Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाशहरे खानेपानी आयोजना लथालिङ्ग

शहरे खानेपानी आयोजना लथालिङ्ग


दोलखा । जिल्लाको तामाकोशी गाउँपालिका–५ शहरेका स्थानीयलाई खानेपानीको चरम अभाव रहेकोे छ । बृहत शहरे खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण स्थानीयले खानेपानीको चरम समस्या झेल्नुपरेको हो ।

१० वर्षदेखि पिउँदै आएको हिमाल हाइड्रोपावरको भोटेछाप सुरुङ्गको पानी बन्द गर्न समितिले हाइड्रोपावरसँग सम्झौता गरेपछि स्थानीयलाई खानेपानीको अभाव सिर्जना भएको छ । समितिले बोरिङमार्फत् ल्याइएको प्र्रदूषित धमिलो पानी उपभोग गर्ने मिल्ने भन्दै हाइड्रोपावरले उपलब्ध गराउँदै आएको पानी बन्द गर्न सम्झौता गरेको हो । सम्झौतापश्चात् हाइड्रोपावरले शहरेका चारवटा बस्तीलाई उपलब्ध गराउँदै आएको खानेपानी बन्द गरिदिएको छ ।

यहाँका स्थानीयले भूकम्पपछि हिमाल हाइड्रोपावरको सुरुङको पानीको नियमित उपभोग गर्दै आएको स्थानीय भुवन केसीले बताए । हाल सो खानेपानीको लाइन बन्द भएपछि यहाँका ७५ घरधुरीले खानेपानी अभाव खेप्नुपरेको छ । २०७२ सालको भूकम्पपछि स्थानीयले सुरुङ निर्माणका कारण स्थानीय पानीका मुहान सुकेको भन्दै सो हाइड्रसँग खानेपानी उपलब्ध गराउन दबाब दिएर आन्दोलन नै गरेका थिए । स्थानीयको आन्दोलनपछि हिमाल हाइड्रोपावरले २०७२ जेठदेखि होटेछाप सुरुङ्गबाट २५ इन्चको पाइपमा स्थानीयको लागि पानी दिँदै आएको थियो । तर उक्त आयोजनाले स्थानीयलाई पानीको वैकल्पिक स्रोत खोजेर प्रयोग गर्न भन्दै ५० लाख रकम दिएर पुरानो सुरुङ्गको पानी गत माघ १५ गतेदेखि बन्द गरेको स्थानीय चन्द्रबहादुर बस्नेतले बताए ।

हाइड्रोपावरले स्थानीयलाई जानकारी नै नदिई खानेपानी उपभोक्ता समितिका केही पदाधिकारीको मिलेमतोमा पानी बन्द गरिदिएको उनको गुनासो छ । साथै, उनले आफूलगायत केही समितिका सदस्यहरूको किर्ते हस्ताक्षर गरेर सो सम्झौता गरिएको आरोप लगाए । समितिले धमिलो, दूषित पानी वैकल्पिक स्रोतको रूपमा प्रयोग गर्न मिल्ने भनी हाइड्रोपावरसँग सहमति जनाएर स्थानीयको स्वास्थ्यमाथि नै खेलवाड गर्न खोजेको उनको आरोप छ । हाइड्रोपावरले पानीको लाइन काटेपछि शहरेको खिम्ती डाँडा, फुयाल थुम्का, च्यानडाँडा, ज्यामिरे, पौवा गाउँका करिब ७५ घरधुरीलाई खानेपानीको अभाव भएको हो । पाँच दिनदेखि सुरुङ्गको पानी बन्द भएपछि गाउँको कुवाबाट पानी ल्याएर समस्या टार्दै आएका स्थानीयलाई कुवाको पानी पनि सुक्दै गएपछि चिन्ता थपिएको छ । तत्काल पिउन योग्य पानी समिति र हाइड्रोपावरले उपलब्ध नगराए आफूहरू आन्दोलन गर्न बाध्य हुने स्थानीयको भनाइ छ ।

यता बृहत शहरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष उद्धव खातीले वैकल्पिक मात्रामा खानेपानीको व्यवस्था गरेपछि मात्रै हाइड्रोसँग पानी बन्द सम्झौता गरिएको बताए । हाइड्रोपावरको ५० लाख अनुदानअन्तर्गत २८ सय मिटर ४० को पाइप विस्तार गरेको उनको भनाइ छ । यस्तै, ८५ हजार लिटरको ट्यांकी र ४२ वटा धारा निर्माण गरेको उनले बताए । हाइड्रोपावरले सात वर्षअघि नै स्थानीयसँग भएको भएको सम्झौताअनुसार भोटेछाप सुरुङ्गको पानी बन्द गरेको उनको भनाइ छ । त्यस्तै, उनले डिपवोरिङ्गमार्फत निकालिएको पानी धमिलो भएको स्वीकार गरे । तत्काल पानी पिउनयोग्य नदेखिए पनि फिल्टर गरेर पिउन सकिने उनको दाबी छ ।


क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया