Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलको मूल्य ४० डलर माथि ओपेकले उत्पादन कटौती जारी राख्ने

कच्चा तेलको मूल्य ४० डलर माथि ओपेकले उत्पादन कटौती जारी राख्ने


अमेरिका, जेठ २७
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४० डलर माथि उक्लिएको छ । तीन महिनामा पहिलोपटक वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटीआई)को प्रतिब्यारेल मूल्य ४० डलर माथि पुगेको हो । तेल निर्यातक राष्ट्रहरुको समूह ओपेक र यसका मित्रराष्ट्रहरुले तेल उत्पादन कटौती थप समयसम्म जारी राख्ने सहमति गरेको र साउदी अरेबियाले दुई दशकयताकै तेल मूल्य वृद्धि गरेपछि बजारमा कच्चा तेलको मूल्य बढेको हो । ओपेक र यसका मित्रराष्ट्रले प्रतिदिन १ करोड ब्यारेल तेल कटौती थप १ महिनासम्म लम्ब्याएका छन् । जुलाई अन्त्यसम्म तेल उत्पादनमा कटौती हुनेछ । आपूर्ति र मागलाई सन्तुलनमा राख्न तेल उत्पादन कटौती गरिँदै आएको छ ।

उक्त तेल कटौतीको परिमाणले विश्व आपूर्तिको १० प्रतिशत हिस्सा ओगट्छ । फक्स बिजनेसका अनुसार अमेरिकी बेन्चमार्क डब्लुटीआई २.२५ प्रतिशतले बढेर ४०.४४ डलर प्रतिब्यारेल पुगेको छ । त्यस्तै अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको ब्रेन्ट क्रुड १.२३ प्रतिशतले बढेर ४२.८२ डलर प्रतिब्यारेल पुगेको छ । पछिल्लो समय विश्व महामारीका कारण विश्वभर गरिएको लकडाउन खुकुलिँदै गएपछि तेलको मूल्य पनि बढ्नथालेको छ ।

लकडाउनका कारण ३ करोड ब्यारेल प्रतिदिन तेल माग घटेको थियो । साउदी अरेबिया र रुसले उत्पादन जारी राखेपछि बजारमा तेलको मूल्य ह्वात्तै घटेको थियो । दुई देशबीच तेलको मूल्य युद्ध नै चलेको थियो । तर पछि दुवै देशले कटौतीको लागि सहमत भएका थिए । एकपटक तेलको मूल्य अमेरिकामा ऋणात्मक नै हुनपुगेको थियो । त्यसयता भने निरन्तर तेलको मूल्यमा सुधार हुँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया