Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगग्रामीण कुखुरापालन उपचारमा औषधिजन्य बोटबिरुवाको प्रयोग

ग्रामीण कुखुरापालन उपचारमा औषधिजन्य बोटबिरुवाको प्रयोग


काठमाडौं । पशु चिकित्सामा औषधिको धेरै महत्व हुने गर्दछ । ग्रामीण कृषकहरूले आर्थिक स्रोतको कमी, गाउँको जङ्गलमा जडीबुटीको प्रचुर उपलब्धता तथा तिनको औषधिजन्य उपयोगको जानकारी भएका कारण महंगो एलोप्याथिक औषधि कमै प्रयोग गर्ने गर्दछन् । प्रायजसो ग्रामीण किसानहरू परम्परागत घरेलु उपचारमा बढी विश्वास गर्दछन् । परम्परागत औषधिले उपचार गर्दा कुनै नराम्रो असर गर्दैन । बरु कम खर्चिलो हुनुको साथै उपचार प्रभावशाली पनि हुने गर्दछ तर शहर वरपरका किसानले भने आफ्नो पशुको उपचारमा एलोप्याथिक औषधि प्रयोग गर्ने गर्दछन् । तर यी औषधिहरूको अत्यधिक प्रयोगले गर्दा जीवाणु विषाणु एवं परजीवीमा लामो समयपछि रोग प्रतिकारक शक्ति पैदा हुने गर्दछ, जसका कारण महंगा औषधिको उपयोगले लाभ हुनुको साटो क्षति बढी हुने गर्दछ । यसैले परम्परागत औषधि उपचारको महत्व बढेर जान्छ । कतिपय आदिवासी जनजाति समुदायका पशुपालक विभिन्न खाले औषधिजन्य जडीबुटीहरूको गुण र दोषबारे जानकार हुने गर्दछन् र तिनको प्रयोग सुझबुझका साथ गर्दछन् ।

धेरै समयदेखि परम्परागत जडीबुटीको परम्परागत ज्ञान जिउँदो राख्ने आवश्यकता महसुस हुँदैछ, नत्र यस्तो ज्ञान र प्रविधि अघिल्लो पुस्तासँगै लोप भएर जाने खतरा छ । यसका साथै हामीलाई आधुनिक पशु चिकित्सा विज्ञानलाई पनि सँगै लिएर जानु पर्ने पनि बाध्यता छ । हाम्रो प्रयास यो हुनु पर्नेछ कि आधुनिक पशु चिकित्सा विज्ञान तथा परम्परागत पशु चिकित्सा ज्ञानको बीच सेतु स्थापित होस् तथा अद्भूत गुण भएका जडीबुटीहरू पशुचिकित्सामा अझ बढी प्रयोग होस् ।

गाउँघरमा कुखुराहरूको रेखदेख राम्रोसँग हुन नसक्नाले कुखुरा पालकलाई समुचितलाभ हुन सकेको पाइँदैन । ग्रामीण भेगका कुखुराहरूमा मृत्युदर बढी हुने गर्दछ । यदि ग्रामीण कुखुरापालनको व्यवस्थापनमा केही सुधार गर्न सकिए कुखुराको रोगहरूको रोकथाम गर्ने हो, कुखुरा पालक कृषकको आयमा यथोचित बढोत्तरी गराउन सकिन्छ । ग्रामीण कुखुराहरूमा रानीखेत, बिफर, रुघाखोकी, छेर्नेजस्ता रोगहरू बढी मात्रामा देखा पर्ने गर्दछन् ।

यो रोगहरुले ग्रसित कुखुराहरूको उपचार ग्रामीण क्षेत्रमा हुन नसक्नाको कारण कुखुराको मृत्युदर बढीहुने गर्दछ । पशु चिकित्सालय एवं औषधि पसलहरूको सुलभ उपलब्धता नहुनुका कारण उपचार सेवा पनि सुलभ रूपमा उपलब्ध हुन पाउँदैन । ग्रामीण कृषकलाई वनक्षेत्रमा उपलब्ध औषधिजन्य बिरुवा तथा जडीबुटीबारे अलिकति जानकारी भने हुने गर्दछ । यदि यस ज्ञानलाई समुचित प्रयोग गरी स्थानीय कृषक एवं ग्रामीण पशु स्वास्थ्य कर्तालाई प्रशिक्षित गर्ने हो भने ग्रामीण कृषकले आफ्ना पशु उपचार गर्न सस्तो एंव सुलभउपचार सेवा प्राप्त गर्न सक्छन् । ग्रामीण क्षेत्रमा पालिने कुखुरामा देखा पर्ने केही रोगहरूलाई निम्नबमोजिम परम्परागत औषधि प्रयोग गरी उपचार गर्न सकिन्छ ।

कुखुरालाई रुघाखोकी लागेमा : ग्रामीण कुखुराहरू खासगरी खुल्ला छोडेर पाल्ने गरिन्छ । चिसो एवं झरीको बेला कुखुराहरू प्रायःजसो रुघाखोकीबाट ग्रसित हुने गर्दछन् । ग्रामीण क्षेत्रमा पाइने बेसार, लसुन, अदुवा आदि बिरुवाको प्रयोगले यो समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्तो बेला बेसार अदुवाको गानो पिँधेर प्याज पिँधेर दानामा मिसाएर खुवाउन सकिन्छ ।

छेरपटी लागेमा : ग्रामीण कुखुराहरू खुलामा पालिने हुँदा एवं चराहरूले फोहर ठाउँमा जमेको पानी पिउने हुँदा तिनको पेटमा विभिन्न खाले संक्रमण उत्पन्न हुने गर्दछन्, जसले गर्दा यिनलाई विभिन्न खाले रोग लाग्ने गर्दछ, जुन झाडा पखालाका लक्षणका साथ देखा पर्दछ । यसकारण कुखुरालाई सधैँ सफा पानी उपलब्ध गराउनु पर्दछ । लसुनको पाल एवं बेसारको धुलो मिसाएको झोल, भातको माड, गहुँको चोकर दानामा मिसाएर दिँदा झाडापखाला निको हुने गर्दछ ।

जुका परेमा : फोहोर वातावरणमा ग्रामीण कुखुरा पालिने हुँदा यिनमा विभिन्न खाले जुका पर्ने सम्भावना हुन्छ । दाना, आहारा र पानीको माध्यमबाट जुकाका फूल कुखुराको पेटमा पुग्दछन् र नयाँ जुकाको रुपमा विकसित हुने गर्दछन् । यी जुकाले कुखुराको पेटमा तयार उपलब्ध आहारा उपभोग गर्दछन् र कुखुरालाई कमजोर बनाउँछन् र आफ्नो संख्या वृद्धि गराउँछन् । यसरी कुखुरालाई कमजोर बनाउँछन् र आफ्नो संख्या वृद्धि गराउँछन् । यसरी कुखुराको पेटमा भएका जुका क्रमशः वयस्क हुँदै जान्छन्, अनि फूल पार्छन्, जुन कुखुराको विष्टा हुँदै बाहिरी वातावरणमा मिसिएर दाना आहारा प्रदूषण गराउँछन् तथा पुनः संक्रमण गराउँछन् ।

जबसम्म कुखुरालाई जुका नाशक औषधि प्रयोग गरी उपचार गरिँदैन, ग्रामीण स्तरमा मेवाको भित्रकोभागमा भएको रस पानीमा मिसाएर दिएमा यस्ले जुका नाशककोे काम गर्दछ । यसैगरी बेसार अदुवाको गानो पिँधेर निकालेको रस पनि कुखुरालाई पानीमा हालेर पिउन दिन सकिन्छ । लसुनको पात पिँधेर दानामा मिसाएर दिँदा हुन्छ । अनारको लाना पिधेर रस बनाएर कुखुरालाई खुवाउन सकिन्छ ।

ढुसीजन्य रोग लागेमा : लसुनको पात पिँधेर दानामा नियमित दिन सकिन्छ । साथै बेसारको गानो पिँधेर पानीमा नियमित दिनाले ढुसीजन्य रोगबाट बचाउन सकिन्छ ।

बिफर : मरिचको दाना पिधेर कुखुरालाई खान दिनाले यस्को घातकता कम गर्न सकिन्छ । बिफरको घाउमा मरिचको धुलोको लेप प्रयोग गर्न सकिन्छ । खुर्सानीको धुलो दानामा मिसाएर खान दिँदा पनि रोग निको हुछ ।

रानी खेत : रानीखेत कुखुराको घातक बिरामी मानिन्छ । यसको उपचार सम्भव छैन । पूर्व खोप लगाउनु नै यसबाट बचाउने एक मात्र उपाय मानिन्छ । कुखुराको लक्षण अनुसार रुघाखोकी, झाडापखालाजन्य लक्षणको उपचार गरी यसको घातकता कमगर्न सकिन्छ ।

घाउ खटिरा : कुखुराहरुरू खुला ठाउँमा पालिने हुँदा विभिन्न खाले चोटपटक एवं घाउ हुने गर्दछ । कहिलेकाँही कुखुराहरू आपसमा लड्दा वा ठुंगाठुंग गर्दा पनि चोटग्रस्त हुने गर्दछन् । यी घाउ अन्य जीवाणुका संक्रमणका कारण बिग्रन सक्छन्, जसको उपचार गाह्रो हुन्छ । लसुनको पात,बेसारको गानो बराबर मात्रामा पिँधेर नरिवलको तेलमा मिसाएर लेप बनाइ घाउको उपचार गर्न सकिन्छ । काठकोधुलो, नीमको पातको पिँधेर बनाएको लेप वरको रुखको दुधजस्तो लेप घाउमा परेमा त्यसले आँैसा किरा निकाल्छ । पिँधेको बेसारको धुलो लेपले घाउ चाँडै निको पार्छ । काँचो आँट पिँधेर ललाउनाले औँसा बाहिर आउँछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया