Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारस्थानीयले जग्गा दान दिएपछि वडा कार्यालय भवन निर्माण

स्थानीयले जग्गा दान दिएपछि वडा कार्यालय भवन निर्माण


दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–४ लामीडाँडाका तीन जना स्थानीयले वडा कार्यलय राख्न जग्गा दान दिएपछि वडा कार्यालय भवन निर्माण गरिएको छ । करिब छ वर्षदेखि एउटा कोठामा अस्थायी वडा कार्यालय राखेर सेवा दिँदै आएको वडाले अहिले आफ्नै नयाँ भवन निर्माण गरेको हो ।

लामीडाँडाका स्थानीय जग्गादाताहरू होमप्रसाद घिमिरे, भवानीप्रसाद घिमिरेले र ज्ञानबहादुर गजमेरले दान गरेको दुई रोपनी चार आना जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष दिपक खुलालले बताए । गाउँपालिकाको ४० लाख अनुदानमा पक्की एक तले भवन निर्माण गरिएको छ । नवनिर्मित वडा कार्यालय भवनको सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष शिवाकोटीले पहिलाका जनप्रतिनिधिले लाथलिङ्ग पारेर छोडेका अधुरा कामहरूलाई आफूले पूरा गर्दै लगेको बताए । अध्यक्ष शिवाकोटीले पालिकाले आठवटा वडाको भवन निर्माण सम्पन्न गरिसकेको बताए । यस्तै, उनले पालिकाको स्थायी केन्द्र तोक्ने काम पनि चाँडै टुंगोमा पु-याउने बताए । पालिकाको केन्द्र टुंगो लगाउन ढिलाइ भए पनि स्थानीय विकास नरोकिएको उनको भनाइ थियो । त्यस्तै, उनले गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट बनाउन लागेको जानकारी दिए ।

कार्यक्रममा उनले उपभोक्तामार्फत निर्माण हुने केही योजनाको गुणस्तरमा प्रश्न उठेको बताए । योजनाका गुणस्तरका बारेमा पालिकामा उजुरी पर्न थालेकाले वडाका जनप्रतिनिधिले विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । त्यस्तै, उपाध्यक्ष कुलबहादुर बुढाथोकीले आगामी बजेट केही घटेर आउने बताए । यस्तै, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर–८ वडाध्यक्ष सूर्यबहादुर आचार्यले पालिकाको केन्द्रको विषयलाई पहिलेका जनप्रतिनिधिले ठाउँ–ठाउँमा केन्द्र राख्ने भन्दै धेरै गिजालेकोले केन्द्र तोक्न समस्या भएको बताए । उनले पालिका अध्यक्ष शिवाकोटीले ल्याएको केन्द्रसम्बन्धी प्रस्तावलाई सर्वसहमतिले पारित गर्ने गरी छलफल भइरहेको बताए ।

गाउँपालिकाले अहिलेसम्म स्थायी केन्द्र तोक्न नसक्दा अस्थायी मुकाम सुनखानीबाटै सेवा दिइरहेको छ । अस्थायी केन्द्र अपायक परेको भन्दै उत्तरी भेगका जनताले सबैले पायक पर्ने ठाउँमा केन्द्र तोक्न माग राख्दै आइरहेका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया