Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसन् २०२८ सम्ममा चीन विश्वकै ठूलो अर्थतन्त्र

सन् २०२८ सम्ममा चीन विश्वकै ठूलो अर्थतन्त्र

भारत पनि सन् २०३० सम्ममा तेस्रो ठूलो अर्थतन्त्र बन्ने


वेइजिड. ।
एसियाली राष्ट्र चीन सन् २०२८ सम्ममा अमेरिकालाई उछिनेर विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने अनुमान प्रक्षेपण गरिएको छ । यसअघि पनि यस्तो अनुमान गरिएको थियो तर यसअघि गरिएभन्दा पाँच वर्षअघि नै चीनले यस्तो सफलता पाउने देखिएको बीबीसीले जनाएको छ ।

बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च (सीईबीआर) ले कोभिड १९ को प्रतिकूल समयमा रचनात्मक तरिकाले नियन्त्रण गर्दा युरोप र अमेरिकाभन्दा चीनले राम्रो आर्थिक वृद्धिदर हासिल गर्ने जनाएको छ । त्यस्तै अर्को एसियाली राष्ट्र भारत पनि सन् २०३० सम्म विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ ।

सीईबीआरले हरेक वर्ष डिसेम्बर २६ मा इकोनोमिक लिग टेबल सार्वजनिक गर्ने गर्छ । कोभिड १९ ले सुरुमै चीनमा संक्रमण गरे पनि उसले राम्ररी यसको व्यवस्थापन गर्नसकेको थियो । उसले सुरुमै कडा लकडाउन र अन्य कार्यमा समेत गरेको कडाइले दोस्रोपटक अन्य देशमाजस्तो पुनः कडाइ गर्नुपरेन । यसले गर्दा आर्थिक गतिविधिहरू अहिले सामान्य अवस्थामा फर्किनथालेको छ । परिणामतः सन् २०२० मा आर्थिक मन्दी खेप्नुपरेन । यो वर्ष चीनको आर्थिक वृद्धिदर २ प्रतिशत हुने अनुमान गरिएको छ ।

तर अमेरिकी अर्थतन्त्र भने कोरोनाले चौपट पारिदिएको छ । अमेरिकामा भाइरसका कारण ३ लाख ३० हजार जनाभन्दा बढीको मृत्यु भएको छ भने १ करोड ८५ लाख जनामा संक्रमण भेटिएको छ । मौद्रिक नीति र ठूलो आकारको राहतका कारण अर्थतन्त्र जोगिए पनि अहिले फेरि राहत प्याकेजलाई लिएर राजनीतिक मतभिन्नताहरू देखिएका छन् । नयाँ राहत प्याकेज नआउने हो भने १ करोड ४० लाख अमेरिकीहरू बेरोजगारी सुविधाबाट वञ्चित हुन सक्नेछन् ।

महामारीपछि अमेरिकी अर्थतन्त्र १.९ प्रतिशतले वृद्धि हुनसक्ने रिपोर्टले देखाएको छ । तर यो पनि सन् २०२२/०२४ पछि मात्रै हासिल हुनसक्ने वृद्धिदर हो । त्यसपछि झनै सुस्त हुँदै १.६ प्रतिशत वृद्धिदर हासिल हुनेछ । तर यता चिनियाँ अर्थतन्त्र भने सन् २०२५ सम्म वार्षिक ५.७ प्रतिशतको गतिमा वृद्धि हुनेन अनुमान गरिएको छ । त्यसपछि वार्षिक रुपमा सन् २०२६–२०३० अवधिमा साढे चार प्रतिशतले वृद्धि हुनेछ ।

सन् २००० मा विश्व अर्थतन्त्रमा चिनियाँ अर्थतन्त्रकोा हिस्सा ३.६ प्रतिशत मात्रै रहेकोमा अहिले यस्तो हिस्सा १७.८ प्रतिशत पुगिसकेको छ । सन् २०२३ मा नै चिनियाँ अर्थतन्त्र उच्च आय हुने अर्थतन्त्र बन्ने रिपोर्टमा उल्लेख छ । महामारीको यथोचित व्यवस्थापनले मात्र नभई चीनले उन्नत उत्पादनसम्बन्धी उद्योगहरूलाई लक्ष्य गरेर ल्याएको नीतिनिर्माणले पनि अर्थतन्त्रलाई राम्रो योगदान मिलेको रिपोर्टले अनुमान गरेको छ ।

यसबाहेक रिपोर्टले ब्रेक्जिटपछिको बेलायती अर्थतन्त्र सन् २०२१ देखि २५ सम्म ववार्षिक ४ प्रतिशतले र त्यसपछिको पाँच वर्ष १.८ प्रतिशतले मात्रै वृद्धि हुने अनुमान प्रक्षेपण गरेको छ । सन् २०१९ मा बेलायतलाई उछिन्दै पाँचौँ ठूलो अर्थतन्त्र बनेको भारतमा पनि महामारीले नराम्रो प्रभाव पार्दा त्यो स्थान गुमाएको छ । अब फेरि सन् २०२४ सम्म भारतले उक्त स्थान हासिल नगर्ने रिपोर्टको प्रक्षेपण छ । तर भारतले सन् २०२७ सम्ममा जर्मन अर्थतन्त्रलाई पछाडि पार्ने र सन् २०३० मा जापानलाई समेत पछि छोड्ने रिपोर्टले प्रक्षेपण गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया