Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशयोजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउने : मुख्यमन्त्री पाण्डे

योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउने : मुख्यमन्त्री पाण्डे


गोरखा । गोरखा सदरमुकाममा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए ।

उनले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका लागि राम्रो सम्भावना बोकेको छ”, मुख्यमन्त्री पाण्डेले भने, “बूढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्म जलक्षेत्र गण्डकी प्रदेशमा पर्छ, यहाँ विद्युत् उत्पादनको प्रशस्त सम्भावना छन् ।”

नवलपुरको धौबाजीमा रहेको फलाम खानीमा लगानी गर्नुपर्छ भन्ने सोचमा प्रदेश सरकार रहेकोसमेत उनले जानकारी दिए । ऊर्जाका क्षेत्रमा राज्यले लगानी गर्नसक्ने अवस्थामा राज्य एक्लै नसक्ने अवस्थामा निजी क्षेत्रसँग सहकार्य गरेरै भए पनि लामो समयसम्म आम्दानी गर्नसक्ने गरी काम गर्नुपर्ने पाण्डेले बताए ।

गण्डकी प्रदेश सरकारको प्रमुख आयस्रोत पर्यटन भएको भन्दै पाण्डेले बढीभन्दा बढी पयर्टक भित्र्याएर प्रदेश सरकारको आयस्रोत वृद्धि गर्दै आत्मनिर्भर प्रदेश बनाउने योजना रहेको बताए । उनले गाँजा खेती तथा घरेलु मदिरलाई ब्रान्डिङ गरेर पनि प्रशस्त आम्दानी गर्नसक्ने अवस्था भएको आवश्यक अध्ययन गरी त्यसलाई पनि अघि बढाउने बताए ।

“गाँजा भनेको लागुपदार्थ मात्र होइन । यो औषधिजन्य पदार्थ पनि हो भन्ने कुरा अध्ययनले देखाएको छ”, मुख्यमन्त्री पाण्डेले भने, “यदी गाँजा औषधिजन्य पदार्थ हो भने यसलाई नियमनकारी निकाय गठन गरेर लागुऔषधमा प्रयोग हुन नसक्ने अवस्था सिर्जना गरेर कानुनी व्यवस्था गरी यसको खेती वैध गराउनुपर्छ ।”

घरेलु मदिराको हकमा प्रदेश सरकार स्थानीय सरकारसँगै सहयोग र सहकार्य गरेर काम गर्ने पक्षमा रहेको उनले बताए । फरक प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको चाहनाअनुसार आएको व्यवस्था भएकाले कसैले नचाहँदैमा गणतन्त्र नउल्टिने बताए ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया