Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगयस कारण नोटबन्दी गर्नुपर्छ

यस कारण नोटबन्दी गर्नुपर्छ


काठमाडौं । नोटबन्दी भनेको देशमा चलनचल्तीमा रहेका वैधानिक मुद्रालाई हटाएर तिनीहरूको सट्टामा अरू नयाँ नोट निष्काशन गर्नु हो । बुझ्नुपर्ने कुरा के छ भने सबै चल्तीका नोटहरू हटाइने होइनन् । ठूला दरका नोटहरू हटाएर मौद्रिक व्यवस्थापनमा आएका समस्याहरूको निराकरण गरिन्छ । अर्थतन्त्रमा आएका समस्याहरू समाधान गर्ने सम्बन्धमा नोटबन्दी गर्नुलाई एउटा राम्रो औजारको रूपमा लिइएको हुन्छ ।

अहिले नेपालमा नोटबन्दी गर्नुपर्छ भन्ने बहस आइरहेको छ । केही दिनअघि मात्र नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सञ्चार माध्यमबाटै नोटबन्दी गर्नुपर्छ भनेका थिए । देशको अर्थतन्त्र खस्किँदै गएको, देशमा अनौपचारिक अर्थतन्त्र हाबी भएको, आर्थिक अनियमितता बढ्दै गएको र ठूला–ठूला भ्रष्टाचारका काण्डहरू घटिरहेको अवस्थामा नोटबन्दीको बहस आउनुलाई अन्यथा भन्न सकिँदैन र यो आवश्यक पनि छ ।

नोटबन्दी गर्ने काम त्यति सजिलो भने छैन किनभने राम्रोसँग सञ्चालन गर्न सकिएन भने यसले अर्थतन्त्रलाई गलत बाटोतिर पनि लाग्ने हुन्छ । तर अहिले नेपालमा भने चर्को आवाज उठिरहेको अवस्था छ । आम नागरिकको बुझाइमा देशमा तीव्र गतिमा भ्रष्टाचार बढ्दै गएको छ । देशको अर्थतन्त्र र राजनीति सीमित व्यक्तिहरूमा केन्द्रित भएको अवस्था देखिन्छ । यसरी देशको अर्थतन्त्र सीमित व्यक्तिहरूको पकडमा जान नदिनका लागि पनि नोटबन्दी गर्नु आवश्यक छ ।

केही समयअघि बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभाव थियो । उद्योगी व्यवसायीहरूले कर्जा माग गरेका भए पनि बैंकहरूले ऋण प्रवाह गर्न सकिरहेका थिएनन् । अर्थतन्त्रमा खासै संकट नआएको अवस्थामा त तरलताको अभाव नहुनुपर्ने थियो, तर पनि बजारमा पैसाको अभाव नै देखियो । कतिपय सञ्चार माध्यमहरूले पानी ट्याङ्कीमा पैसा भएको, अवैध कारोबारबाट आर्जित सम्पत्ति विदेश पलायन भएको, मानव तस्करी बढेको, बैंक तथा वित्तीय संस्थाहरूमा अनियमित काम गरेर आर्जित पैसा निजी बनाएकाजस्ता कुरा सार्वजनिक भएका थिए । स्वयम् अर्थमन्त्रीले बजारमा पैसा नभएको होइन सिरानीमा पैसा राखेर सुतिरहेका छन् र त्यो पैसालाई बाहिर ल्याइन्छ भनेका पनि थिए । तर यो कुरा त्यसै सेलाउँदै गयो र कार्यान्वयन हुन सकेन । यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भइरहेको भ्रष्टाचार रोक्ने हो र अर्थतन्त्रलाई प्रभावकारी बनाउने हो भने नोटबन्दी गर्नुपर्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र समेत पेस गरेका थिए ।
नेपालको अहिलेको राजनीति अवस्थालाई हेर्दा निकै घिनलाग्दो देखिएको छ । बढ्दै गएको भ्रष्टाचार आम नागरिकको लागि चिन्ताको विषय बनेको छ । महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले समेत नागरिकलाई तर्साउने गर्छ । भ्रष्टाचार तलबाट भन्दा पनि माथिबाट भइरहेको हुँदा सानोतिनो प्रयासबाट यो नियन्त्रण गर्न सम्भव नै देखिँदैन । सानादेखि उच्च राजनीतिक तथा प्रशासनिक वर्ग मुछिएको हुँदा सहजरूपमा कारबाही अघि बढ्न सक्ने कुरा अनुमान गर्नसम्म सकिँदैन । अहिले चर्चामा आएका केही काण्डहरूमा पनि ठूलाहरूलाई सोधपुछसम्म नहुने र सानातिनाहरूलाई मात्र कारबाही चलाइएकाले देशमा भ्रष्टाचार घट्नुको सट्टा मौलाउँदै जाने नै देखिन्छ ।
ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा मुछिएका उच्च तहका राजनीति र प्रशासकहरूको संलग्नताले अन्तर्राष्ट्रियस्तरमा नै नेपालको छवि धमिलिएको छ । नेपालको राहदानी यति कमजोर हुँदै गएको छ कि विश्वले नै नाक खुम्च्याउने गरेको छ । यो हुनुमा देशमा बढ्दै गएको भ्रष्टाचार र त्यसमा संलग्न भएका उच्च पदाधिकारी नै जिम्मेवार हुन् ।

यसरी अकुत सम्पत्ति आर्जन गर्नेहरूले बोराका बोरा र घरभरि पैसा लुकाएका छन् भन्ने कुरामा आम नागरिकमा एक प्रकारको धारणा विकास भएको छ । हुन पनि अरबौं अरबको भ्रष्टाचार भइरहेको अवस्थामा जनतामा यो धारणा आउनु कुनै नौलो कुरो होइन र यथार्थले पनि त्यही देखाइरहेको छ । अहिले राजनीतिमा पनि त्यस्तै बिचौलिया, भ्रष्टाचार, कालो व्यापारबाट सम्पत्ति आर्जन गर्नेहरूको नै हालीमुहाली भइरहेको अवस्था देखिन्छ ।

अहिले निर्वाचन यति महँगो हुँदै गएको छ कि सामान्य नागरिकले उम्मेदवार हुन सक्ने अवस्था नै छैन । जोसँग अकुत सम्पत्ति छ, उही व्यक्तिले निर्वाचन जितेका हुन्छन् । सर्वोच्च व्यवस्थापिकामा प्रतिनिधित्व गर्नेहरूलाई हेर्ने हो भने पनि यो कुरा प्रष्ट हुन आउँछ । सामान्य नागरिक त्यहाँ पुग्न सक्ने र पुगेको अवस्था देखिँदैन । राजनीतिकर्मीहरूबाटै निर्वाचन ज्यादै खर्चिलो भयो, सुधार गर्नुपर्यो भने पनि सुधार गर्नेतर्फ केही प्रयास भएको अवस्था देखिँदैन । यसरी नै राजनीति चल्दै जाने हो भने नेपालको राजनीतिले अझ बढी भ्रष्टाचार मौलाउन सहयोग गर्नेछ र देशको आर्थिक अवस्था संकटमा पुग्न त्यति धेरै कुर्नुपर्ने पनि छैन । त्यसैले व्याप्त भएको कालोधनलाई सुकिलो बनाउन नदिनका लागि नोटबन्दीको आवश्यकता देखिएको छ । पाँचसय र हजारका नोटहरूलाई तुरुन्त प्रतिबन्ध लगाएर देशको अर्थतन्त्रलाई स्वच्छ बनाउनुपर्छ ।

कालोधनलाई देशको अर्थतन्त्रमा प्रवेश गर्न दिने हो भने सीमित भ्रष्टहरूको हातमा देशको शासकीय र अर्थ प्रणाली पुग्न सक्छ । त्यसकारण यो रोक्नका लागि नोटबन्दी गर्नु अतिआवश्यक हुन्छ । नोटबन्दीको अनुभव नेपाललाई नभए पनि छिमेकी देश भारतमा गरिएका नोटबन्दीबाट पनि नेपालले धेरै ज्ञान प्राप्त गरिसकेको छ । प्रधानमन्त्री मुरारजी देसाइले सन् १९७८ मा सर्वप्रथम हजार र पाँच हजारका रुपैयाँ नोटबन्दी गरेका थिए । त्यसपछि सन् २०१६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पाँच सय र हजारको नोटलाई चलनचल्तीमा रोक लगाएर अर्थतन्त्रलाई स्वच्छ बनाउने काम गरे । नोटबन्दी गर्दा केही समस्या भए पनि भारतले सफलतापूर्वक सञ्चालन गरेको हुनाले अहिले त्यहाँ कालोधन हाबी हुन सकेको छैन ।

नोटबन्दी भनेको एक प्रकारको आर्थिक गतिविधि हो, जसअन्तर्गत पुराना नोटहरू चलनचल्तीबाट हटाइन्छन् र तिनीहरूको सट्टामा नयाँ नोटहरू प्रचलनमा ल्याइन्छन् । नोटबन्दी गर्नुपूर्व सार्वजनिक सूचना जारी गरेर आफूसँग भएका नोटहरू निश्चित बैंकहरूमा साट्नको लागि आह्वान गरिएको हुन्छ । उक्त अवधिमा साट्न नजानेहरूसँग भएको नोटहरू प्रयोगमा ल्याउन सक्दैनन् किनकि ती नोटहरू प्रतिबन्धित भइसकेका हुन्छन् । त्यसकारण सामान्य नागरिकहरूले आफूसँग भएका नोटहरू बैंक तथा तोकिएका निकायहरूमा सटही गर्नुपर्छ ।

नोटबन्दी नेपालको लागि नौलो विषय भएकाले यसमा खासै अनुभव देखिँदैन । त्यसकारण नोटबन्दी लागू गर्दा विशेष ध्यानु पु¥याउनुपर्छ । पूर्वतयारीविना गरियो भने समस्या पनि आउन सक्छन् । पुराना नोटहरू प्रतिबन्ध गरिँदा तिनीहरूको सट्टामा नयाँ नोट छपाइ गर्दा सरकारलाई बढी व्ययभार पर्न जाने हुन्छ । आम नागरिक र अर्थतन्त्रसँग सरोकार राख्ने भएकाले धेरै पक्षहरूको अध्ययन गर्नुपर्छ । किनभने जथाभावी नोटबन्दी गर्नाले वित्तीय प्रणालीमा परिवर्तन, नगद परिवर्तनमा मन्दगति, सेयर बजार, घरजग्गा व्यवसाय, भुक्तानीजस्ता अवयवले अर्थतन्त्र चलायमान बनाउन योगदान गरेका हुन्छन् । यिनीहरूमा शिथिलता आउन सक्ने सम्भावनातर्फ पनि विचार गर्नु आवश्यक देखिन्छ ।
यो व्यवस्थाले सामान्य नागरिकहरूलाई खासै असर पारेको हुँदैन केवल साट्नका लागि केही प्रक्रियागत कामले मात्र झन्झट हुने हो । अन्य केही अप्ठेरो पर्दैन । तर जोसँग अकुत नोट राखिएका हुन्छन् उनीहरूलाई भने समस्या हुन्छ नै । किनभने ठूलो संख्याको रकमको स्रोत देखाउनुपर्ने हुन्छ त्यो स्रोत उनीहरूले देखाउन नसक्ने भएकाले समस्या आउन सक्ने धेरै सम्भावना रहेको हुन्छ । यस्ता धनाढ्यहरूले यति ठूलो रकम बैंकमा राख्न कानुनी वैधता पुष्टि गर्न नसक्ने भएको हुँदा घरमै बिटाका बिटा थुपार्नुपर्ने अवस्था आउँछ । आम्दानीका स्रोत खुलाउन नसक्दा त्यस्ता रकम चलनचल्तीमा आउन सक्दैनन् । त्यसकारण नेपालजस्ता अल्पविकसित देशहरू जहाँ भ्रष्टाचार व्याप्त छ, अनौपचारिक अर्थतन्त्र हाबी हुँदै गएको छ । ती देशहरूमा नोटबन्दीको माध्यमबाट अर्थतन्त्र स्वच्छ बनाउन सकिने हुन्छ । यस कारणले गर्दा पनि नेपालमा आवश्यक देखिएको छ ।

नोटबन्दी गर्नाले मूलतः कालोधनले वैधानिकता पाउन सक्दैन र अवैध धन आयात निर्यात हुन सक्दैन । लुकाएर राखेका ठूला नोटहरू प्रचलनमा आउन सक्दैनन् र अर्थतन्त्र चलायमान बनाउन नोटबन्दी प्रभावकारी हुन सक्छ । साथै, नोटबन्दीले बैंकिङ प्रणालीको विकासमा सहयोग गरेको हुन्छ र डिजिटल भुक्तानी बढ्दै जाने हुन्छ । डिजिटल भुक्तानीले प्रश्रय पाउनु भनेको ठूला–ठूला नोटहरूको प्रचलन खस्किँदै जानु हो । अर्को कुरा नोटबन्दी गर्दा आमनागरिकले आफूसँग भएको ठूला दरका नोटहरू बैंकमा जम्मा गर्ने भएकाले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता बढेको हुन्छ । जसले गर्दा सरकार तथा वित्तीय संस्थाहरूलाई रकम लगानी गरेर अर्थतन्त्र चलायमान बनाउन सहज भएको हुन्छ । कालोधनले प्रश्रय नपाउने, लुकाएर राखेको धन प्रयोगमा आउन नसक्ने, नक्कली रुपैयाँ चलनचल्तीमा ल्याउन नसक्ने र करछलीजस्ता कुरामा सुधार हुने हुँदा देशको अर्थतन्त्र प्रभावकारी हुने सम्भावना हुन्छ नै । नोटबन्दी जहिले पनि आमनागरिकको पक्षमा रहेको हुन्छ र अवैध कारोबार गरेर अकुत सम्पत्ति गर्नेहरूको पक्षमा नहुने भएकाले राष्ट्रिय अर्थतन्त्र स्वच्छ बनाउन यसले महत्वपूर्ण भूमिका निभाएको हुन्छ ।

नेपालमा अहिले कालोधन बढ्दै गएकाले सबैमा चिन्ता र चासो बढेको पाइन्छ । यदि समयमा नै कालोधनलाई नियन्त्रण नगर्ने हो भने नेपालको अर्थतन्त्र सीमित व्यक्तिहरूको हातमा जान सक्ने सम्भावनालाई नकार्न सकिँदैन । कालोधनलाई सेतो बनाउन सहकारी, अस्पताल, क्यासिनो, घरजग्गा कारोबारजस्ता क्षेत्रमा लगानी भइरहेको छ भनिन्छ । त्यसैले देशको छवि र अर्थतन्त्रलाई स्वच्छ बनाउन पाँच सय र हजारका नोटहरूलाई प्रतिबन्ध गर्नुपर्छ ।

नेपालमा भ्रष्टाचार बढ्दै गएको र नियन्त्रण हुन नसकिरहेका अहिलेको अवस्थामा भ्रष्टाचार नियन्त्रण गर्ने एकमात्र सजिलो उपाय नोटबन्दी गर्नु नै हो । नोटबन्दी गर्दा अवैध कारोबारबाट जम्मा भएका नोटहरू सरकारी ढुकुटीमा आउन सक्दैनन् र घरमा नै थुपारेका हुन्छन् । जुन मुद्राको रूपमा नभई कागजको खोस्टामा बदलिएका हुन्छन् । यिनीहरूको कुनै मूल्य, वैधानिकता नहुने र प्रयोगमा आउन नसक्ने हुँदा देशको अर्थतन्त्रलाई असर पार्न सक्ने हुँदैनन् । त्यसकारण नेपालले नोटबन्दी गर्नु भनेको अर्थतन्त्रलाई स्वच्छ र प्रभावकारी बनाउने एक उत्तम औजार हो । (लेखक नेपाल सरकारका पूर्वउपसचिव हुनुहुन्छ ।)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया