Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजनकपुरका अधिकांश मासु पसल मापदण्डविपरीत

जनकपुरका अधिकांश मासु पसल मापदण्डविपरीत


जनकपुरधाम ।
धनुषा जिल्लाको अधिकांश स्थानमा रहेका मासु पसल मापदण्डविपरीत सञ्चालन गरिरहेको पाइएको छ । पशु बधशाला र मासु जाँच नियमावलीअनुसार जनकपुरधाममा एउटा पनि पसल सञ्चालनमा रहेका छैनन् । जनकपुरधाम उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले गरेको बजार अनुगमनका क्रममा अधिकांश मासु पसल नियमविपरीत सञ्चालनमा रहेको पाइएको हो ।

केन्द्रले जनकपुरधाम, महेन्द्रनगर तथा ढल्केवरको माछा, मासु, डेरी तथा भेट फर्मा पसलको अनुगमन गरेर अखाद्य पदार्थ र सडेको मासु नियन्त्रणमा लिएर नष्ट गरेको छ । अहिले भारतको विभिन्न स्थानमा वर्डफ्लुको खतरा बढेको बेलामा खुला सिमानाका कारण जनकपुरधाममा समेत भारतीय कुखुरा तथा खसी आइरहेको बेलामा अव्यवस्थित मासु पसल सञ्चालन भएकाले थप खतरा बढेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनकपुरधामका पशु विकास अधिकृत डा. जिवेन्द्र झाले जानकारी दिए ।

अधिकांश पसलका सञ्चालकहरूले नियमितरूपमा मापदण्डअनुसार सफाइ नगर्दा उपभोक्ताहरू गुणस्तरहीन मासु खान बाध्य भएका छन् । जनकपुरधामका मासु बिक्रेताहरूले उपमहानगरपालिकालगायतका पक्षले नियमित अनुगमन नगर्दा जताततै मासु बेच्न बाध्य भएका बताउँछन् । विगत यस सम्बन्धमा तालिम प्रदान भए पनि पशु वधशालाको अभावमा तालिम पाएर पनि अव्यवस्थित तरिकाले मासु बेच्न आफूहरू बाध्य भएको मासु व्यवसायी मो. साहेबले बताए ।

जनकपुरधाममा अहिले खसीको मासु प्रतिकिलो एक हजारको दरले बिक्री भइरहेको छ । उपभोक्ता पैसा खर्चेर पनि गुणस्तरीय मासु खानबाट वञ्चित भएका छन् । अधिकांश पसलहरूलाई सचेत गरेर छाडिएको छ । अर्को पटक सुधार नभएको पाइएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउने निर्देशनसहितको चेतावनी दिएको पशु विकास अधिकृत डा. जिवेन्द्र झाले जानकारी दिए ।

कतिपय सञ्चालकले मासुलाई भण्डारण गर्नका लागि डिप फ्रिज नराखेका पाइएकाले डिप फ्रिज राख्नका लागि निर्देशन समेत दिएको छ । जनकपुरधाममा नियमितरूपमा अनुगमन नहुँदा माछा, मासु, दुध, पलफूललगायतका खानेकुराहरू खाद्य ऐनविपरीत बिक्री भइरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया