Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबिग्रँदो वातावरण र हाम्रो जीवन

बिग्रँदो वातावरण र हाम्रो जीवन


काठमाडौं ।
वातावरणप्रति सचेत हुन, स्वच्छ वातावरणमै मानव जीवन सम्भव छ भन्दै संसारको ध्यानाकर्षण गर्दै वातावरण दिवस वर्षेनी मनाउने गरेको पनि धेरै वर्ष भइसकेको छ । जैविक विविधताको संरक्षणबाटै हाम्रो जीवन जीवन्त हुने प्रेरणा मिल्ने गरी हरेक वर्ष मे २२ लाई जैविक विविधता दिवसको रूपमा हेर्ने गरिएको होस् या जुन ५ भनौं जेठ २२ मा हरेक वर्ष विश्व वातावरण दिवस मनाउँदै गर्दा पनि यी दुबैको लक्ष्य प्राप्तिमा हामी धेरै पछि पर्दै गएको र मानव जीवन झन् झन् संकटमा परेको तथ्य हालैको अनियन्त्रित कोरोना प्रभावबाट पनि पुष्टि हुन्छ भने यसै वर्ष नेपालको मौसम संसारकै खतरा सूचीमा रहेको यहाँको वायु प्रदूषणले उग्र रूप लिएको बारे हामी कोही अनभिज्ञ छैनौँ ।

जैविक संरक्षण हुनुपर्ने बागवानी क्षेत्रमा यहाँ प्रहरी सुरक्षाका क्याम्पहरू खडा गरिन्छन्, कतिपय यस्ता संरक्षित स्थानहरू व्यापारिक केन्द्रका रूपमा रहन पुग्छन् भने विगत चार दशकमा राजनीतिक परिवर्तनसँगै अन्न बाली, फलफूल, तरकारी, पशुपन्छीका रैथाने प्रजातिहरू यहाँबाट विस्थापित भएका छन् । यस्ता बीउबिजनमाथि अन्य देशहरूले पेटेन्ट राइट लिन थालेका छन् । हाम्रै भूमिको जडीबुटी, तरकारीहरूको बीउमा छिमेकीहरूले पेटेन्ट राइट भनौँ पैत्रिक अधिकार प्राप्त गर्दै छन् ।

हाम्रा कृषियोग्य भूमिमा लहडबाजीमा स्थानीय सरकारहरू डोजर कुदाउने भएका छन् भने दीर्घ सोचविना नै भएका अव्यवस्थित सहरीकरण, अव्यवस्थित बसोबास, उच्चगतिको बसाइसराइ, वन फँडानी र अन्धाधुन्न सडक, बाटाघाटाहरूको विस्तारले वातावरणमा व्यापक चुनौतीहरू देखा पर्दै छन् । कृषियोग्य भूमिमा गाडी कुध्न थालेका छन् ।

नेपालकै मौलिक उब्जनी तोरी, गहुँ, केराउ, मुसुरो, कोदो, मकै, फापर, जौको उत्पादन नाममात्रको हुनथालेको छ, तोरीको अभावमा पछिल्लो पटक खाने तेलको मूल्य अकाशिएको छ । त्यस्तै अन्य बालीहरूको कमीले खाद्य संकट भइरहेको स्थिति असाधारण भइसकेको छ ।

मासु उत्पादनमा आत्म निर्भर भनिए पनि कालिज, ट्राउट माछाका अण्डा अमेरिका, युरोपबाट आयात हुनेगरेको छ, हाइब्रिड बीउ र कृत्रिम गर्भाधानले हाम्रै किसानका बीउबिजनमाथि नैसर्गिक अधिकार गुम भएको, बहु राष्ट्रिय कम्पनीहरूको बोलवाला बढेको विज्ञहरूको भनाइ छ । लामो समयदेखि खानाको मुख्य वस्तु चामल विदेशबाट आयातमै भर पर्नुपरेको र वर्षेनी व्यापारघाटा उच्च हुँदै आउँदा पनि न हामीले यसबारे चिन्ता लियौँ न सरकार यतातिर ध्यान दिन्छ । देशमा विज्ञहरू नभएका होइनन् तर दिन पर दिन हाम्रो जीवन उल्टो दिशातिर घुमिरहेको छ ।

वातावरणीय क्षेत्रमा जनचेतनाको वृद्धि, संस्थागत दरिलो प्रबन्ध, विषादिहरूको सुरक्षित बिसर्जन, राष्ट्रिय महत्वका सम्पदाको संरक्षण, ध्वनि, वायु र जलप्रदूषणमा कमी, सहरी क्षेत्रका नदीहरूको प्रदूषण न्यूनीकरण र वातावरणसम्बन्धी महासन्धिहरूको कार्यान्वयन हुने पूर्ण उपलब्धि हासिल हुने गरी तय भएका हाम्रा धेरै योजनाहरू अधुरै रहे ।

अतीतको तुलनामा वातावरणीय समस्या भने झन्झन् जटिल बन्दै छ । काठमाडौँ उपत्यकामा बढ्दै गएको प्रदूषण, विश्व सम्पदा सूचीमा रहेको वाग्मती नदीमा विगत पैँतीस वर्षदेखि नै जलचरहरू नपाइनु, अन्य सहायक नदीहरू विष्णुमती, टुकुचा, धोवीखोला, मनहरा, बल्खु, नख्खु, गोदावरी, हनुमन्ते, साङला, कोड्कु खोला समेत प्रदूषणले भरिनु हाम्रा लागि थप समस्याका विषयहरू हुन् । नेपालको नीति जल, जंगल, जमीनप्रतिको चासो, जलवायु परिवर्तन प्रभाव न्यूनीकरण एवं जैविक विविधता संरक्षण र यसकोे अपार भण्डारको संरक्षण हो तर व्यवहारतः परिणाम भने सकारात्मक छैन ।

हाम्रो मुलुकले दर्शाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, वातावरणसम्बन्धी सन्धि, महासन्धिलाई अनुमोदन गर्दैै दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै आएको हो । वातावरण निर्देशिका २०५३, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ कार्यान्वयन हुँदै आएको हो । सहश्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेण्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता दिइएको भनिन्छ । स्थानीयस्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षातर्फ प्राथमिक तहदेखि विश्व विद्यालयस्तरसम्म शिक्षाको पठनपाठन चालू भएर राष्ट्रियस्तरका उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट भएका देखिन्छन् ।

वतावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूको कार्यान्वयन गर्ने क्रममा जलवायु परिवर्तनसम्बन्धी महासन्धिअनुरूप राष्ट्रिय सूचनाहरू तय गर्ने, मरुभूमीकरणसम्बन्धी महासन्धि कार्यान्वयन स्थितिको राष्ट्रिय प्रतिवेदन तयार गर्ने कार्यदेखि ओजोन तह संरक्षणसम्बन्धी महासन्धि कार्यान्वयनका सन्दर्भमा ओजोन तहलाई विनाश गर्ने वस्तुहरूको पैठारीमा रोक र यस्ता पदार्थको उपयोग नियन्त्रण नियमावली २०५७ समेत कार्यान्वयन हुँदै आएको भनिन्छ । तर हाम्रो मुलुकमा भएको जथाभावी वनफँडानी, अव्यवस्थित बसाइ सराइ, अवैज्ञानिक एवं परम्परागत पद्धतिमा आधारित कृषि प्रणाली, अव्यवस्थित र अवैज्ञानिक सहरीकरण, सहर केन्द्रित जनघनत्व, बाढी, पहिरो र आगजनीको समस्या थपिँदै छ ।

आधुनिक प्रविधिको अभाव, प्रकोपको सम्भावित क्षेत्रको नक्सांकन गर्न नसकिएको, आवासीय उच्च भवनहरू निर्माण गर्दा न्यूनतम आवश्यक मापदण्ड तय हुन नसकेका समस्याहरू यथावत् छन् । काठमाडौँको धुवाँ, धुलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरूको अवस्था हेर्दा जोकोहीलाई पीडा र छट्पटाहट् हुनु स्वाभाविक हो ।

कोरोनाले लामो समय सवारीसाधनको चाप सडकमा नपर्दा मात्र वायु प्रदूषणको तोकिएको मात्रामा तालमेल हुनखोज्नु आफैँमा चुनौती हुँदै हो । उपत्यका वरिपरिका बस्तीमा पनि पानीको मुहान सुकेको छ, ग्रामीणभेगी जनताको जीवनसमेत कष्टकर बनेको छ । सहरीक्षेत्रमा अधिक रूपमा सञ्चालन भइरहेका पुराना थोत्रा गाडीहरू र तिनले फाल्ने विषाक्त धुवाँका कारण जीवन अति कष्टकर छँदै छ ।

पूर्वाधार विकास, स्थानीय सरकारका बजेटका कारण सडक ढलान हुँदै आउन थालेका छन् । सिमेन्ट, ढल आदिको कारण आकाशबाट परेको पानी पनि जमीनले सोस्न सक्ने अवस्था छैन । धर्तीको दोहन भएको छ, पिउने पानी, अन्य प्रयोजनका लागि पानीको माग बढेको छ, अब मेलम्चीको पानीले काठमाडौँलाई नधान्ने भइसकेको छ ।

जमीनमुनिको पानी पनि विषाक्त बनिसकेको छ । जलचर, वनस्पति र अक्सिजन नपाइने पानी प्रयोगयोग्य हुँदैन । यहाँको पानीमा सामान्यतया एक लिटर शुद्ध पानीमा एक दशमलव पाँच मिलिग्रामसम्म एमोनिया रहेको पाइएको छ । जसको कारणले महामारी, कडा रोग, झाडापखाला आदिको समस्या झन् थपिने देखिएको छ । सामान्यतया पिउनयोग्य एक लिटर पानीमा सात–आठ मिलिग्राम अक्सिजन हुनु जरुरी छ तर उपत्यकामा बग्ने नदीहरूको पानीमा अक्सिजनको मात्रा शून्य प्रायः छ, जुन प्रयोगमै छैन ।

नदीहरूको नाम अब ढलमती भएको छ । ब्राजिलपछिको विद्युतीय ऊर्जा स्रोत पानीमा विश्वमै दोस्रो स्थान ओगटेको नेपालमा असंख्य नदीनालाहरू छन् । तर पनि अत्यधिक विद्युत्को लोडसेडिङ तथा पिउने पानीको संकट यहीँ धेरै छ । राजनीतिले बाटो लिन नसक्दा अन्य नीतिहरूले पनि बाटो समात्न सकेको देखिँदैन ।

काठमाडौँ उपत्यकाका सबैजसो वितरित पानीको शुद्धता परीक्षण गर्ने हो भने प्रदूषण मिसिएको नै पाइन्छ । विषाक्त प्रदूषणकै कारण सहरबजारमा अत्यधिक बिक्रीवितरण हुने तरकारी एवं फलफूलका कारण पनि यहाँका मानिसहरूले आफ्नो आयु क्षीण गरिरहेका छन् । कृषिबालीको विविधता पनि गुमिसकेकाले आगामी दिनमा खाद्य संकट पनि चरम सीमामा पुग्ने कुरामा दुई मत छैन ।

जलवायु परिवर्तका कारण जैविक प्रजातिमाथि थप संकट पैदा हुनथालेको छ, पानीका स्रोत, जीव प्रणाली र मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको छ । तराइको ६० मि उचाइदेखि हिमाली हिमरेखा सम्मको वनस्पति तथा जैविक विविधतामा असर पुगेकोे छ, फलस्वरूप फल फल्ने, फूल लाग्ने, पात झर्ने समयमा परिवर्तन देखा पर्दै छ भने होचो ठाउँमा हुने वनस्पति अग्ला ठाउँतिर पाइन थालेका छन् । जैविक प्रजातिका दृष्टिले विश्वको शून्य दशमलव शून्य शून्य तीन र एसियाको शून्य दशमलव तीन प्रतिशत भू–भाग नेपालले ओगटेको छ । तराईको समथर क्षेत्र ६० मिटरदेखि सर्वोच्च शिखर सगरमाथा एक सय ९३ माइलसम्म र पूर्व–पश्चिम आठ सय ८५ माइल भू–भाग रहेको नेपालमा पाँच किसिमको भौगोलिक वातारण छ ।

त्यस्तै ३५ किसिमको वनक्षेत्र, १३ किसिमको हावापानी, दुई सय आठभन्दा बढी प्रजातिका जनावर, आठ सय ७८ प्रजातिभन्दा बढी चरा, एक सय ४३ भन्दा बढीका सर्प भ्यागुता, एक सय ८५ प्रजाति बढीका माछा, छ सय ४० बढी प्रजातिका पुतली, पाँच हजार एक सय ६० बढी प्रजातिका फूल फूल्ने र नफूल्ने वनस्पतिले गर्दा जैविक विविधताको प्रचुर सम्भावना छ यहाँ । यहाँको इको सिस्टम संसारकै भन्दा पृथक छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमसम्म लमतन्न फैलिएको झण्डै तीन हजार किमि भू–भागमा सधैँ सेता हिमाल देखिन्छन् भने दक्षिणतिर फैलिएका समथर जमीन त्यसबीचमा पर्ने पहाड, खोला, थुम्का, उपत्यका, पतझर र कोणधारी जंगलले गर्दा मुलुकको शोभा थप रमणीय छ ।

फलस्वरूप विश्वमान चित्रमै नेपाल सुन्दर रहेकाले विश्वकै लागि पर्यटकीय स्थल पनि बन्न पुगेको छ । विविध हावापानी र विविध जाति प्रजातिका जीवजन्तुको बासस्थान रहेका हाम्रो मुलुकको सौन्दर्यमा विगत केही सयम यतादेखि नकारात्मक परिदृश्यहरू देखापर्न थालेका छन् । शून्य दशमलव शून्य आठ डिग्रीका दरले तामक्रम वृद्धि हुनजानाले हिमालमा हिउँ कम भएको र समग्र नेपालमा वार्षिक शून्य दशमलव छ प्रतिशतले तापमान वृद्धि हुन जानाले हिमाली क्षेत्र र अन्य क्षेत्रमा गतिविधिहरूमा असर पर्न गएको छ ।

विश्वमा पाइने १० हजारथरी माछामध्ये करिब दुई प्रतिशत अर्थात् एक सय ८७ थरी र विश्वमा पाइने १२ हजार छ सय ५० हर्पेटमध्ये करिब दुई प्रतिशत अर्थात् एक सय ९५ थरी नेपालमै पाइन्छ । पुतली, माकुरा प्रजातिका लागि पनि नेपाल नै अग्रस्थानमा छ । नेपालमा रहेका असंख्य खोलानाला, नदी, तलाउ, हरियाली डाँडा, पाखा, थुम्का, भीर, पहाड, समथर भू–भाग, हिमाल, गल्छी, उपत्यका आदिका कारण विविध वातावरणीय प्रणालीका बहुसंख्यक जीवजन्तुको सङ्मगमस्थलभन्दा हुन्छ नेपाललाई ।

त्यति मात्रै होइन विश्वकै दुर्लभ एकसिंगे गैंडा, लोपोन्मुख अवस्थाका पाटेबाघहरू, शुद्ध अर्ना, हिम चितुवाहरूदेखि हाब्रेसम्मका जीवजन्तुहरू पनि यहीँ छन् । विश्वमै दुर्लभ चराहरू, माछा, सर्प र मुसाहरू पनि यहीँ पाइन्छन् । यही क्षेत्रबाट वातावरण संरक्षणको अभियान सुरु गर्नु पर्ने र विश्वलाई नै स्वच्छ वातावरणको सन्देश दिइनुपर्नेमा राजनीति दुर्गन्धित भएझैं वातावरण पनि दुर्गन्धित हुँदै जानाले सबैको मनमा चिन्ता बढ्नु स्वाभाविक हो । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया