Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाल भ्रमण वर्ष सफल पार्ने उपाय

नेपाल भ्रमण वर्ष सफल पार्ने उपाय


निनाम कुलुड. ‘मंगले’
गत जनवरी १ देखि २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ सुरु भएको छ । ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका थिए । यसअघि सन् १९९८ र सन् २०११ म क्रमशः ‘नेपाल भ्रमण वर्ष–१९९८’ र ‘नेपाल पर्यटन वर्ष–२०११’ मनाएको थियो । सो बेला नेपाल आउने विदेशी पर्यटकको संख्या क्रमशः ५ लाख र १० लाख पु-याउने, उद्देश्य लिइएको थियो । तर, ती दुवै वर्ष क्रमशः ४ लाख ६३ हजार चानचुन र ७ लाख चानचुन विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए ।

त्यसो त नेपालमा १ सय ४ वर्षे जहानीयाँ राणा शासनको अन्त्यसँगै आएको राजनैतिक परिवर्तनपछि मात्रै विदेशी पर्यटकका लागि नेपाल खुल्ला भयो । सो राजनैतिक परिवर्तनसँगै नेपालमा औपचारिक रुपमा विदेशीहरुले भ्रमण गर्न पाउने नियम लागू भयो । त्यो बेला सूचना र सञ्चारको क्षेत्रमा बेपत्तैसँग प्रगति भएको थिएन । त्यसमाथि पनि वि.सं. २००७ देखि २०१४/०१५ सम्म नेपालमा बनेको सरकार पनि स्थिर थिएन । त्यसैले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा राम्रोसँग बजारीकरण भएन ।

यसरी हेर्दा वि.सं. २००७ सालमा आएको राजनैतिक परिवर्तनपछि विस्तारै विदेशीहरुका लागि नेपाल भ्रमण गर्न खुल्ला गरियो । त्यो बेला विदेशीलाई नेपाल भ्रमण गर्न खुल्ला गरिएको वा अनुमति दिन थालिएको भए पनि विदेशीहरुका लागि नेपालमा अस्थायी रुपमा खान र बस्नका लागि होटल, लज आदिको व्यवस्था थिएन । विस्तारै यस्तो व्यवस्था काठमाडौं उपत्यकामा सुरु भयो । तर, उपत्यकाबाहिरका लागि त्यस्तो केही व्यवस्था थिएन । त्यस्तै काठमाडौं उपत्यका सहरभन्दा बाहिर जानका लागि हवाइ तथा सडक यातायात लगायत पूर्वाधार विकासमा पनि त्यो बेला नेपाल धेरै पछि थियो । त्यसैले वि.सं. २००७ देखि वि.सं. २०१५/०१६ साल (सन् १०५९/६०) बीचको संक्रमणकालीन अवस्थासम्म नेपालमा अपेक्षित रुपमा विदेशीहरु पर्यटकको रुपमा भ्रमण गर्न खासै आएनन् ।

तत्कालीन राजा महेन्द्रले वि.सं. २०१७ सालमा राजनैतिक कू गरेपछिको सुरुताका भने केही विदेशीहरु आफैं अघि सरेर नेपालमा पर्यटन व्यवसाय गर्नतिर लागे । त्यसरी नेपालमा पर्यटन व्यवसायमा लाग्नेहरुमा बेलायती, जर्मन, जापानी, अष्ट्रेलियन, स्विस, रुसी, फ्रान्सेली आदि विदेशी नागरिकहरु थिए । यसरी हेर्दा नेपालको पर्यटन प्रवर्द्धन गर्नमा सुरुका दिनमा विदेशी नागरिकहरुले महत्वपूर्ण योगदान गरेको देखिन्छ । साथै नेपालको पर्यटनबारे विश्वव्यापी प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्न पनि विदेशीहरुबाटै सुरु भएको हामीले स्वीकार्नुपर्ने हुन्छ । निश्चय नै ३० वर्षे पञ्चायतकालमा पर्यटन व्यवसाय चकाचक थियो भन्ने कदापि पनि होइन ।

अनि नेपालको समग्र पर्यटनबारे तथ्य र तथ्यांक हेर्ने हो भने तत्कालीन श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ मा उल्लेख भएअनुसार नेपालमा विदेशीहरुलाई खुल्ला गरेयता सन् १९६२ सम्ममा ६ हजार १ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् १९६२ देखि सन् १९६६ बीचको ४ वर्षमा १२ हजार ५ सय ६७ जना विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका थिए ।

त्यस्तै १९६६ देखि १९७० सम्मको ४ वर्षे अवधिमा ४५ हजार ९ सय ७० जना, १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरुले नेपालमा पर्यटकको रुपमा भ्रमण गरेको तथ्यांक देखिन्छ ।

वि.सं. २०४६ (सन् १९८९/९०) मा नेपालमा भएको दोस्रो राजनैतिक परिवर्तनपछि भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको संख्या वार्षिक लाखको दरले लगातार उकालो चढेको देखिन्छ । तर, यो क्रम धेरै लामो समयसम्म कायम रहन सकेन । जे भए पनि तत्कालीन श्री ५ को सरकारले सन् १९९८ मा पहिलोपटक नेपाल भ्रमण वर्ष मनाएको थियो । सो वर्ष ५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको दैनिक खर्च प्रतिव्यक्ति प्रतिदिन ४५ अमेरिकी डलर पु-याउने, नेपाल आउने विदेशी पर्यटकको बसाइ अवधि १२ दिन पु-याउने लगायतका लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइए पनि सो वर्ष घोषित कुनै पनि लक्ष्य पूरा भएन । सो वर्ष ४ लाख ६३ हजार ६ सय ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे ।

बरु सन् १९९९ मा भने ४ लाख ९१ हजार ५० सय ४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । तर, सो संख्या सन् २००० मा घटेर ४ लाख ६३ हजार ६ सय ४६ जनामा झ-यो । सन् २००१ मा नेपाल आउने विदेशी पर्यटक घट्ने क्रम बढेर ३ लाख ६१ हजार २ सय ३७ जनामा झ-यो । त्यस्तै सन् २००२ मा लगभग आधा घटेर २ लाख ७५ हजार ४ सय ६८ जनामा झ-यो ।

सन् १९८९-९० मा परिवर्तनसँगै आएको प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटन विकासका लागि ठोस र खासै गर्व गर्नलायक काम गरेन भन्न सकिन्छ । त्यो बेलाको सरकारले पर्यटन क्षेत्रमा देखिने गरी गरेको काम भनेको ‘नेपाल पर्यटन बोर्ड’को गठन एक थियो । जे होस्, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुले गर्ने दैनिक खर्च र, उनीहरुको नेपाल बसाइ अवधि बढ्न नसक्नुलाई भने हामीले दुःखद नै मान्नुपर्ने हुन्छ । त्यसैले हामीले नेपाल आउने विदेशी पर्यटकहरुको टाउका (संख्या) मात्रै गन्ने कि, उनी नेपाल बस्दा वा रहँदा गर्ने दैनिक खर्च र नेपाल बसाई अवधिमा पनि सुधार ल्याउनेतर्फ सोच्ने ?

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६, २०१७ र २०१८ मा लगातार बढी रहेको भए पनि उनीहरुको समग्र नेपाल बसाइ अवधि र उनीहरुले नेपाल बसेको समयमा गर्ने गरेको दैनिक खर्च भने माथि नै उल्लेख भए झैँ बढ्दो क्रममा होइन कि घट्दो क्रममा रहेको देखिन्छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, उनीहरुले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने सन् २०१७ को तुलनामा १८ प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०१७ मा औसतमा एक जना विदेशी पर्यटकले आफ्नो नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर दैनिक खर्च गरेको देखिन्छ भने सन् २०१८ मा एक जना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ ।

सुन्दा तितो लागे पनि नेपाल ‘वेस्ट टुरिस्ट’ (जताभावी फोहोर गर्ने, प्राकृतिक वातावरण बिगार्ने, संस्कार, संस्कृति नष्ट गर्ने)हरुका लागि स्वर्ग बन्दै जाने देखिन्छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसरमा नेपाल आउने विदेशी पर्यटकमध्ये कुन खालका पर्यटकलाई प्राथमिकता दिने ? यो पंक्तिकारको विचारमा उच्च आय भएका र मन फुकाएर जति पनि खर्च गर्न सक्ने, मध्यम खालका तौलेर खर्च गर्ने र, खत्तम खालका वा थैली कसीकसी खर्च गर्ने ! तीनैखाले विदेशी पर्यटकलाई हामीले उत्तिकै महत्व दिनुपर्ने हुन्छ । किनकि, हामीलाई संख्याको पनि जरुरत छ ।

अन्त्यमा कुरो नचपाई भन्नुपर्दा जसले जे भने पनि यो वर्ष (नेपाल भ्रमण सन्–२०२० मा) नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या २० लाख पुग्नेमा भने यो पंक्तिकारलाई मात्रै नभएर स्वयम् नेपाल सरकार, तालुकवाला पर्यटनमन्त्री, सरकारी अधिकारीहरु, भ्रमण वर्षका संयोजक, निजी क्षेत्रका पर्यटन व्यवसायी लगायत सबैलाई शंका छ । हुन पनि हालै अध्यागमन स्रोतलाई उल्लेख गर्दै केही मिडियामा आएको पछिल्लो समाचारअनुसार सन् २०१९ मा अघिल्लो वर्ष (सन् २०१८) को तुलनामा १.७ प्रतिशतले मात्रै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढेको छ ।

अर्थात् सन् २०१८ मा ११ लाख ७३ हजार चानुचन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा ११ लाख ९४ हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । हुन त यो संख्यामा सडक मार्गबाट नेपाल भित्रिएका विदेशी पर्यटकहरुको संख्या नजोडिएकाले सडक मार्गबाट नेपाल भित्रिएका विदेशी पर्यटकसमेत जोड्दा कम्तीमा १३ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरे होलान् भनी अनुमान गर्न सकिन्छ ।

यसरी हेर्दा सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउनका लागि नेपाल आउने विदेशी पर्यटकको संख्या ८०–९० प्रतिशतले बढोत्तरी हुनुपर्ने देखिन्छ । यसका लागि नेपालसँग एउटै उपाय छ, छिमेकी देशहरु भारत र चीनलाई विशेष आग्रह गरेर उनीहरुका नागरिकहरुलाई ह्वार–ह्वार्ती नेपाल भ्रमणमा पठाउन आग्रह गर्ने ! अन्यथा नियमित ढंगले आउने विदेशी पर्यटककै संख्यालाई आधार मानेर हेर्दा सन् २०२० मा कुनै पनि हालतमा २० लाखको संख्या नपुग्ने पक्का छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया