Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमुस्किलले बजार पाउँछ रोल्पाको स्लेटढुङ्गाले

मुस्किलले बजार पाउँछ रोल्पाको स्लेटढुङ्गाले


काठमाडौं । कुनै जमानामा रोल्पाको बाइसखुवाअन्तर्गत पर्ने उत्तरपूर्वी भेग अर्थात् हालको लुङ्ग्री गाउँपालिकामा पर्ने सिर्पमा पाइने स्लेटढुङ्गा कुनै बखत दाङको घोराहीसम्म जान्थ्यो । दुई दिनसम्म भरियालाई ढुङ्गा बोकाई दाङ लगिन्थ्यो । पश्चिमतर्फ सदरमुकाम लिबाङसम्म र दक्षिणतर्फ माडीखोला फेरासम्म पनि सिर्पकै ढुङ्गाले घर छाउने प्रचलन थियो । लिबाङको नजिक पर्ने खुमेलखोलामा स्लेटढुङ्गा खानी नभएको भने होइन । तर त्यहाँका स्लेटढुङ्गा सिर्पको स्लेटढुङ्गाको तुलनामा ज्यादै पातला र कच्चा हुने भएकाले लिबाङका कतिपय घरहरू छाउँदासमेत सिर्पकै ढुङ्गा नै प्रयोग हुन्थ्यो । खुमेलको स्लेटढुङ्गाखानी उत्खनन् गर्ने क्रममा व्यक्तिगत जमिन भासिन थालेपछि उत्खनन् गर्ने र बिक्री वितरण गर्ने कार्य बन्द भएको छ । सदरमुकामबाट पश्चिममा पर्ने घर्तीगाउँमा पनि ढुङ्गाखानी सञ्चालनमा छ । त्यहाँको स्लेटढुङ्गालाई मार्बलको रूपमा पनि प्रयोग गर्ने गरिएको छ । न ढुङ्गाजस्तो न त मार्बलजस्तो भएको घर्तीगाउँको ढुङ्गा पनि अन्यत्र बिक्रीका लागि लगिन्छ ।

सिर्पका टोपबहादुर वली वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्षसम्म मलेसियामा बस्दा आफ्नो आर्थिक अवस्थामा सुधार नभएपछि गाउँमा फर्किएर ढुङ्गा उद्योग सुरु गरेका रहेछन् । उनलाई सो उद्योगले आम्दानी र सन्तुष्टि दुवै दिएको छ । पहिलेदेखि नै बाइसखुवा क्षेत्रमा सिर्पको ढुङ्गाले घर छाउने प्रचलन थियो । खरको छाना धेरै वर्ष नटिक्ने भएपछि धेरैअघिदेखि नै स्लेटढुङ्गाले घर छाउने चलन चल्दै आएको हो । पहिले–पहिले स्लेटढुङ्गा काटकुट गर्ने क्रममा निस्किएका टुक्रा ढुङ्गालाई त्यसै फाल्ने गरिन्थ्यो । त्यस्ता खेर गएका टुक्राहरूलाई सदुपयोग गर्नेगरी इँटाको आकार दिएर घरको सुरमा राख्ने चलन हालका दिनमा चल्दै आएको छ । सो कार्यको सुरुवात निज वलीले नै गरेको जानकारीमा आएको छ । घर निर्माण गर्दा चारकुनामा राखिने ढुङ्गालाई स्थानीय भाषामा सुरेढुङ्गा भनिन्छ । घर निर्माण गर्दा चुनढुङ्गालाई काटेर पनि चार सुरमा राखिन्थ्यो ।

पछिल्ला समयमा सिर्पको ढुङ्गा विशेषगरी बुटवल, दाङ र नेपालगञ्जतिर बढी जाने गरेको खानी सञ्चालक टोपबहादुर वली बताउँछन् । कुनै बखत सिर्पको ढुङ्गा काठमाडांैल्याउनका लागि खुङ्ग्रीमा रजिस्टर्ड कार्यालय रहने गरी इस्माली ढुङ्गा उद्योग प्रालि नामको कम्पनी दर्ता भएको थियो । हाल सो कम्पनी चालू हालतमा छ÷छैन अत्तोपत्तो छैन । संघीय राजधानी काठमाडौंमा नयाँ बन्ने घरमा यस्ता स्लेटढुङ्गा बढी प्रयोग हुने गरेको पाइन्छ । विशेषगरी आँगन, सिँढी, गेटको पिलरमा स्लेट ढुङ्गा टाँस्दा तथा बिछ्याउँदा आकर्षक देखिने हुन्छ । पुराना घरहरूका आँगनमा पनि यस्ता खाले ढुङ्गा बिछ्याइने गरेको पाइन्छ । काठमाडौंमा बझाङ, रुकुम र बाग्लुङबाट स्लेटढुङ्गा बढी मात्रामा आउने गरेको मिस्त्रीहरू बताउँछन् । यो तथ्याङ्क थोक विक्रेताबाट लिन पाएमा तथ्यगत हुनेमा दुईमत छैन । टायल कच्चा हुने तर ढुङ्गा बलियो हुनाले टायलको तुलनामा ढुङ्गाको बढी प्रयोग हुँदै आइरहेको पाइन्छ । मूल्य पनि उस्तैउस्तै पर्ने हुँदा टायलको तुलनामा स्लेटढुङ्गा नै प्रयोगमा आउने गरेको छ ।

गाउँघरमा हाल अनुदानमा जस्तापाता उपलब्ध हुन थालेपछि खरले छाएका घरहरू देखिन छाडेका छन् । पूरै गाउँ निला र राता जस्तापाताले रंगिएका छन् । स्लेटढुङ्गा महँगो भएको कारणले पनि स्थानीयहरू जस्तापातातर्फ आकर्षित हुने गरेका छन् । हाल प्रिफ्याब प्यानलबाट बनेका भवनहरूमा फाइबरले छाना छाउने गरेको पनि पाइन्छ । तर यस्तो छाना धेरै वर्ष नटिक्ने भएकाले जस्तापाता नै बढी प्रयोग हुनेगरेको देखिन्छ । खरको छाना घरिघरि छाउने झन्झट हुने हुँदा बरु केही खर्च गरेर जस्ताले नै छाउने मनसायमा स्थानीयहरू देखिन्छन्। थबाङमा काठे फ्ल्याकले घर छाउने चलन धेरै पहिलेदेखिको हो । रोल्पाको उत्तरीभेगमा काठे फ्याकले छाएका घरहरू अझै पनि देख्न सकिन्छ । स्थानीय खाम भाषामा ‘झम’ भनिने लेकसल्लाका फक्लेटाहरूले मिलाएर घर छाउँदा घरभित्र न्यानो हुने र १५÷२० वर्षसम्म टिकाउ हुने कुरा गाउँका बासिन्दाले बताउँछन् । हालका दिनहरूमा जस्तापाताहरूको प्रयोगले काठका फ्लेकले छाएका घरहरू कम हुँदै आएको पनि पाइन्छ ।

रोल्पा धेरै खानीहरू भएको जिल्ला हो । लुथर्न नेपाल नामको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सुनछहरी र आसपासबाट दुई÷तीन किलो सुन संकलन गरेर लगेको कुरा कुनै बखत सञ्चार माध्यमबाट प्रकाशित भएको थियो । जेलबाङमा रहेको फलाम खानी पछिसम्म पनि सञ्चालनमा आएको थियो । आयातीत फलाम सस्तो हुने भएकोले हाल उक्त खानी सञ्चालनमा छैन । बुढागाउँमा भएको चुनढुङ्गा खानी रोल्पा सिमेन्ट उद्योगले प्रयोग गर्दै आएको छ ।

अरू जिल्लाहरूको तुलनामा रोल्पामा प्राकृतिक सम्पत्तिहरू धेरै नै छन् । तर उत्खनन्, प्रशोधन र उत्पादनका लागि प्रविधिको कमी छ । जनशक्ति पनि हालका दिनहरूमा विदेश पलायन भइसकेका छन् । धेरै पहिलेदेखि नै रोल्पालीहरू कामको खोजीमा भारत जाने गरेकोमा हाल खाडी मुलुकहरूमा धेरै युवाहरू जानेगरेका छन् । स्वदेशमा रोजगारीको अवसर झन्पछि झन् घट्दै गइरहेको अवस्थामा यस्तो देखिनु स्वाभाविक नै हो ।

रुखको बोक्राबाहिर रहेका झ्याउ वा झुल संकलन गरेर पहिले–पहिले दाङ हुँदै भारत निकासी हुने गरेको थियो । त्यस्तै, चिराइतो (स्थानीय भाषामा तीते)लगायतका तमाम जडिबुटीहरू रोल्पाबाट दाङको कोइलावास हुँदै भारततर्फ जान्थ्यो । सोझा सिधा रोल्पालीहरूले त्यसरी जडीबुटीहरू बोकेर लगे पनि उनीहरूले खासै आम्दानी गर्दैन’थे । उता ती वस्तुहरू भारतमा पुगेपछि महँगोमा खरिद बिक्री हुने गरेको पनि सुनिन्थ्यो । गाउँघरमा उत्पादित रिठ्ठाहरू पनि भरियाले बोकेर कोइलाबासतिर लैँजादै गरेको यस लेखकको स्मरणमा छ ।

केही वर्षयता रोल्पामा पनि पक्की घरहरू निर्माणले तीव्रता लिएसँगै लुङ्ग्री र माडी नदिको बालुवाले पनि बजार पाएको छ । उक्त बालुवा उत्कृष्ट भएको मिस्त्रीहरू बताउँछन् । लुङ्ग्री माडीका बगरमा रहेका ढुङ्गाहरू ट्रेक्टरबाट ढुवानी गरी निर्माण कार्यका लागि विभिन्न स्थानहरूमा पु¥याउने गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा केही समयपछि त्यहाँका ढुङ्गाहरू नपाइने चिन्ता छ । भनिन्छ, ढुङ्गाको भर माटोलाई, माटोको भर ढुङ्गालाई । यसरी जथाभावी ढुङ्गा निकालेर लैँजादा भूक्षय हुन सक्ने कुरामा कुनै पनि निकायले चासो दिनेगरेको पाइँदैन । स्थानीयहरू गाउँमा विकास भएकोमा दंग पर्दै आइरहेका छन् । साथसाथै विनाश भइरहेको उनीहरूलाई पत्तो छैन ।

खुमेलको ढुङ्गाखानी बन्द भए पनि सिर्प र घर्तीगाउँको ढुङ्गाले बजार पाउने क्रममा स्थानीयले रोजगार भने पाएका छन् । उद्योगी पनि आम्दानीका साथसाथै थोरैलाई भए पनि रोजगार दिन सकेकोमा सन्तुष्ट छन् । रोल्पाका अन्य स्थानहरूमा पनि ढुङ्गा खानीहरू भए पनि ढुङ्गाखानीसम्म यातायातको सुविधा छैन । ढुवानी गर्नका लागि सडक आवश्यक हुन्छ । मान्छेबाट बोकाएर लैँजाँदा लागत धेरै पर्ने भएकोले ती खानीहरू सञ्चालनमा आउन सकेका छैनन् । कतिपय स्थानहरूमा रहेका ढुङ्गाखानी कसरी उत्खनन् गर्ने र कसरी बजारसम्म पु¥याउने भन्ने उपाय सोँच्दासोँच्दै व्यवसाय गर्न खोज्नेहरूका दिनहरू त्यसै बितिरहेको पनि छ ।

प्रकृतिले दिएका उपहारहरूलाई सही ढंगले उपयोगी बनाउन सकियो भने मुलुकका लागि पनि केही उपलब्धि हुने थियो । अनुसन्धान, उत्खनन्, प्रशोधन र बजार पहुँचका लागि सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी भएको देखिन्छ । नेपालमा खानी विभाग पनि छ तर विभागले जेजति गर्नुपर्ने क्रियाकलाप हो सो गर्न सकेको पाइँदैन । केही नमुना पत्थरहरू शोकेसमा राख्दैमा विभागले उद्देश्य पूर्ति गरेको भन्न मिल्दैन । धेरै प्राकृतिक स्रोतहरूमा नेपाल धनी छ भनेर मख्ख परेर पनि कुनै अर्थ छैन । कृषिप्रधान भनिँदै आएको मुलुक हाल सो उपनामले चिनिन छाडेको छ । व्यङ्ग्य गर्दै कुर्सीप्रधान देश भनिन्छ । किनकि मुलुक अहिले आयातमा निर्भर छ । अस्वस्थकर खाद्यान्न पनि भित्रिरहेको पाइन्छ, जुन जनस्वास्थ्यका लागि लाभदायक छैनन् । पहाडी भेगमा उत्पादन हुँदै आएका जुनेलो, लट्टे, कोदो, फापर, उवा, चिनो, कागुनोलगायतका कैयन प्रकारका कृषि उपजहरूको उत्पादन हालका दिनहरूमा क्रमशः घट्दै गइरहेको पाइन्छ । आयात गरी प्याकिङ गरेर जिल्लाजिल्लामा पुग्ने कतिपय खाद्यान्नहरूको म्याद सकिएको र खानै नहुने अवस्थामा पुगेको स्थानीयहरू पत्तो पाउँदैनन् । संघीय सरकार तथा स्थानीय सरकारको त्यतातिर ध्यान पनि गएको पाइँदैन । त्यस्तै, मकै, भटमास, जुनेलो, लट्टेको खाजा खान छाडेर गाउँघरमा चाउचाउ, कुरकुरे, पाउरोटी, चाउमिन, चटपटे, पानीपुरीको स्वाद लिँदै गरेको पाइन्छ । जुन स्थानीयस्तरमा उत्पादित अनाजहरूको तुलनामा स्वास्थ्यवद्र्धक छैनन् । अन्त्यमा सरकारले मुलुकभित्रै उपलब्ध हुन सक्ने उपभोग्य सामग्रीको उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि ध्यान दिएर नीति निर्माण र कार्यान्वयन गर्नु जरुरी देखिएको छ ।

अन्त्यमा, रोल्पामा रहेका थप स्लेटढुङ्गालगायतका अन्य धातुहरूको खानीको पनि अध्ययन, अनुसन्धान, उत्खनन् र बजार ब्यवस्था हुनसकेमा रोल्पालीहरूमा उत्साह छाउने र केही मात्रामा भए पनि रोजगारका अवसरहरू सिर्जना हुनेमा शंका छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया