Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीमेडिसिटी अस्पतालमा २३ जनाको मिर्गाैला प्रत्यारोपण

मेडिसिटी अस्पतालमा २३ जनाको मिर्गाैला प्रत्यारोपण


काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जना बिरामीहरूको सफल मिर्गाैला प्रत्यारोपण गरेको जनाएको छ । २०७९ माघबाट मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरेको थियो ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि हालसम्म १५० भन्दा बढी बिरामीहरू प्रत्यारोपणका लागि अस्पताल आएको जनाएको छ । तीमध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको र नौ जना प्रत्यारोपणका लागि पालो कुरिरहेको नेफ्रोलोजी तथा मिर्गाैला प्रत्यारोपण विभागका प्रमुख डा प्रकाश पौडेलले जानकारी दिए । अस्पतालमा १७ वर्षको युवादेखि ६५ वर्षका बृद्धको सफलरूपमा प्रत्यारोपण गरिएको हो । बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडाजस्ता ठाउँहरूबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् ।

पछिल्लो समय नेपालमा मिर्गाैला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनैरूपमा मिर्गाैलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मिर्गाैलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मिर्गाैलाका तीन हजार नयाँ बिरामीहरू डायलासिसका लागि थपिने गरेका छन् ।

दुवै मिर्गाैला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गर्नुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मिर्गाैला प्रत्यारोपणलाई मानिन्छ ।

अस्पतालले मिर्गाैला प्रत्यारोपण गरेका बिरामीहरूलाई आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मिर्गाैला दिएको जनाएको छ । मिर्गाैला दान गर्नेहरूमा १८ वर्षको दातादेखि ६५ वर्ष सम्मका दाताहरू रहेका छन् । त्यस्तै, मिर्गाैला दान गर्नेमा महिला बढी रहेका छन् । दान गर्नेमा १६ जना महिला र सात जना पुरुष रहेका छन् भने मिर्गाैला ग्रहण गर्नेमा १६ जना पुरुष र सात जना महिला रहेका छन् । अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकांश बिरामीहरूको मिर्गाैला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको प्रमुख डा पौडेलले बताए ।

साथै, प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरूको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरूमा यो समस्या देखिएको उनले बताए । उनका अनुसार पाँच जना मिर्गाैला प्रत्यारोपण भएका व्यक्तिहरू कतार, दुबईबाट फर्केर उपचारका लागि आएका छन् । निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरूमा मिर्गाैलाको समस्या बढी देखिएको डा पौडेलले बताए ।

प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कुल खर्च सातदेखि आठ लाख पर्छ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ । नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपणदेखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मिर्गाैला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।

‘यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मिर्गाैला दाता तथा ग्रहणकर्तालाई दुखाइ पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,’ डा. काफ्लेले भने । मिर्गाैला दाता तीनदेखि चार दिनमा र ग्रहणकर्ता छदेखि सात दिनमा डिस्चार्ज हुने गरेका छन् ।

अस्पतालका अनुसार मिर्गाैला प्रत्यारोपण गर्नु अगाडि धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मिर्गाैला दिन नमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ । उपचारका लागि अस्पतालमा भस्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी, एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङदेखि अप्रेसन गर्ने गरिएको छ । विश्व मिर्गाैला दिवसको अवसरमा मिर्गाैला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुँच रहेकोमा अस्पतालबाट पनि सकेसम्म धैरैभन्दा धेरै मिर्गाैला रोगीहरूको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुँचमा पुग्नेगरी उपचार विधिहरू अपनाइएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया