Techie IT
×
गृहपृष्ठविचारऔद्योगिक सुधारका अवधारणा

औद्योगिक सुधारका अवधारणा


काठमाडौं ।
औद्योगिक क्षेत्रको प्रवर्द्धनको अभावमा व्यापार विविधीकरण गर्न त्यति सम्भव देखिँदैन । यसका लागि उत्पादित वस्तुको गुणस्तरले जनस्तरमा विश्वासको मत हासिल गर्दै औद्योगिक क्षेत्रलाई विकासोन्मुख पथमा क्रमशः अगाडि बढाउँदै मुलुकमा औद्योगिकीकरणको लागि मार्गप्रशस्त गर्नु समयको माग हो । उत्पादित वस्तुको गुणस्तर मापन गर्ने क्षमता भनेकै सम्बन्धित वस्तुको उपयुक्त ब्राण्ड हो ।

प्रस्तुत तथ्यका आधारमा ब्राण्डको सम्बन्धमा कुनै पनि औद्योगिक प्रतिष्ठानले अनधिकृतरूपमा गरिने सम्झौताको विपक्षमा आफू एवं आफ्नो उत्पादन/समूहलाई सधैँ नै खरो ढंगबाट उभ्याउन हरपल प्रयत्नरत रहेका हुन्छन् । प्रस्तुत कार्यको विकासले ब्राण्डको अनधिकृत दुरुपयोग रोक्न सहयोग पुग्न जानुको साथै वस्तु तथा सेवाको गुणस्तर स्थापित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्न सकिन्छ । विपरीत अवस्था पैदा भए उत्पादित वस्तु तथा प्रतिष्ठानको साखमा धक्का पुग्न गई औद्योगिक क्षेत्र नै धराशायी हुने प्रबल सम्भावनालाई मध्यनजरमा राखी कार्य गर्नुपर्ने हुन्छ ।

यसका साथै मिल्दोजुल्दो देखिने ब्राण्डिङले आम उपभोक्ता वर्गलाई झुक्याउन सक्ने सम्भावनाप्रति सजक रहँदै प्रस्तुत सन्दर्भमा उपभोक्ता वर्गलाई जागरुक बनाउने कार्यमा औद्योगिक प्रतिष्ठान सचेत रहनु आजको आवश्यकता हो । किनकि ब्राण्ड तथा वस्तुहरू प्रतीष्ठित भएपछि उक्त वस्तुले लोकप्रियता हासिल गर्ने सम्भावनालाई नकार्न मिल्दैन । त्यसपछि व्यापारिक अवधारणाले सही गन्तव्य निर्धारण गरी मनग्य मुनाफा कमाउन सक्षम रहने अवस्था प्रारम्भ हुनेछ । यद्यपि हुबहुजस्तो देखिने ब्रान्डिङको दुरुपयोग गर्ने प्रवित्तिले केबल आपराधिक मनोवृत्तिलाई केही समयका लागि सफल बनाए पनि दीर्घकालीन अवस्थामा उच्च प्रतिफल हासिल गर्न नसक्ने ठोकुवा गर्न सकिन्छ ।

प्रस्तुत व्यवहारलाई अपराधको संज्ञा दिँदै कानुनको कठघरामा उभ्याउनु पर्नेहुन्छ । यसप्रकारको गतिविधिबाट आफू र आफ्नो औद्योगिक प्रतिष्ठानलाई पृथक राख्दै सकारात्मक एवं सेवा भावले उत्प्रेरित भई व्यापार विविधीकरणतर्फ केन्द्रित रहनु नै सफल औद्योगिकीकरणको यात्रा तय गर्नु हो । व्यापार विविधीकरण भन्ने विषय आपसेआप रातारात हुने कुरा पक्कै पनि होईन यसका लागि भगीरथ प्रयास स्वरूप प्राप्त हुनआउने निरन्तरता नै लोकप्रियताको उच्चतम कसी हो । परिणामतः उपभोक्ता, वस्तु तथा सेवाको अन्योन्याश्रित सम्बन्ध विस्तारको क्षेत्रमा एक कदम अगाडि बढ्न ठूलो सहयोग पुग्नेछ ।

उत्पादित वस्तुको गुणस्तर पहिचानको लागि सूचनामैत्री अवधारणाको विकासमा विशेष ध्यान पु¥याउनु पर्नेहुन्छ । जसको सफल प्रयोग गर्दै गुण, दोष तथा उपयोगिताको आधारमा वास्तविकरूपमै उत्पादित वस्तु तथा सेवा उपभोग्य दृष्टिले उपयुक्त छ वा छैन भनी एकिन गर्दै खरिदबिक्री प्रक्रियालाई उपभोक्ता समूहले निरन्तररूपले अगाडि बढाउने विश्व व्यापारीकरणको अवधारणा हो । जसमा नेपाल पनि पृथक रहन सक्दैन । यसको अभाव रहने हो भने व्यापार विविधीकरणजस्तो महत्वपूर्ण क्षेत्र स्वतः प्रभावित हुने देखिन्छ ।

यसका साथै उत्पादित सामानले अत्यधिक बजार हासिल गर्न व्यापक प्रचारप्रसारको महत्वपूर्ण भूमिका रहन्छ किनकि आजको युग भनेको विज्ञापनको युग समेत भएको हुँदा विना विज्ञापन सफलता प्राप्ति त्यति सम्भव देखिँदैन । जसका लागि उपयुक्त विज्ञापन नीतिको सदैव खाँचो रहन्छ । तथापि विज्ञापनकै नाममा मिथ्या प्रचारप्रसार गर्ने प्रवित्तिगत व्यवहारको विकासले उपभोक्ता माझ द्विविधा उत्पन्न भई सम्पूर्ण व्यापारिक क्षेत्र ह्रासोन्मुख गतिमा अगाडि बढ्नसक्ने तथ्यलाई हेक्का राखी कार्य गर्नुपर्ने हुन्छ । किनकि व्यापार विविधीकरणको मूल मन्त्रमा भ्रम सिर्जना गर्नु भनेको व्यापारबाट हात धुनुसरहको अवस्था पैदा गर्नु हो ।

परिणामः औद्योगिक प्रतिष्ठानले आफ्नो सही गन्तव्य हासिल गर्न नसक्ने निश्चित छ । अतः व्यावसायिक क्षेत्रलाई विविधीकरण गर्दै औद्योगिक प्रवर्द्धन गर्नु समयको माग हो, तर यसका लागि न्यूनतम मूल्यमा गुणस्तरिय वस्तु तथा सेवाको उत्पादनमा जोड दिँदै आम उपभोक्ता माझ पस्किनुपर्ने प्रतिस्पर्धात्मक अवस्था सिर्जना भएको छ ।

यसका बाबजुद मुनाफालाई न्यून गर्दै अधिकाधिक उपभोक्ताको हितको खातिर कार्य गर्नु वास्तवमै सफल व्यापारीकरणको अनुपम नमूना मान्न सकिन्छ । जुन कुशल व्यवस्थापकीय नेतृत्वले मात्र सम्भव रहन्छ । किनकि नेतृत्वदायी कुशल तथा योग्य व्यवस्थापकले मात्र योजनाबद्ध तवरले अल्पकालीन अवस्थामा नै व्यापार विविधीकरणको अब्बल खाकालाई समयानुकूल परिमार्जित गर्दै सफलरूपमा कार्यान्वयन गर्न सक्षम रहन्छन् जुन गुणस्तर मापनमा आधारित रहेको हुन्छ । जसको सफल प्रयोगबाट अत्यधिक मात्रामा वस्तु तथा सेवाको अभिवृद्धि गर्ने दक्षता स्वरूप प्राप्त हुनआउने नाफाले अन्ततः समुलरूपमा व्यापारिक क्षेत्रको उचाइलाई क्रमशः माथि उस्कादै औद्योगिक प्रतिष्ठानलाई प्रगति उन्मुख मार्गमा अगाडि बढ्न सहयोगीको भूमिका निभाउनेछ ।

तर यसका लागि कार्यगत ऐक्यबद्धताको आवश्यकता पर्नेछ । जसको अभावमा प्रतिष्ठानभित्र एक पक्षले अर्को पक्षलाई सहयोग नगर्ने भावनाको विकासले प्रत्यक्षरूपमा उत्पादनका अन्य क्षेत्रमा पनि ऋणात्मक असर पर्ने हुँदा सम्बन्धित प्रतिष्ठानले तोकिएको समयसीमाभित्र आफ्नो उत्पादन, वितरणमा समेत गतिरोधको सामना गर्नुपर्ने हुन्छ । परिणामतः समन्वयात्मक भूमिकाको अभाव रहन गई आँकलन गरेको लक्ष्य प्राप्तिमा अवरोध उत्पन्न हुनुको साथै औद्योगिक समृद्धि उल्टो गतिमा चल्नेछ भन्दा फरक नपर्ला ।

यसदेखि बाहेक श्रमिक, कामदार तथा कर्मचारीवर्गको काम गर्ने समयले पनि व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । यी यस्ता समूह हुन् जसलाई औद्योगिक क्षेत्रको प्रमुख आधार स्तम्भ मान्न सकिन्छ । तसर्थ श्रम ऐनले तोकेको भन्दा अगाडि वा पछाडि काममा रहने वर्गलाई समयको अनुपातमा उनीहरूको पदमा आधारित सुरु तलबको अनुपातमा रहेर तोकेको सीमाभन्दा अत्यधिक कार्यका लागि अतिरिक्त रकम प्रदान गर्ने क्रमलाई व्यवहारमा उतार्ने जमर्को गर्ने हो भने निश्चितरूपमा अतिरिक्त समयमा पनि कामका लागि हौसिने वातावरण तयार हुने देखिन्छ । परिणामतः औद्योगिक क्षेत्रले आफ्ना श्रमिक, कामदार वा कर्मचारीवर्गलाई अतिरिक्त समयमा सामेल गराएबापत आफ्नो उत्पादन क्षमता समेत वृद्धि गर्न सक्षम रहनेछन् वातावरण तयार हुनेछ ।

यस क्रमलाई अझ व्यवस्थित तथा आकर्षणयुक्त गर्नका खातिर आवश्यकताअनुसार कर्मचारीहरूको बेत्तनमानलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्ने हुन्छ । यसप्र्रकारका प्रविधिगत व्यवहारले कर्मचारीवर्गको जिउने आधार खडा गरी ढुक्क हुने अवस्था पैदा गर्नेछ । यसका अतिरिक्त आवश्यकताअनुसार निर्धारित मापदण्ड बनाएर सहीरूपमा उचित मूल्यांकन गर्दै पदोन्नतिको आधारलाई व्यवस्थित गर्नुपर्ने हुन्छ ।

जसले योग्य व्यक्तित्वलाई पुरस्कृत तथा उदासिनता तथा खराब आचरण देखाउने समूहलाई दण्डको भागीदार बनाउने रणनीतिलाई व्यवहारमा नै लागू गर्नुपर्ने हुन्छ । यो नै वृत्तिविकासको आधारस्तम्भ समेत हो । यस्ता गतिविधिहरूलाई समयसापेक्ष कार्यान्वयनमा ल्याउनको खातिर विश्वका अन्य अब्बल स्थानमा रहेका औद्योगिक मुलुकको औद्योगिकीकरण क्षेत्र विकाससम्बन्धी अवधारणालाई हाम्रो मुलुकमा पनि सहीरूपमा अनुसरण गर्नुपर्ने नै हुन्छ ।

यसबाट प्राप्त हुनआउने उल्लेख्य सफलताले यथार्थमै व्यापार अभिवृद्धिका साथै मुलुकलाई औद्योगिकीकरण उन्मुख बनाउन सहयोग पुग्ने देखिन्छ । यसप्रकारका गतिविधिलाई समन्वयात्मक तवरले जबसम्म व्यवस्थापन गर्न सकिँदैन तबसम्म व्यापार अभिवृद्धिको सम्भावना अत्यन्त न्यून रहन्छ । किनकि व्यवस्थितरूपमा गरिने व्यापार विविधीकरण नै वास्तविकरूपमा सफल औद्योगिकीकरणको रणनीति समेत हो ।

तसर्थ सफल औद्योगिक विकास नै औद्योगिक क्रान्तिको मेरुदण्ड समेत भएको हुँदा आर्थिक समृद्धिको वर्तमान अवधारणालाई यथार्थमा चरितार्थ गर्न यसप्रकारका औद्योगिक सुधारका मार्ग दर्शनलाई शिरोधार्य गर्दै अगाडि बढ्नुबाहेक अर्को विकल्प मुलुकसामु रहँदैन ।



तपाईको प्रतिक्रिया