Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंवैधानिक अङ्गको दुरूपयोग

संवैधानिक अङ्गको दुरूपयोग


संवैधानिक अङ्गका पदाधिकारीले पनि आफ्नो पदीय मर्यादाविपरीत राजनीतिक दलका नेताहरूले जस्तो भाषाण ठोकेर ताली खान सुहाउँदैन । नसुहाउने काम नगरे राम्रो हुनेथियो । तर, यस्तो सुझाव उनीहरूलाई राम्रो लाग्दैन र उही क्रम दोहो-याइरहन्छन् । सरकारका मन्त्री र नेताहरू भाषण गर्न जहाँ पनि जान्छन्, भाषाण ठोक्छन्, हिँड्छन् । उनीहरूले बिहानदेखि बेलुकासम्म गरेका भाषणमा एकले अर्को भाषणको खण्डन गरिरहेको समेत भेउ पाउँदैनन् ।

नेताहरू कार्यक्रम आयोजक र सहभागी स्रोताको मनोभाव बुझेर भाषण गर्दछन्, ताली खान्छन् र जान्छन् । उनीहरूलाई आफ्नो भाषणले जनतामा कस्तो प्रभाव पार्छ र त्यसले राज्यसत्तालाई के दखल पर्छ भन्ने पनि हेक्का हुँदैन । स्रोताले पनि त्यति धेरै गम्भीररूपमा लिँदैनन्, नेता हो, बोल्यो भन्नेकै गर्व गर्छन् । उसले बोलेअनुसार काम हुने कुरामा विश्वास पनि गर्दैनन् । विपक्षीलाई कति घोचपेच ग-यो त्यसैमा रमाउँछन् । तर, त्यही रूपमा संवैधानिक अङ्गका पदाधिकारीले भाषण गर्दै हिँडने हो भने कस्तो होला, अनुमान गर्न पनि सकिँदैन । तर, हाम्रो मुलुकमा नेता र संवैधानिक अङ्गका पदाधिकारीबीच विभेद गर्न सकिने अवस्था रहेन ।

गत ६ गते आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आईक्यानले आयोजना गरेको छलफल कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भाषण गरे । अर्थमन्त्री डा. युवराज खतिवडालगायतले गरेको भाषणभन्दा कमजोर भाषण गरेका उनले सबै लेखापरीक्षकहरूलाई एउटै टोकरीमा हालेर वित्तीय ठगी र भ्रष्टाचारमा लागेको आरोपसमेत लगाए । उनी त्यो नियन्त्रण गर्ने निकायको प्रमुख हुन् । त्यसरी वित्तीय ठगी र भ्रष्टाचारमा संलग्न भएकै भए पनि उनीहरूलाई कारबाही गर्ने निकायको पदाधिकारीले त्यसरी ललकार्नु राम्रो होइन । त्यसमा पनि सार्वजनिकरूपमा सबैलाई भ्रष्टाचारी भन्नु पनि राम्रो होइन । कारबाही गर्ने अङ्गको प्रमुखले नै त्यसरी भाषण गर्दा भ्रष्टाचार गरेकै व्यक्ति भए पनि भाग्ने मौका प्रदान गरेजस्तो हुन्छ । भ्रष्टाचारीलाई भगाएर कारबाहीको दायरामा आउन नदिनु पनि आफैँमा भ्रष्टाचार हो ।

संवैधानिक निकायका पदाधिकारीहरूले आफ्नो पदीय मर्यादाको ख्याल नराख्दा समाजमा एक–अर्काको भिन्नता छुट्ट्याउन अफ्ठ्यारो पर्दै गएको छ । यसले समाजलाई निष्प्राण भीडजस्तो बनाइदिएको छ । अख्तियार प्रमुखको उदाहरण मात्रै हो, अरु संवैधानिक निकायका पदाधिकारीले पनि यस्तै गर्ने गरेका छन् भने सबैले अब आफूलाई विनाहिचकिचावट सच्याउनु पर्दछ । यसमा विलम्ब गर्नु हँदैन । यसरी सिङ्गो समाजलाई धम्क्याउने, तर्साउने अधिकार उनीहरूलाई छैन । यो भ्रष्टाचार रोक्ने र सुशासन कायम गर्ने विधि पनि होइन, यो दम्भ स्वार्थबाट प्रेरित भएकाले यो बन्द हुनुपर्दछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x