Techie IT
×
गृहपृष्ठविचारकोरोना महामारीको बुझाइ र यथार्थ

कोरोना महामारीको बुझाइ र यथार्थ


काठमाडौं ।
सन् २०१९ डिसेम्बरमा चीनमा देखापरेको कोरोना भाइरस डिजिज आज विश्व महामारीको रूपमा देखापरेको छ । हाल विश्वका सानाठूला गरेर दुई सय २२ वटा देशमा यस महामारीले आफ्नो प्रभाव फैलाइरहेको छ । विश्वका हरेक राष्ट्र आक्रान्त छन् । विश्व नै लगभग बन्दाबन्दीको अवस्थामा छ । आर्थिक क्रियाकलापले पहिलो र दास्रो लगडाउनपछि केही गति लिइरहेको थियो पुनः तेस्रो बन्दाबन्दीले लगभग शून्यताको अवस्थामा पु-याउने निश्चित छ । यसले अर्थतन्त्रलाई धराशायी बनाउँदै मानिसहरूमा त्रास फैलाइरहेको छ । तर नेपालको सन्दर्भमा कोभिड–१९ ले देशको अर्थतन्त्र शिथिल त बनायो नै साथै व्यवसायीहरूको बिचल्नी र आम नागरिकलाई गरिबीतर्फ धकेलिरहेकोले मानिसहरूमा दिनानुदिन चिन्ता थप्दै लग्यो ।

कोरोना महामारीको यथार्थ : आजका दिनसम्म विश्वमा लगभग १६ करोड ६५ लाख मानिस यो रोगबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १४ करोड ७३ लाखले स्वास्थ्यलाभ गरे भने लगभग ३४ लाख ५८ हजारको हाराहरीमा मानिसहरूले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म नेपालमा पनि कुल चार लाख ९७ हजारको हाराहारीमा संक्रमित छन् भने छ हजार २४ जनाले ज्यानै गुमाइसकेका छन् ।

दोस्रो चरणको कोरोना भाइरस बढी हानिकारक र विषेशतः बालबालिका र जवानलाई बढी असर गर्ने भन्दै यस वर्गका मानिसलाई सतर्क रहन आवह्वान गरिएको छ । यसबाट एसियाली मुलुक भारत धेरै प्रभावित बनिरहेको छ । यसविरुद्धको भ्याक्सिन बनाएर प्रतिस्पर्धात्मक व्यापारको होडबाजी चल्यो तर त्यसले कुनै रोकथाम गरेको र गर्नसक्ने स्थिति देखिएको छैन ।

यस महामारीबाट बढी क्षति संयुक्त राज्य अमेरिकाले व्यहोरिरहेको देखिन्छ । अवश्य नै यस महामारीले विश्वमा आर्थिक मन्दी ल्याउने निश्चित छ । यसको साथै भोकमरीले विश्वलाई जर्जर बनाउनेछ । आजका दिनमा विश्वलाई आर्थिक मन्दीले भन्दा पनि भोकमरीले बढी आक्रान्त बनाउने देखिन्छ । विश्व नै कोभिड–१९ ले प्रभावित छ । नेपाल विश्वमा एक अतिकम विकसित मुलुक हो यसको चश्माबाट हेर्दा यस महामारीले आर्थिक विपन्नता त ल्याउँछ नै मानवीय जर्जता पनि उत्तिकै ल्याउने देखिन्छ

अहिले विश्वको लगभग सात अरब ८० करोडभन्दा बढी जनसंख्या कोभिड–१९ बाट त्रसित छ । विश्वको आर्थिकस्तरमा बलिया राष्ट्र अमेरिका, ब्राजिल, रसिया, इटाली, भारत फ्रान्स, स्पेनलगायतका राष्ट्रहरू यस रोगबाट बढी प्रभावित भएको देखिन्छ । यस्ता राष्ट्रहरूमा देखिएको विपत्तिले औद्योगिकीकरण घट्ने र विश्वकै अर्थतन्त्रमा ठूलो क्षति हुने आकलन अर्थविज्ञहरूले गर्दै आइरहेका छन् । लगानी घट्ने, उत्पादन घट्ने, रोजगारी घट्ने हुनाले मुद्रास्फीति हुने देखिन्छ । निजी क्षेत्रहरू शिथिल हुन्छन्, सरकारी क्षेत्रको ठूलो धनराशि कोरोना नियन्त्रण र व्यवस्थापनमा खर्च हुनेछ ।

अधिकांश श्रमिकहरू बेरोजगार बन्नेछन्, ज्यालाको दर घट्ने छ र मानिसहरूको सीमान्त उपभोग प्रवृत्ति (एमपीसी) बढ्छ्, बचत झिनो हुन्छ तसर्थ लगानी लगभग शून्य हुनपुग्छ । यसले विश्वलाई प्राकृतिक कृषि प्रणालीमा लाग्न बाध्य बनाउन सक्ने देखिन्छ । अनावश्यक आधुनिकीकरणले पु-याएको क्षति घट्न गई स्वच्छता र स्वस्थताको वातावरण सिर्जना नहोला भन्न पनि सकिँदैन । यसरी हेर्ने हो भने मानवीय सचेतीकरणको कारण स्वच्छता र स्वस्थताका जीवन जिउने अवसर पनि बन्न सक्छ । यसले विश्व बन्धुत्व र भाइचारा सिर्जित भई राष्ट्र राष्ट्रहरूबीच रहेको बेमेल, द्वन्द्व नष्ट हुने र हामी सबै समान भन्ने भावना मुखरित हुनसक्ने देखिन्छ ।

वाणिकवादको चरम स्थितिले मानिसहरू पकृतिवादतर्फ उन्मुख हुने सम्भावना भयो भने मानिसहरूमा सामाजिक एकता बढ्छ । यसले वस्तु आयातमा रमाउने परम्परालाई तोड्दै स्वउत्पादनमा निर्भरहुने वातावरण सिर्जना गर्नसक्छ ।

वास्तवमा अहिले विश्वको अर्थतन्त्र शिथिल बन्दा सामान्य मानिसको जीवनस्तर जर्जर बन्दै गइरहेको छ । यो महामारी अझै यो वर्ष पनि रह्यो भने अर्थतन्त्र लगभग ध्वस्त नै हुनसक्ने स्थिति देखिन्छ । यस अवस्थाबाट पार पाउन आयातलाई निश्चितीकरण गर्दै स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिनुपर्ने हुन्छ ।

अर्थतन्त्र, ढल्यो भने परनिर्भर हुनुपर्ने स्थिति देखापर्दछ, जसले स्वदेशी प्राकृतिक स्रोतसाधनको विलय गराउँछ । नागरिकको अस्मिता गुम्छ, गरिबीले डेरा जमाउँछ, देशमा अपनत्व हराउँछ । यदि अन्य देशलाई खतम गरेर आफ्नो अर्थतन्त्र बलियो बनाई विश्वमा राजगर्ने सपनाले यो काम गरिएको भए त्यो अत्यन्त घृणित, निन्दनीय काम हो ।

आफ्नो स्वार्थका लागि विश्वका त्यति धेरै मानिसहरूको बलिदानी गराउनु आफैँ विलय हुने चेष्टा हो । निर्दाेष आत्माहरूलाई सकेर महाराज बन्ने सपना देख्नु घरमा आगो लगाएर पाटीमा आश्रय लिनुसरह हो । अबका दिनमा यस्ता बहसलाई छाडेर बाँचौँ र अर्थतन्त्रको सबलीकरणउन्मुख काममा लागौँ । रोग आयो भन्दैमा खुट्टा तानिहाल्नुपर्ने जरुरी छैन । सचेत हौँ सचेत गराऔँ ।

कोभिड–१९ ले सिर्जना गरेको सामाजिक बुझाइ : समाजमा सामाजिक न्यायविपरित काम गर्दा मुख छोपेर हिँड्नु पथ्र्यो आज उसै मुख छोपेर हिँड्नुपरेको छ । आखिर हामीले मानवीय धर्म त बिर्सेका होइनौँ ? पशुलाई बाली नबिगारी आफ्नो बाटो हिँडाउन मुखमा फुङला (महला) लगाइन्थ्यो आज उसै मानिसले पो मुखमा फुङला लगाउनुपरेको छ । आखिर हामीले प्रकृति बिर्सेर सामाजिक चेतना नष्ट गरेका त होइनौँ ? जंगली हिंस्रक जनावरबाट डराउनेपर्ने ठाउँमा आज मानिसबाट मानिस डराउनुपरिरहेको छ ।

हामी कतै हिंस्रक त बनिरहेका छैनौँ ? समानरूपमा सबैलाई संक्रमित गराउने कोरोना भाइरस रोग प्रजातान्त्रिक महामारी पो रहेछ । जतिखेर पनि हात धोइरहनुपर्ने, सत्कर्म नगरेर फोहोर भएको त होइन ? एक ठाउँबाट अर्को ठाउँमा जान नपाइने, हामीसँग राम्रा विचार छैनन्, गलत विचार फैलन्छ भनेर त होइन ? आखिर कोरोना के हो ? कृष्णले गीतामा जबजब धर्म नष्ट हुँदै जान्छ म धर्मको संरक्षण गर्न पृथ्वीलोकमा आइरहन्छु । म कुनै न कुनै रूपमा पृथ्वीलोकमा घुमिरहेको हुन्छु भनेका छन् । आखिर कोरोना त भगवानकै प्रतिमूर्ति पो हो कि के हो ?

आज कोरोना भाइरस डिजिजबाट आक्रान्त विश्वलाई जोगाउन, जोगिन हामी सबैको भूमिका महत्वपूर्ण छ । क्रोध, लोभ, मोह, राघ, द्वेष सबैलाई त्यागेर आत्मासात् गर्ने हो भने कोरोना भाइरस डिजिज नियन्त्रण हुने निश्चित छ । यसै स्थितिमा हुनजाने अनियमितता, स्वार्थ आदिले मानवीय संवेदना हराउँछ र अर्थतन्त्र लङ्गडो बन्छ । यसले विश्वमा चरम गरिबी र भोकमरी ल्याउने सम्भावना देखिन्छ । तसर्थ कोरोनाको भन्दा पनि भोकमरीको महामारीले विश्वलाई झनै तहसनहस बनाउनसक्ने अवस्था सिर्जना हुनसक्छ । यसलाई आवश्यक व्यवस्थापन गर्न हामी सबैमा लगनशीलता, कर्तव्यनिष्ठता, नियमितता, सदाचारिता जागृत हुनुपर्ने देखिन्छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया