति गर्दै आएका थिए । तर भारतको बिहार राज्यमा लकडाउन कडा भएपछि किसानहरूले मल ल्याउन पाएका छैनन् ।

असार ३१ गते साँझदेखि साउन ३ गते दिउँसोसम्म किसानहरू भारतीय सीमावर्ती क्षेत्रमा मलको लागि कुरेर बसेका थिए । पटेर्वासुगौली, जीराभवानी, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका किसानहरू बिहानैदेखि सयौँको संख्यामा भारतको इनर्वासँग पर्ने नेपालको दसौतामा भेला भएका थिए । तर उनीहरूमध्ये थोरैले मात्र मल पाए । भारतबाट भित्रिने मल प्रतिबोरा ४५ किलोको हुन्छ ।

लकडाउन कडा भएपछि त्यहाँ पनि मलको भाउ बढेको छ । भारु तीन सय ५० मा पाइने भारतीय मल अहिले भारु एक हजारसम्ममा बिक्री भएको दसौताका किसान गोविन्द चौधरीले बताए । जगरनाथपुर गापा–२ सीमावर्ती गाउँ दसौताका चौधरीले इनर्वामा मल नपाएका किसानहरू सीमावर्ती पिपरडारी, विसुनपूर्वा, आसवारीसम्म पुगेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x