Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोभिडसँगै बढेको मोबाइल फोनको आयात

कोभिडसँगै बढेको मोबाइल फोनको आयात


काठमाडौं ।
कोभिड–१९ को माहामारी बढेसँगै विश्वमा आधुनिक सञ्चारको क्षेत्रले छोटो समयमा उल्लेख्य प्रभाव पारिरहेको देखिन्छ । मोबाइल फोनलाई वर्तमान विश्वमा सहज र सुविधासम्पन्न सञ्चार साधनको रूपमा स्वीकार्न थालिएको छ । यो विश्वका विकसित देश हुँदै विश्वभर तीव्ररूपमा फैलियो जुन आज आम मानिसको अति आवश्यक वस्तुको रूपमा विकसित भैरहेको कारण यसले विश्व बजारलाई छिटै नै प्रभावित बनाउँदै लग्यो र विश्व अर्थतन्त्रमा छोटो समयमा नै आफ्नो अस्तित्व जमाउन सफल भयो ।

आज यसको प्रयोग विश्वव्यापीकरण भैरहनुको साथै विश्वको हरेक देशको अर्थतन्त्रमा हलचल ल्याइरहेको छ । नेपालको अर्थतन्त्रमा मोबाइल फोनको आयात र यसको बढ्दो प्रयोगले देशको ठूलो धनराशि विदेशीने क्रम तीव्र हुँदै गइरहेको छ । मोबाइल आज आम नागरिकको अनिवार्य आवश्यक्ता हुँदै व्यक्तिगत खर्चमा वृद्धि गर्ने साधनको रूपमा विकसित हुँदा अनौपचारिक व्यय बढिरहेको पाइन्छ ।

सर्वप्रथम सन् १९८३ मा अमेरिकामा आविष्कार भएको मोबाइल फोन नेपालमा विसं २०५६ सालबाट यसको सुरुवात भयो त्यसबेला उच्चवर्गका मानिसहरूले प्रयोग गर्थे, उक्त समय पोस्टपेड फोनको प्रयोग हुन्थ्यो । फोन बोकेको मानिस स्पष्ट चिनिन्थ्यो । पछि विसं २०६० सालबाट सर्वसाधारणको लागि प्रिपेड फोन आयो सुरुको समयमा प्रिपेड फोनको सिमकार्ड लिन टेलिकमको अफिसमा लाइन बस्नुपथ्र्यो । पहिलो पटक सिमकार्ड लिँदा १७ सय ५० रुपैयाँ तिर्नु पथ्र्यो केही वर्षपछि ११ सय ५० र छ सय ५० हुँदै एक सयमा वितरण हुनथाल्यो । आजभोलि यसको सिमकार्ड बजारमा जताततै पाउन थालियो मोबाइलका सेटहरू पनि सस्ता र आधुनिक प्रविधिअनुरूप विकास हुँदै गए । मोबाइल फोनले आज रेडियो, टेलिभिजन, टेलिफोन, हुलाक, क्यालकुलेटर, टर्च, घडीलगायत कापी, कलम किताब आदिलाई विस्थापित गर्दै लगेको छ ।

नेपालमा चालू आर्थिक वर्षको पहिलो आठ महिनामा सवा २६ अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुन मसान्तसम्म २६ अर्ब ३० करोड ५४ लाख हजार रुपैयाँबराबरका झन्डै ५० लाख थान मोबाइल फोन भित्रिएका छन् । कोरोना भाइरसको असरले स्कुल–कलेज बन्द भई अनलाइनमार्फत कक्षा सञ्चालन हुन थालेपछि मोबाइलको माग बढ्दै गएको हो । स्कुल कलेज गरी लगभग ९० लाखको हाराहारीमा विद्यार्थी संख्या रहेको र लकडाउनको समयमा अनलाइन कक्षामार्फत अध्ययन गर्नका लागि हरेक विद्यार्थीका लागि यो एक अनिवार्य आवश्यकता बन्न पुग्यो ।

विश्व बन्दाबन्दीले गर्दा भर्चुअल छलफलका लागि पनि यसको माग बढेको अनुमान लगाउन सकिन्छ साथै अवैध आयातमा पूर्णतः प्रतिबन्द लागेकाले पनि बजारमा मोबाइल फोनको माग बढेको व्यवसायी बताउँछन् । पहिले सरकारको नीतिगत असहजताको कारण घटेको मोबाइलको आयात यसै वर्षबाट सहजता भएसँगै बढेको देखिन्छ । लकडाउनले गर्दा मोबाइलको प्रयोग बढ्दै गएकाले पनि आयात झन्डै दोब्बर भएको हो । अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक मोबाइललगायत सम्पूर्ण सामग्रीको माग बढ्दै गएकोले यी वस्तुको आयातमा खर्चको अंश बढ्दै गइरहेको छ ।

आठ महिनाको अवधिमा सबैभन्दा धेरै चीनबाट १६ अर्ब ४२ करोड रुपैयाँबराबरका ४१ लाख २२ हजार सेट मोबाइल आयात भएको छ । त्यसैगरी भारतबाट आठ अर्ब ६० करोड रुपैयाँबराबरका छ लाख ४९ हजार सेट र भियतनामबाट एक अर्ब पाँच करोड रुपैयाँको मोबाइल फोन आयात भएका छन् । हालसम्म नेपालमा बेलायत, अमेरिका, यूएई, कतार, बहराइन, जापान, कोरियालगायत देशबाट पनि मोबाइल आयात भएको तथ्यांक छ ।

गत आर्थिक वर्षको पहिलो आठ महिनामा १४ अर्ब ३७ करोड रुपैयाँबराबरका झण्डै ३८ हजार थान मोबाइल सेट आयात भएको थियो । यो आर्थिक वर्षमा झण्डै दोब्बरले बढेर २६ अर्ब ३० करोड रुपैयाँको मोबाइल फोन सेट आयात भएको हो । यसै आवको आठ महिनामै राउटर खरिदका लागि नेपालबाट झण्डै डेढ अर्ब रुपैयाँ बाहिरिएको छ । पाँच लाख आठ हजार थान राउटर खरिदका लागि एक अर्ब ३३ करोड ७० लाख रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । यसै अवधिमा ७३ हजार पाँच सय थान स्मार्टवाच नेपाल आयात भएको जसको मूल्य १३ करोड १० लाख रुपैयाँ छ ।

कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि अनलाइन क्लास र अनलाइन क्रियाकलाप बढेपछि नेपालमा मोबाइल आयात बढेको व्यवसायीहरूले बताउँदै आएका छन् । चालू आवकै आठ महिनाको अवधिमा ३९ अर्ब ७५ करोड १९ लाख ५३ हजार रुपैयाँबराबरको विद्युतीय उपकरण आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा यो २७ प्रतिशत बढी हो ।

अघिल्लो वर्षको सो अवधिमा ४३ अर्ब ९१ करोड ४५ लाख छ हजार रुपैयाँको आयात भएको थियो । नेपालमा प्रतिमहिना औसत पाँच लाख मोबाइल सेट भित्रिन्छन् । यो हवाइ मार्ग र पैदल दुवै मार्गबाट भित्रिरहेका छन् । हवाइ मार्गबाट भित्रनेभन्दा अवैध मार्ग हुँदै भारतबाट भित्रने मोबाइल सेटहरू प्रशस्त छन । नेपालमा भित्रने कुल सेटमा ४० प्रतिशत मोबाइल अवैध मानिन्छन् यसै अवैध मोबाइलको प्रयोगबाट हुनजाने सामाजिक विचलन रोक्न यो सिस्टमको प्रयोग अपरिहार्य रहेको प्राधिकरणले बताएको छ ।

प्रायजसो चाडपर्वमा उत्साहजनकरूपमा बढ्ने माग यो वर्ष साउनबाटै तीव्ररूपमा बढ्यो । विशेषतः दशैँतिहारमा बढ्ने बजार यसवर्ष अहिलेसम्म चाडपर्वजस्तै उत्साहजनक रहेको पाइन्छ । कोभिडले बजारलाई शिथिल बनायो, अर्थतन्त्रमा नकरात्मक प्रभाव सिर्जना ग-यो तर मोबाइलको बजार भने उकासिँदै आइरहेको छ । आजका दिनमा मोबाइलको बजार उकासिँदै जानु मोबाइल व्यापार गरेर जिउनेकै लागि लाभदायक हुनसक्छ तर देशको अर्थतन्त्रको गतिविधिलाई यसले प्रभावित बनाइरहेको छ । यसको खपत नेपालमा जति बढ्छ त्यति नै नेपाली रुपैयाँ विदेशीन्छ जुन आयात गरेर देशको उत्पादन बढ्दैन भएको ढुकुटी रित्तिँदै जान्छ । यसको थप विस्तार र विकासका लागि प्रविधिमा गरिएको खर्च र यसले निर्माण व्यवस्थापनमा गर्न ढिलाइले नेपालले थप आर्थिक भार सहनु परिरहेको देखिन्छ । जसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालको ढुकुटीलाई क्षय गराइरहेको छ ।

मोबाइल आजभोलि आवश्यकताभन्दा पनि फेसनको रूपमा प्रयोग भइरहेको छ । औपचारिकरूपमा यसको सदुपयोगभन्दा अनावश्यकरूपमा यसलाई प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । यो वर्तमान समयको उत्कृष्ट प्रविधि हो यसको सदुपयोगमार्फत यसबाट फाइदा लिन सक्नुपर्छ । यसमा विश्व नै अटाएको छ तर विश्वका विकृति र विसंगतिको मात्र हिमायती बनियो भने यसले हामीलाई सामाजिक विचलनतर्फ लैजाने निश्चित छ यसबाट सचेत र होसियार बन्दै आवश्यक विषयवस्तुलाई ग्रहण गर्दा यसको महत्व बढ्दै जान्छ । यसका लागि सरकार कर असुलीकरणमा मात्रै नभएर यसको आयातमा उचित व्यवस्थापन, नियन्त्रण र नियमन गर्न तत्पर रहनु पर्दछ । (लेक्चरर अर्थशास्त्र) 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया