Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजटिल बन्दै गएका माक्र्स र सहज बन्दै गएका बुद्ध

जटिल बन्दै गएका माक्र्स र सहज बन्दै गएका बुद्ध


लक्ष्मण सिटौला

काठमाडौँ । जर्मनमा जन्मेका माक्र्सको तस्बिर आज हरेक नेपाली कम्युनिस्टको घर–घरमा छन्, अफिस–अफिसमा छन् तर बुद्धको तस्बिरचाहिँ छैन । बुद्धको बुद्धिले विश्वमा फैलाएको धार्मिक साम्राज्यतालाई आज चीनजस्तो शक्तिशाली मुलुकदेखि जापान, कोरिया, ताइवान, भियतनाम, म्यान्मार, कम्पोचिया, बैंककजस्ता देशहरूले बुद्धको सिद्धान्तलार्ई आत्मसात् गरेका छन् र तिनै देशले प्रगति पनि गरिरहेका छन् ।

सारा नेपालीका लागि बुद्ध मात्रै एक त्यस्ता व्यक्तित्व हुन् जो प्रामाणिकरूपमा मानव जुनी लिएर संसारभर आफ्नो ऐस फैलाउन सफल भए । बुद्धका अगाडि माक्र्स केही होइनन् । हामी नेपाली बुद्ध पाएर बुद्धु छौँ । बुद्ध हाम्रा हुन् । खै यो कुरो भन्न सकेको विश्वलार्ई हामीले । खै यो कुरा बुझाउन सकेको सारा जगतलार्ई हामीले ? अहिले यो देशमा बुद्ध सुतेका छन् । बुद्धलार्ई निन्द्राको गोली दिइएको छ ।

माक्र्स ब्युँझेका छन् । माक्र्ससँगै पवित्र बाइबल जागेको छ । आज नेपालीको गाउँ–गाउँमा बाइबल पश्चिमीहरूले लगाएको सेकेन्ड ह्यन्ड लुगाफाटो लिएर दौडिरहेको छ । अलिकति भातमा, अलिकति मासुमा, अलिकति सुखमा, अलिकति आराममा, अलिकति मादमा, अलिकति सपनामा, हामी सजिलोसँग बेचिदिन्छौँ आफ्नो स्वधर्मलार्ई ।हरेक देशको आफ्नो धार्मिक पहिचान हुन्छ । जस्तो पाकिस्तान पूर्ण इस्लामिक देश हो । मध्यपूर्वका कतिपय देशहरूको आफ्नो धार्मिक पहिचान छ । नेपालीको आफ्नो धार्मिक पहिचान छैन ।

एक्काइसौं शताब्दीमा केको धार्मिक पहिचान भनेर नेपाली सिंगै समाज अहिले अधार्मिकजस्तो देखिन थालेको छ । हाम्रा मौलिकताहरू नष्ट हुने क्रममा छन् । मन्दिरको स्थानमा चर्च उभिँदै छन् । पुराना दरबारहरू भत्किएर जीर्ण अवस्थामा छन् । नदीका किनारहरू भू–माफियाको कब्जामा छन्, यो देशको धार्मिकता पश्चिमाहरूको षड्यन्त्रमा सक्किने अवस्थामा छ । अरु कुरा त परै छोडौँ यो देशको कार्यकारी बस्ने बालुवाटार पनि कुनै एक व्यक्तिका नाउँमा दर्ता भैसकेको रहेछ । अबको केही वर्षपछि नेपाल घुम्न आउने विदेशी पर्यटकलाई हामीसँग देखाउनलायकको सार्वजनिक धरोहर केही पनि नरहन सक्छ । पायो भने मन्दिर पनि आफ्ना नाउँमा निजीकरण गर्छन् नेपालका घर जग्गा दलालहरूले ।

माक्र्सवादमा धर्म, जाति, भाषा, भूगोल र लिंगको वर्गीय रंग घुसाए नेपालका कम्युनिस्टहरूले । धार्मिक स्वतन्त्रताका नाउँमा आफ्नो आदिमता, आफ्नो प्राचीनता र पहिचान नै सिद्यादिने प्रपञ्चमा लागेका छौँ हामी । हो विज्ञानले धर्म मान्दैन । विज्ञानभित्रको सर्वोच्च ज्ञान पनि धर्मद्वारा परिपोषित सम्पोषित र निर्देशित हुन्छ । जर्मनमा जन्मेका माक्र्स एउटा राजनीतिका सूत्रधार हुन् तर बुद्ध जीवनकै सुत्रधार हुन् । माक्र्स कर्म ( काम)का सुत्रधार हुन्, बुद्ध शान्तिका सुत्रधार हुन् । बुद्ध मानव स्वतन्त्रताका अजेय क्रान्तिकारी हुन् । बुद्ध मौन छन्, जस्तो मौन छ महासागर । माक्र्स सर्वहाराका गुरु हुन्, युग युगान्तर यिनी लाल झण्डामुनि बाँचिरहने छन् । बुद्ध तिनै सर्वहारालार्ई बाँच्न अभिप्रेरणा दिने सर्वोच्च गुरु हुन् जसका बचनाद्वारा देशनाद्वारा पनि विश्वमा शान्तिको किरण मुस्कुराउँछ ।

अहिलेको नेपाली समाजले धनका लागि धर्म बेचिरहेछ । आफ्नो प्रगतिशीलताका लागि आफू जागरुक नहुने बरु आफूसँग भएको आफ्नो ईमान बेच्ने धर्म बेच्ने काममा सक्रिय भएर लागेका छौँ हामी । धर्म पनि नमान्ने कर्म पनि नगर्ने । धर्म र कर्म दुवैबाट मुक्त हुन खोज्दै छ अहिलेको पुस्ता । विश्वमा गरिबी रहेसम्म माक्र्स जीवित रहनेछन् । तर बुद्ध पृथ्वी रहेसम्म बाँचिरहने छन् । फरक यति छ माक्र्स र बुद्धमा । बुद्दलार्ई बुझ्न गाह्रो छैन । बुद्ध सजिला छन् । बुद्ध असाधारणमा साझा र साधरण छन् । बुद्ध एउटा बाटो हुन् सतपथका जहाँ तिमीले केवल हिँडिदिए मात्रै पुग्छ अरु केही गर्न पर्दैन । बुद्ध जति सहज सायद तिमी अगाडि उभिएको एउटा लाटो पहाड पनि छैन होला ।

बुद्धका उपदेशनालार्ई पछिपछिका उपबुद्दहरू (कौन्डन्य, सारीपुत्र, मौदगल्यान र महाकश्यप)ले जटिल बनाउदै गए । माक्र्स पनि सजिला हुन् उनको थ्यौरी सजिलो हो तर पछि अनेकनले (लेनिनवाद र ऐल्स) अनेकन पुछारहरू थप्दै गए । धेरै पुच्छर थपिदिएपछि एउटाले निर्माण गरेको बाटो आफैँ विदीर्ण हुन्छ । कालान्तरमा हामीले बुद्धलार्ई जटिल बनाउँदै लग्यौँ । अहिले माक्र्स पनि जटिल बन्दै गएका छन् । एउटा बाटोमा अरु धेरै बाटो घुम्ती जोडिएपछिको कन्द्रयुजन हो अहिलेको नेपाली कम्युनिस्ट राजनीति । सजिलोलार्ई जटिल बनाउन हामी सिपालु छौँ । गरिबी रहेसम्म बाच्ने कार्लमाक्स र जीवन रहेसम्म बाँचिरहने बुद्ध फरकचाहिँ यति मात्र हो ।

युग परिवर्तनसँगै कतिपय सिद्धान्त र विचारधाराहरू परिवर्तन हुन्छन्् । यसलाई समयले परिवर्तन गराउँछ । जुनसुकै विचारधारा पनि सार्वकालिक हँुदैनन् । भोगाइको अनन्ततासँगै यस्को अपरिसीमता क्षय हुन्छ । अर्थात् यो परिवर्तन हुन्छ । महाभारतको युद्धमा कृष्णले अर्जुनलार्ई कर्मका लागि उत्प्रेरित गर्दा पनि यही कुरा भनेका छन्– कि परिवर्तन अवस्यम्भावी छ र यसलाई सबैले स्वीकार्नुको विकल्प छैन । परिवर्तन स्वीकार गर्नु भनेको नै प्रगतिशीलता हो । जिन्दगीमा आउने उतारचढाव अनेकन चुनौती घुम्ती र अगाडि आएका विकल्पहरूमध्ये सहीलार्ई छानेर अगाडि बढ्नु नै प्रगतिशीलता हो । प्रगति परिवर्तनसँग सम्बन्धित छ ।

छब्बीस सय वर्ष अगाडिका बुद्ध र दुई सय वर्ष अगाडिका कार्लमाक्स मात्रै त्यस्ता युगिन व्यक्तित्व थिए जसका सिद्धान्त आजसम्म सार्वजनीन, सार्वकालिक, सार्वभौम र सर्वोच्च छन् । कार्लमाक्र्सलाई गरिब र सर्वहारा वर्गको देवदूतभन्दा कुनै आपत्ति छैन र बुद्धलार्ई शान्ति र अहिंसाका देवता भनेर आज विश्व समुदायले पुज्दै आएको छ । गुरुत्वाकर्षण सिद्धान्तका प्रतिपादक महान वैज्ञानिक सरआइजक न्युटन हुन् वा सूत्रधार आइस्टाइन हुन् तिनीहरूद्वारा प्रतिपादित सूत्र सिद्धान्त बरु परिवर्तन होला तर बुद्धद्वारा प्रतिपादन गरिएको शान्ति र अहिंसाको सिद्धान्त कहिले पनि परिवर्तन हँुदैन न माक्र्सको समाजवाद सिद्धान्त परिवर्तन हुन्छ । बुद्ध नेपाली हुन् ।

नेपाली हँुदाहुँदै पनि उनलार्ई हामीले जति सम्मान र आदर गर्नुपर्ने थियो त्यति गर्न नसकेकोमा दुःख लागेको छ । बुद्धलार्ई किन नेपाली नागरिकता दिन हामी पछि परिरहेका छौँ यो विषयले चर्चा पाउनु पर्छ । एसियाली देशका एउटा चम्किला तारा हुन् बुद्ध । संसारले बुद्ध बुद्धबुद्ध भनिरहेका बेला हामी बुद्ध जन्माउने देश नेपालचाहिँ किन बुद्धलार्ई ओझेलोमा थन्क्याएर क्रिश्चियानिटी भित्र्याउँदै छौँ यो बुझ्न सकिरहेका छैनौँ ।

जहाँ गरिबी त्यही क्रिश्चियन छाएका छन् नेपालका हरेक गाउँ बस्तीहरूमा । एक धार्नी आलु र दुई पोका चाउचाउमा स्वधर्म परित्याग गरी परधर्म अपनाउने नेपालीको संख्या बढिरहेको छ नेपाली समाजमा । जहाँ गरिबी व्याप्त छ धर्मको व्यापार त्यहीँ फैलाउँछ र त्यसको फाइदा लिन्छन्् धर्मका व्यापारीहरूले ।

नेपालका बुद्धलार्ई नेपालीले पाउँदा गौरव नै गर्न सकेको छैन । सायद यही भएर पनि होला बुद्ध बेलाबेलामा चर्चामा आइरहने । कहिले मोदी स्वयम् भन्दिन्छन् भगवान बुद्ध भारतका हुन् । कहिले धार्मिक गुरु दलाइ लामा भन्दिन्छन् बुद्ध भारतका हुन् । उनी आफैँ बुद्धमार्गी हुन् र पनि भारतको नुन खाएसी भारतकै पक्षमा नबोली सुखै छैन । जब बुद्धलार्ई अरुले मेरो भनी दाबी गर्छ, हामी नेपालीहरूलार्ई रिस उठ्छ ।

तर अरुबेला त हामी चुपचापले बस्छौँ नि । बुद्ध त हाम्रा अंशियार हुन्, हाम्रा रगत हुन, हाम्रा वंशज हुन, हाम्रै नेपाली माटोका हकदार हुन् । फेरि पनि बुद्ध हाम्रो माटोबाट कसैले चोरी गर्न खोज्दै छ किनभने बुद्ध हाम्रै भैकन पनि अंश नदिएर हेला गरि उमेर नपुगी छुट्टै गरिखा भनी हेला गरेको एउटा छोराजस्तै बनाएका छौँ । माक्र्स झड्केलो छोरा धेरै प्यारो। बुद्ध आफ्नै छोरालार्ई हेलाँ गरिएको छ । हो यही भएको छ अहिलेको नेपाली समाजको परिवेश ।

माक्र्स दिनदिनै जपिन्छन् । दिनदिनै सजिन्छन्, दिनदिनै भजिन्छन् तर बुद्ध चुपचापले लुम्बिनीमा मात्रै आफ्नो बिरासत कुरिरहेछन् । बुद्धको देश भनेर आफूलाई चिनाउन चाहँदैनन् कम्युनिस्ट । अहिले धार्मिकतामा बन्देज लगाइएको छ । रास्ट्रपति हिन्दु धर्मावलम्बी भएको नाताले कुनै मठ मन्दिरमा पूजा गर्न जाँदा पनि हिन्दुइतर समाजले विरोध जनाइरहेका हुन्छन्् । कम्युनिस्टको कुनै जात र धर्म हुँदैन भन्ने मान्यता पनि छ । पछि कम्युनिस्टको कुनै देश पनि हुँदैन भन्ने मान्यता पनि हुनसक्छ । सर्वहाराका सर्वोच्च कमान्डर माक्र्सले पनि यही कुरा उठाउनुभएको छ कि यो संसारबाट सबै सीमानाहरू हट्नुपर्छ कुनै दिन । सिमाहीन राज्यको परिकल्पना कति सार्थक होला त्यो भविष्यले नै बताउँला । बरु भगवान बुद्धले चाहिँ छब्बीस सय वर्षअगाडि सिमाहीनताको कुरा उठाउनु भएको रहेछ किनभने उनको शिष्यले आज सिंगो पृथ्वीको आधा पाटो ढाकेको छ ।

नेपालका कम्युनिस्टहरूले बुद्धलार्ई भन्दा कार्लमाक्सलाई महत्व दिन्छन्् तर बुद्धका विचारहरू, कार्लमाक्सका भन्दा कम क्रान्तिकारी छैनन्, कम शक्तिशाली छैनन् । माक्र्स आफँैले धर्मलार्ई अफिम भनेका छन् । बुद्ध कुनै धर्मका गुरु होइनन् । बुद्ध धर्मका उन्नायक हुन् । बुद्धले कुनै धर्म सिकाएका छैनन् । उनी मात्रै शान्ति र अहिंसाका विद्यार्थी हुन् । जिन्दगीको उकाली ओराली धाउँदा धाउदा मानिस धपेडी र थकाइले थकित हुन्छन् । त्यही थकान धपेडी, असिनपसिन, भय र व्याकुलतालाई बिर्साउने देवदूत हुन् बुद्ध । भय र भुक्तताको तथागत यात्रामा बुद्ध मात्रै एउटा सितल चौतारी हुन् जहाँ पुगेपछि मनुष्य केही बेरका लागि सुस्ताउँछ आराम गर्छ शान्ति अनुभूति गर्छ । बुद्ध त्यही हुन् घनघोर उकालीमा मिलेको एउटा अनमोल सितल चौतारी ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया