Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधम्याद सकिएको १८ महिना बितिसक्दा पुल निर्माणको काम मात्र १५ प्रतिशत

म्याद सकिएको १८ महिना बितिसक्दा पुल निर्माणको काम मात्र १५ प्रतिशत


सोलुखुम्बु ।
खोटाङ र उदयपुर जिल्ला जोड्ने धाप्लाङघाट पुल निर्माण निकै सुस्त गतिमा भइरहेको छ । विसं २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर २ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने जोड्ने सुनकोशी नदिमा निर्माण भइरहेको पुल निर्माणको काम निकै ढिलो गतिमा भइरहेको हो ।

निर्माणको जिम्मा पाएको कम्पनी रसुवा एसएनएस पप्पु जेभीले सम्पन्न गर्नुपर्ने समय सकिएको एक वर्षभन्दा बढी भए पनि अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र काम सम्पन्न गरेको हो । निर्माण सक्नुपर्ने सम्झौताको म्याद नाघेको १८ महिना बितिसक्दा समेत निर्माणको काम जम्मा १५ प्रतिशत मात्र भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का साइड इन्जिनियर रबि शाहले बताए ।

हाल पुलको राइटब्यांक (उदयपुरतर्फ)को वेल फाउण्डेसनको सिंकिङ अपरेसनको काम भइरहेको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ ले जनाएको छ । सो पुल २०७४ साल भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल र धाप्लाङघाटको पुल ५० करोड १४ लाख ६० हजारको लागतमा पूरा गर्नेगरी ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो । एसएनएस पप्पु कन्ट्रक्सन नेपाल सरकारको कालोसूचीमा परेकोे निर्माण कम्पनी हो ।

एकै दिन शिलान्यास गरिएको रानीटार र धाप्लाङघाट पुलको भौतिक प्रगति भने निराशाजनक रहेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौँअघि कच्ची सडक बनेको भए पनि हालसम्म मोटरेबल पुल नबन्दा प्रयोगविहीन भएको छ । यो पुल निर्माण भएपछि खोटाङबाट तराई पुग्नका लागि सबैभन्दा छोटो पर्नेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया