Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकालिञ्चोकमा आंशिक चहलपहल

कालिञ्चोकमा आंशिक चहलपहल


सुबास बस्नेत
दोलखा ।
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा सवारी खुलेसँगै आंशिक चहलपहल बढेको छ । कोरोना भाइरसको कारण विगत सात महिनादेखि ठप्प बनेको कालिञ्चोक क्षेत्रमा असोज लागेपछि केहि चहलपहल बढेको हो । सदरमुकाम चरीकोटबाट नजिकको पर्यटकीय स्थल मानिने कालिन्चोक क्षेत्र कोरोना भाइरस रोकथाम गर्न सरकारले गरेको लकडाउनको कारण विगत छ महिनादेखि सुनसान बनेको थियो ।

सरकारले असोज १ गतेदेखि यातायात क्षेत्र खुला गरेपछि असोज पहिलो सातादेखि नै आंशिक पर्यटक आउन थालेको कालिञ्चोक कुरीका होटल व्यवसायी नवराज तामाङले जानकारी दिए । तामाङ अनुसार सवारी खुलेपछि दैनिक ३० देखि ५० जनाको हाराहारीमा बाहिरी जिल्लाका पर्यटक आउने गरेका छन् ।

सवारी सुचारु भएपछि छिमेकी जिल्ला काभ्रेको धुलिखेल, रामेछाप, सिन्धुपाल्चोकलगायतका जिल्लाका केही नागरिक कालिञ्चोक घुम्न आउने गरेको अनुराग होटलका सञ्चालक शंकर तामाङले जानकारी दिए । ठूलो लगानी गरेर यहाँ खोलेका होटल तथा रेस्टुरेन्ट कोरोनाका कारण खालि हुँदा आर्थिक संकट देखिन थालेको होटल व्यवसायी किशोर तामाङले बताए ।

चैतदेखि आम्दानीको मुख्य स्रोत बन्द हुँदा बैंक तथा सहकारीको किस्ता, हर्जना तिर्न समस्या भएको छ । कालिञ्चोक ठूलो लगानी गरेर सक्रियरूपमा सञ्चालनमा ल्याएका ५० वटा होटल रहेका छन् । चाडपर्व नजिकिएकाले पनि असोजदेखि चहलपहल बढेको हो ।

सरकारले भदौ २५ गतेदेखि स्वस्थ्य मापदण्ड अपनाएर होटल सुचारु गर्न पाइने निर्णय गरे पनि दोलखामा कोरोना संक्रमणका बिरामी देखिएको हुँदा होटल सञ्चालनमा समस्या रहेको व्यवसायीहरूको भनाइ छ ।

असहज वातावरणमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आवश्यक सतर्कताका साथ सबै होटलले सुविधा दिरहेको व्यवसायी नवराज तामाङले जानकारी दिए । यता सदरमुकाम चरीकोटमा पनि दशैँ नजिकिएसँगै चहलपहल बढेको छ । दशैको किनमेल गर्ने मानिसको आवतजावतले बजारमा चहलपहल बढेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया