Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचाररात्रि बजार सञ्चालनको तयारी गर्दै वीरगञ्ज महानगर

रात्रि बजार सञ्चालनको तयारी गर्दै वीरगञ्ज महानगर


वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले यसपालीको नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ ।

यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म वीरगञ्ज महानगरपालिका कार्यालयले आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज वीरगञ्ज, वीरगञ्ज साइकक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो । रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी गराएका छन् ।

बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले सञ्चालन हुन लागेको बताए । भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ । आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी स्टल रहने उनले जानकारी दिए ।

शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै त्यहाँ विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध सामग्री राखिने छन् । वीरगञ्ज महानगरपालिकाले अघिल्लो वर्ष पनि नयाँ वर्षका अवसरमा रात्रि बजार सञ्चालन गरेको थियो ।


क्याटेगोरी : पालिका समाचार, महानगर


तपाईको प्रतिक्रिया