Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाआदर्श सौल: को ५४औँ वार्षिकोत्सवमा प्रधानध्यापक महर्जनले सम्झिए विगत

आदर्श सौल: को ५४औँ वार्षिकोत्सवमा प्रधानध्यापक महर्जनले सम्झिए विगत


ललितपुर । आदर्श सौल: उच्च माध्यमिक विद्यालय, बुँगमतीले मनाएको ५४औँ वार्षिकोत्सवमा विद्यालयका प्राधानध्यापक ज्ञानभक्त महर्जनले आफू भर्ना भएको समयकोे सम्झना गरेका छन् । शुक्रबार विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रधानाध्यापक महर्जनले आफूलाई आफ्ना दाइले २०४५ सालमा सानो भवन रहेको आदर्श विद्यालयमा भर्ना गरिदिएको बताए । उनले विद्यालयमा सानो भवन भए पनि गुणस्तरीय शिक्षा पाएको कारण अहिले प्रधानाध्यापक बन्न सफल भएको बताए ।

वार्षिकोत्सवमा उनले ललितपुर महानगरको दक्षिण क्षेत्रमा अवस्थित आदर्श सौलले हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिई सक्षम व्यक्ति निर्माण गरेको बताए । महर्जनले सानो भवन हुँदै अहिले प्राथमिक तह बुँगमती वडा नम्बर २२ र माध्यामिक तह (१२ कक्षा सहित) छ्यासीकोट वडा नम्बर २४ मा सञ्चालन भइरहेको बताए । विद्यालयमा दुई हजार एक सय ३४ जना विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी गराए । ‘५० भन्दा बढी जिल्लाबाट अध्ययन गर्नका लागि आफ्नो विद्यालयमा सयौँ विद्यार्थी वार्षिकरूपमा आउने गरेका छन्,’ उनले भने,‘ पूर्वाधार र जनशक्ति अभावका कारण विद्यालय सञ्चालनमा समस्या भइरहेको हुँदा समस्या समाधानका लागि ललितपुर महानगर र सरोकारवालाको ध्यानाकर्षण आवश्यक छ ।’

कार्यक्रममा ललितपुर महागरपालिका मेयर चिरीबाबु महर्जनले अर्को वर्ष हुने वार्षिकोत्सवमा आवश्यक भवनको उद्घाटन गर्न इच्छुक रहेको बताए । विद्यालयको पूर्वाधार विकासको लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । उनले सामुदायिक विद्यालयमा अब्बल मानिने आदर्श सौल विद्यालयले ललितपुर क्षेत्रको शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्याएको बताए । सामुदायिक विद्यालयको ‘गेडिङ पोइन्ट एभरेज (जीपीए)’मा सुधार आवश्यक रहेको बताउँदै मेयर महर्जनले महानगरले पुरस्कृत गर्ने चार जीपीएलाई लचिलो बनाउने कार्यविधि निर्माणको क्रममा महानगर रहेको बताए । महानगरले हरेक वर्ष उत्कृष्ट सामुदायिक वर्ष विद्यालय र विद्यार्थीलाई क्रमशः चार लाख रुपैयाँ र दुई लाख रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरष्कृति गर्ने व्यवस्था गरेको छ । मेयर महर्जनले कार्यक्रममा विद्यालयको गुणस्तरीय शिक्षा, उपयुक्त शैक्षिक वातावरण, उच्च व्यवस्थापनलगायतको विषयमा प्रशंसा गरेका थिए । कार्यक्रममा व्यवस्थापन संकायमा संयोजक केशव शर्माले व्यवस्थापन संकायमा उत्कृष्ट शिक्षा प्रदान गरेको कारण आकर्षण बढेको बताए । कार्यक्रममा विद्यालयबाट सेवा निवृत्त रत्नप्रसाद घिमिरेले आमाको स्मृतिमा एक लाख दुई हजार एक सय ५१ रुपैयाँको अक्षय कोष स्थापना गरी विद्यालयलाई सहयोग गरेका थिए । घिमिरेलाई लामो सयम अध्यापनमा संलग्न भई सेवा गरेकोमा विद्यालयले दोसल्ला ओढाइ सम्मान समेत गरेको थियो । यस्तै, कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी, अनुशासित शिक्षक विद्यार्थी र खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने समूह तथा व्यक्तिहरूलाई नगद प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया