Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्थानीयको सहमतिपछि पोल विस्तारको काम सुरु

स्थानीयको सहमतिपछि पोल विस्तारको काम सुरु


सोलुखुम्बु ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ र ७ का वडा अध्यक्षको समन्वयपछि साल्मेका जग्गाधनीले विद्युत् पोल विस्तार गर्न दिने भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन तिङ्लादेखि बेलीडाँडा हुँदै अप्पर सोलु हाइड्रोपावर कम्पनीको ११ केभि पोलमा जडान गरी सल्लेरी च्याल्सा विद्युत् कम्पनीको पावर हाउसमा ल्याई लोडसेडिङ अन्त्य गर्ने योजना सफल पार्न स्थानीय सहमत भएका हुन् ।

स्थानीय जग्गाधनीसँग आवश्यक समन्वय नगरी नगरपालिकाका मेयरले धम्क्याउने, तीन दिनको म्याद दिँदै च्यास्ला विद्युत्ले पत्र काट्नेलगायतको कार्य गरेपछि असन्तुष्ट भएका स्थानीयले जग्गा प्रयोग गर्न नदिने अडान राखेका थिए । जग्गाधनी रविन श्रेष्ठले वडा अध्यक्षको आग्रहपछि जग्गा दिन सहमत भएको बताए । श्रेष्ठले सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सोलु दुधकुण्ड नगरपालिका मेयरले समेत स्थानीय जग्गाधनीलाई समन्वयकारी भूमीका निर्वाह गरी समस्या सल्टाउनुपर्ने भए पनि उल्टै धम्क्याउने काम गरेको गुनासो गरे ।

जनप्रतिनिधि र कम्पनीकै कार्यशैलीका कारण आफूहरू न्यायको लागि जिल्ला अदालत सोलुखुम्बुमा समेत रिट निवेदन दिएको बताए । अदालतमा रिट निवेदन दिए पनि वडा नम्बर ६ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ र ७ का वडा अध्यक्ष लालमान श्रेष्ठको पहलमा जग्गाधनी र कम्पनीबीच सहमतिपत्रमा हस्ताक्षर भएको नागरिक समाजका अगुवा राजकुमार प्रधानले जानकारी दिए । पत्रकार सम्मेलन गरी रिट निवेदन फिर्ता लिने र योजना सञ्चाजन गर्न दिने सहमति भएको जानकारी गराइएको थियो ।

तिङ्ला सबस्टेसनदेखि सल्लेरी च्याल्सा विद्युत् कम्पनीसम्म विद्युत् लाइन विस्तारका लागि सिग्मा कोण प्रालिले गत वर्ष नै जिम्मा पाएको थियो । तर निर्माण सम्पन्न गर्नुपर्ने कार्यअवधि २ महिना बाँकी हुँदा समेत काम नभएको भन्दै वडा नम्बर ६ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले तत्काल काम अगाडि बढाउन निर्देशन दिए ।

तोकिएको समयमा काम सम्पन्न गरी उज्यालो गाउँ निर्माणमा सहभागी हुने भए कुनै पनि समस्या आएमा आफूहरू समाधान गर्न तयार रहेको भन्दै वडा अध्यक्ष श्रेष्ठले यदि कही कसैको प्रभाव र दबाबमा परी काम नगर्ने आग्रह समेत गरे । उनले समय खेर फाल्ने नियत भए फर्केर जान समेत चेतावनी दिए । वडा नम्बर ७ का वडा अध्यक्ष लालमान श्रेष्ठले स्थानीयस्तरमा देखिएको समस्याका बारेमा आफूहरूसँग समन्वय हुनुपर्नेमा त्यसो हुन नभएर विभिन्न बहानाबाजीमा काम स्थगित गर्नु गलत भएको धारण व्यक्त गरे ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया