Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत


काठमाडौं ।
निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नुअगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगले जनाएको छ ।

सरकारले २०७८ साल वैशाख १७ र २७ गते सोमबार दुई चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा गरिसकेको छ । आयोगबाट उक्त निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया सुरु भइसकेको छ । स्वीकृत कार्यक्रमअनुसार विहीबारदेखि जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुनेछ । उक्त कार्यका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहने आयोगले जनाएको छ ।

समितिले उक्त कार्य आगामी माघ १७ गतेसम्म सम्पन्न गर्नेगरी कार्यतालिका समेत स्वीकृत गरिएको छ । उक्त सिफारिस समितिमार्फत मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएकाले त्यसमा सहयोग पु-याउन सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालासँग आयोगले अपिल समेत गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया