Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता…अनि, प्रधानमन्त्रीको विश्वास मैले कसरी गर्ने ?

…अनि, प्रधानमन्त्रीको विश्वास मैले कसरी गर्ने ?


बीएण्डसी मेडिकल कलेजको सम्बन्धनको विषयलाई लिएर अहिले बजारमा निकै बहस चर्चा चुलिएको छ । कलेजका कार्यकारी निर्देशक प्रसाईंले चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सम्बन्धनको विषयलाई जोडेर आफूसँग २० करोड रकम घुस मागेको सार्वजनिक रुपमा बाहिर ल्याइदिएपछि यो विषय अझ झन् चर्चाको शिखरमा पुगेको छ । तत्कालीन सरकारले नै २०६८ सालमा पूर्वाञ्चलमा मेडिकल कलेज सञ्चालनको लागि लाइसेन्स दिएको र सोहीबमोजिम भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएर पनि सम्बन्धन नपाएको गुनासो प्रसाईंले गर्दै आएका छन् । कलेज सञ्चालनको लागि आफूले बैंकसँग छ अर्बभन्दा माथि ऋण लिएर लगानी गरेको र अहिले आएर सरकारले सम्बन्धन दिन आनाकानी गर्दा आफू मर्कामा परेको उनको भनाइ छ । उनले सरकारसँग यस विषयमा बारम्बार वार्ता, संवाद र हारगुहार गरे पनि सुनवाइ नभएपछि आफू यो तहमा उत्रिनुपरेको उनको भनाइ छ ।

मेडिकल कलेज सञ्चालन र सम्बन्धनको विषयलाई जोड दिँदै चिकित्सासम्बन्धी विधेयक २०७५ संसद्बाट बहुमतले पारित भएको तर त्यसको मर्मविपरीत सम्बन्धन नदिएको आरोप प्रसाईंले लगाएका छन् । सम्बन्धनको विषयसँग नाम जोडिएका उपाध्यक्ष गिरीविरुद्ध प्रसाईंले शैक्षिक योग्यता, अकूत सम्पत्ति र घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी समेत दायर गरेका छन । गिरीविरुद्ध अब केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र अदालतमा पनि मुद्दा दिने तयारीमा रहेको उनको भनाइ छ । यिनै विषयमा केन्द्रित रहेर प्रसाईंसँग आर्थिक दैनिकका लागि रामहरी चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड रकम घुस मागेको आरोप लगाउनुभयो तर त्यो आरोपको तपाईंले पुष्टि गर्नुसक्न भएन । उहाँले पनि त्यसमा सत्यता नरहेको भन्दै खण्डन गर्नुभयो नि ?

मैले त्यो कुराको पुष्टि गरिसकेँ त ! त्यही भएर त सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरेको हो । घुस मागेको ठोस प्रमाणसहित उजुरी दिएको छ । अब उनले गरेको त्यो गल्ती र अकूत सम्पत्तिको छानबिन सम्बन्धित निकायले गर्नुपर्छ र सत्यतथ्य कुरा बाहिर ल्याउने जिम्मा अब ति निकायहरुको हो ।

तपाईंले उपाध्यक्ष गिरीले २० करोड घुस मागेको आरोप लगाएकै दिन उनले त्यो वाहियात कुरा भएको भन्दै उल्टै खण्डन गरिसकेका छन्, तपाईंले उनीविरुद्ध उजुरी दिनु कति जायज छ त ?

म आफैं भिक्टिम हुँ, त्यसकारण म नै यथेष्ट प्रमाण छु । कुनै पनि मुद्दाको साँचीलाई प्रमाण मानिन्छ । त्यसैले यो केसमा मै नै साँची प्रमाण हुँ । घुस रकम त मसँग नै मागेको हो नि उनले ।

उनले तपाईंसँग घुस मागेको प्रमाणित हुने आधारहरु के छन्, त्यो त हुनुप-यो नि हैन र ?

म पत्रकार होइन, उनले घुस मागेको र बोलेको कुरा रेकर्डिङ गर्दै हिँड्नलाई । मलाई त्यो कुराको रेकर्ड गर्ने अधिकार पनि छैन । तर उहाँले जे कुरा मसँग गर्नुभयो, त्यो कुराको बेलीविस्तार मैले बाहिर ल्याइसकेको छु । उहाँ आफैंले भनिसक्नुभएको पनि छ, एउटा ठाडो कागज लिएर आएको थियो । त्यसपछि पनि उहाँले यस विषयमा विभिन्न किसिमका थप कुरा बाहिर ल्याइसक्नुभएको पनि छ । कहिले– एकपटक भेटेको भन्नुहुन्छ, कहिले तीन पटक भेट भएको भनेर मिडियामा बोल्नुभएको छ । उहाँले यो विषयमा दिनप्रतिदिन कुरा फेरिरहनुभएको छ । यसबाट नै धेरै कुराको पुष्टि भइसकेको छ ।

अर्को कुरा गिरीको उपाध्यक्ष हुनको लागि योग्यता नै पुगेको रहेनछ । उनी ढाँटेर त्यो पदमा पुगेका रहेछन् । शिक्षा क्षेत्रमा सुुधारको माग गर्दै पटक–पटक अनशन बसेका डा. गोविन्द केसीले योग्यता नपुगेका गिरीलाई उपाध्यक्षमा लैजानुहुँदैन भनेर त्यो बेला बोलेका पनि थिए । उनको हरेक सर्टिफिकेटले उनलाई अयोग्य ठह-याइसकेको छ । यस्तो विवादित व्यक्तिलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षजस्तो गरिमामय पदमा पु-याउनु नै गलत थियो र रहेछ । चिकित्सासम्बन्धी विधेयकलाई अहिले आएर विवादमा पारियो र आयोगले केही पनि गर्न सक्दैन भन्ने स्थितिमा पु-याउने काम भएको छ ।

सरकारले विश्वास गरेर नियुक्ति दिएको मानिसलाई तपाईंले अयोग्य भनेर कसरी प्रमाणित गर्न सक्नुहुन्छ ?

सरकारले नियुक्त त ग-यो । तर उहाँ त्यो पदको लागि योग्य हुनुहुन्न भनेर त उहाँको सर्टिफिकेटहरुले नै बताइरहेको छ नि ! ०६९ सालदेखि आजसम्मका प्रमाणहरु बुझ्दा तिनै कागजपत्रहरुले मैले बोलेका कुराहरुको पुष्टि गर्दैन र ? ती कागजपत्र मैले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको पनि छु । उनले नियुक्तिको उपयुक्त र सक्कली कागजपत्र मात्र पेश गरेका रहेछन् । उनले त्यसबेला पेश गरेका प्रमाणपत्रबारे मिडियाहरुले त्यति बेला पनि कुरा उठाएका रहेछन् । उनी उपाध्यक्ष पदको लागि योग्य छैनन् र योग्यता पनि पुग्दैन भनेर समाचारहरु बाहिर आएको रहेछ । यो विषयलाई सरकारले किन गम्भीरतापूर्वक लिएन भन्ने कुराले आशंका जन्माएको छ । कि त मिडियाले बाहिर ल्याएको त्यो बेलाको समाचार गलत, हावादारी र असत्य थियो भनेर सरकारले भन्न सक्नुप-यो ।

उपाध्यक्ष गिरीको नियुक्ति गलत थियो र सरकार यस विषयमा चुकेको हो भन्न खोज्नुभएको हो ?

यस विषयमा सरकार चुकेको पक्कै हो । चिकित्सा आयोगको उपाध्यक्षजस्तो गरिमामय पदमा योग्यता नपुगेका गिरीको नियुक्ति हुनुमा सरकार फसेकै हो । जसको योग्यता नै पुग्दैन रहेछ त्यस्तो व्यक्तिलाई कुन आधार र प्रमाणपत्रको आधारमा ल्यायो भन्ने विषयको रहस्य बाहिर आइसकेको छ । चिकित्सा आयोगको उपाध्यक्ष बन्नका लागि कम्तीमा ३० वर्ष चिकित्सा क्षेत्रमा काम गरेको र एमडी गरेको हुनुपर्ने कानुनी प्रावधान छ । तर उनले यो कुनै प्रावधान पूरा गरेका छैनन् र उनको एमडीको सर्टिफिकेट नै छैन ।

त्यो कुराको छिनोफानो गर्ने काम तपाईंको नभए र सरकारको सम्बन्धित निकायको हो र उसैले गरिहाल्छ नि ?

यो कुराको जानकारी सरकारलाई होस् भनेर नै मैले अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी पनि दिएको हुँ । यस विषयमा आजसम्म उनका विरुद्ध कसैले पनि उजुरी दिने आँट गरेका रहेनछन् । उनको शैक्षिक योग्यता र सर्टिफिकेटसहित छानबिन होस् भनेर मैले प्रमाणसहित उजुरी दिएको छु ।

उपाध्यक्ष गिरीको योग्यता पुगेको छ कि छैन भनेर हेर्ने र छानबिन गर्ने काम त सरकारको हो र सम्बन्धित निकायले प्रमाणित नगरी तपाईंले भन्दैमा उनी अयोग्य हुनुहोला त ?

उनी अयोग्य भएको प्रमाण बाहिर आइसकेको छ । छानबिन गर्ने निकायले यिनै प्रमाणलाई त हेर्ने हो नि ! मैले ति सबै विषयको प्रमाणलाई एकै ठाउँमा राखेर उजुरी दिएको छु । छानबिन गर्ने निकायले सत्य, असत्य के हो त्यो कुरा बाहिर ल्याइदेओस् । त्यसमा मेरो कुनै आपत्ति छैन।

तपाईंले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि मलाई विश्वास लागेन भनेर आरोप पनि लगाइरहनुभएको छ, त्यसको कारण के हो ?

वर्तमान सरकार र त्यसका प्रमुख नेताहरुको काम गराइ र भनाइबाट म अहिले विश्वस्त हुन सकिरहेको छैन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले ०७४ मंसिर २ गतेजस्तो लाग्छ, मलाई के भनेर आश्वासन दिनुभएको थियो भने घोषित निर्वाचन सम्पन्न भएपछि अबको दुई महिनामा नेकपाको सरकार बन्छ । त्यसपछि तपाईं बीएण्डसी मेडिकल कलेज सम्बन्धनको लागि फाइल बोकेर आउनुहोला भन्नुभएको थियो । तर उहाँ प्रधानमन्त्री भएको पनि आगामी फागुन ३ गते दुई वर्ष पुग्छ । खोइ त मेरो काम गरेको ? अनि मैले प्रधानमन्त्री ओलीज्यूको बोलीको विश्वास कसरी गर्ने ?

यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो कि भएन ?

किन नगर्नु, बारम्बार गरेँ । तर पनि मेरो काम आजसम्म पनि भएको छैन ।

आवश्यक कागजपत्र नपुगेर रोकिएको होला नि त, उहाँहरुकै कारणले गर्दा हो र ?

सम्बन्धन दिनका लागि प्रधानमन्त्री ओली र प्रचण्ड दुवै जना सकारात्मक हुनुहुन्थ्यो । तर अहिले आएर रोक्ने काम चिकित्सा आयोगले नै गरेको हो । पूर्वाधार पनि सबै पूरा भइसकेको छ । कागजपत्र पनि सबै पूरा गरेको छु । अहिले आएर आयोगले पैसा माग्यो, मैले दिन सकिन, त्यसपछि रोकिएको हो । मैले पु-याउनुपर्ने सबै प्रक्रिया पूरा गरिसकेको छु । पु-याउन बाँकी छ भने आयोगले भनोस् न, म पूरा गर्न तयार छु ।

सम्पूर्ण प्रक्रिया पूरा भएर पनि सम्बन्धन नपाउनुमा राजनीतिक पहुँच वा पैसाको खेल केलाई प्रमुख कारण मान्नुभएको छ तपाईंले ?

राजनीति पहुँच यहाँभन्दा के पुग्नु ? मेरो विचारमा पैसाको पहुँचकै कारण रोकिएको हो । मैले गर्नुपर्ने सबै प्रक्रिया पु-याएको भनेर मैले माथि पनि बताइसकेँ । नेताहरुले दिएको आश्वासनको विषयमा पनि बारम्बार मेरो भनाइ मिडियामार्फत बाहिर ल्याएकै छु । मैले गर्नुपर्ने सबै कसरत गरिसकेको छु । कतैबाट काम नभएपछि म मिडियाको शरणमा आएको हो । मेरो अर्बौँ लगानी भइसक्यो, त्यो लगानी जोगाउनको लागि अहिले म लडेको हुँ । मैले सरकारबाट न्याय नपाएपछि मिडिया र अदालत गुहार्न पुगेको हुँ ।

मेडिकल कलेजको नाममा अहिलेसम्म कति रकम लगानी गर्नुभयो ?

आजसम्म मेरो छ अर्ब लगानी भइसकेको छ । मेडिकल कलेजको लागि सम्बन्धन नदिने हो भने मेरो लगानी राज्यले नै लेओस्, म हाँसी हाँसी दिन पनि तयार छु । हो, सरकारले यो कुराको निर्णय दिन नसकेपछि म अदालतमा जान लागेको हुँ । त्यसपछि आदलतले जवाफ देला नि त!

उपाध्यक्ष डा. गिरीसँग तपाईंको व्यक्तिगत रुपमा कुनै इगो र दुश्मनी छ र ?

होइन, उनीसँग मेरो कुनै व्यक्तिगत रिसइबी, इगो र दुश्मनी छैन । व्यक्तिगत रुपमा हाम्रो बीचमा चिनाजानी पनि छैन र थिएन । कामकै सिलसिलामा हाम्रो भेटघाट आयोगमा भएको हो ।

उपाध्यक्ष गिरीले तपाईंलाई द्वारिकाज होटमा बोलाएर पैसा मागेपछि यो कुरालाई नेकपामा हाइकमाण्डका नेताहरुलाई जानकारी गराएको बताउनुभएको छ, वास्तविकता के हो ?

मैले यो कुराको जानकारी राजनीतिक दलका शीर्ष नेतृत्वलाई त्यही बेलामा गराइसकेको छु । अझ भन्नुपर्दा प्रमुख राजनीतिक दलकोे टप लेबलमा नै जानकारी दिएको छु । अब तपाईंहरु नै बुझ्नुहोला त्यसभन्दा माथि जानकारी गराउने ठाउँ नै छैन ।

राजनीतिक दल र नेतृत्व तहबाट कस्तो किसिमकोे प्रतिक्रिया वा रेस्पोन्स पाउनुभयो त ?

मेरो काम जानकारी गराउने हो, त्यो मैले गरेँ । उहाँहरुबाट जवाफभन्दा पनि हामी यस विषयमा बुझ्दै छौं भन्नुभएको छ, के बुझिरहनुभएको छ, त्यो कुरा उनीहरुले नै जानून् र बुझून् । कति समय लगाएर बुझ्नुहुन्छ त्यो कुरा उहाँहरुलाई नै सोध्दा राम्रो होला ।

राजनीतिक दलका नेताहरुको जवाफ नआईकन तपाईंले त मुद्दा दायर गर्न किन हतार गरेको हो ?

म यो मामिलामा पीडित छु । म कति दिन तड्पिएर हिँड्ने ! मैले कतैबाट न्याय पाइन ।

अदालत जानुको कारण अब सरकारसँग कुराकानी गर्नुको कुनै अर्थ छैन भन्ने तपाईंको निष्कर्ष हो, अब सरकारसँग तपाईंको कुनै माग र गुनासो छैन ?

मैले माथि बताइसकेँ नि ! सरकारले नै निर्णय गरेर मलाई पूर्वाधार बनाउनको लागि स्वीकृति दिएको हो । मलाई सरकारले लाइसेन्स दियो । त्यसपछि मैले सम्पूर्ण प्रक्रिया पूरा गरेँ । तर सम्बन्धन दिने काम गरिएन । जो कसैलाई यो अवस्थामा पु-याएर यस्तो व्यवहार गरियो भने के हुन्छ ? तपाईं आफैं सोच्नुहोस् त ! बनाउन स्वीकृति दिने र अनि चलाउन नदिने काम राम्रो भएन । मुलुकभित्र जन्मिएको नागरिकलाई नागरिकता दिइएन भने के हुन्छ ? यस विषयमा राज्यले सोच्नुपर्छ कि पर्दैन । अहिले मलाई सरकारले यस्तै व्यवहार गरिरहेको मैले महसुस गरिरहेको छु । सरकारको यही रवैयाका कारणले गर्दा म लडाइँ लडन बाध्य भएको हो ।

आयोगका उपाध्यक्ष गिरीले त तपाईंलाई ‘अपराधी’को संज्ञा दिएका छन्, किन उनले त्यस्तो आरोप लगाएका हुन् ?

उद्योग, कलकारखाना, मेडिकल कलेज सञ्चालन गर्नेहरुलाई किन त्यस्तो आरोप लगाउँछन्, यो कुरा उनीहरुले नै जानून् । यो प्रश्न उनलाई सोधेको भए राम्रो हुने थियो । उपाध्यक्ष श्रीकृष्ण गिरीज्यूले अनौपचारिक रुपमा मसँग भेट्दिन भन्नुभयो भन्ने कुरा मैले पनि सुनेको छु । यसैगरी मलाई अपराधी पनि भन्नुभएछ । उहाँले मलाई त्यस्तो आरोप किन लगाउनुभयो ? थाहा छैन । म कुनै अपराधी पृष्ठभूमिबाट आएको पनि होइन र तस्करीको काम पनि गरेको छैन । जुवातास खेलाएर, दुई नम्बरी धन्दा गरेको छैन र हातहतियार बेचबिखनको काम गरेको पनि छैन । यसैगरी चेलीबेटी बेचबिखनको धन्दामा संलग्न पनि छैन । मलाई के आधारमा उहाँले अपराधी भन्नुभयो यो कुरा उहाँले नै जान्नुहोला । मेरो पृष्ठभूमि भनेकै जनताको सेवा गर्ने हो ।

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनको लागि नै संसद्बाट चिकित्सा विधेयक पास भयो, प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई मार्सी चामलको भात पनि खुवाउनुभएकै थियो तर…..?

मलाई सबैतिरबाट अन्याय भएकोले त आजका दिनमा तपाईं मिडियाहरुसँग नजिकिएर मेरा समस्या र गुनासा सार्वजनिक गरिरहेको छु । मुलुकको चौथो अंगलाई गुहारेर म अदालत जाँदै छु । अन्याय भएको कारण नै मैले मिडियालाई साक्षी राखेर अदालत गुहार्नलागेको छु । मलाई कतैबाट पनि न्याय मिलेन । मेरो अर्बौंको लगानी डुब्ने अवस्थामा छ । लगानी डुबनु भनेको मेरो परिवार र बालबच्चा पनि भोकै पर्नु हो । सरकारसँग अझै मेरो के अनुरोध छ भने कि त सम्बन्धन दिइयोस्, होइन भने त्यो सम्पत्ति सरकारले नै किनिदियोस् । तत्काल मसँग अरु विकल्प छैन ।

२० करोड रकम मागेको दिन नै सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर त्यो कुराको पर्दाफास गरिदिएको भए तपाईंलाई सबैले स्याबासी र धन्यवाद दिने थिए तर कुरा नमिलेपछि मात्र यो विषयलाई बाहिर ल्याएको आरोप लागेको छ नि ?

मेरा पनि त केही परिस्थितिहरु थिए होलान् । मभन्दा माथिका नेताहरुलाई जानकारी गराएको कुरा त सार्वजनिक रुपमा नै बाहिर ल्याइसकेँ । त्यस दिनको माहोल त मलाई मात्र थाहा थियो । अरुलाई त जानकारी थिएन नि ! जुन–जुन ठाउँमा जानकारी गराउनुपर्ने थियो, ती ठाउँमा मैले गराइसकेको थिएँ ।

उपाध्यक्ष गिरीको कुन नम्बरबाट तपाईंलाई फोन आएको कुरा पनि बाहिर ल्याउन सक्नुभएन ?

फोनको कुरा छोडिदिनुहोस् न ! मेरो नम्बर उनीसँग छैन, उनको नम्बर मसँग छैन । त्यो दिन अर्थात् द्वारिकाज होटलमा भेट भएको दिन म उनको अफिसमा गएको थिएँ । त्यतिखेर नै होटलमा भेट्ने कुराकानी भएको हो । त्यसअनुसार नै हाम्रो भेट भएको हो । उहाँले साँढे ५ बजे म त्यहाँ आइपुग्छु भन्नुभएको थियो । त्यही समयमा म होटलमा पुगेको थिएँ । हाम्रो भेटघाट यसरी नै भएको हो । भेट भएको आधारहरु पनि यिनै हुन् । अर्को कुरा म मोबाइल फोन त्यति बोकेर पनि हिँड्दिन ।

अन्तमा केही छ भन्न बाँकी ?

मलाई सरकारले ०६८ साल पुस १४ गते सरकारले नीतिगत निर्णय गरेर पूर्वाञ्चलमा मेडिकल कलेज छैन, त्यहाँ बनाऊ भनेर लाइसेन्स दिएको हो । त्यही लाइसेन्स देखाएर जनताको पैसा बैंकबाट लोन लिएर भौतिक पूर्वाधार निर्माण गरेको हो । राष्ट्रिय चिकित्सा विधेयक २०७५ संसदबाट बहुमतले पास भयो । विधेयकमा काठमाडौं बाहिर मेडिकल कलेज सञ्चालन गर्नको लागि स्वीकृति दिने भनिएको पनि छ । विधेयकले भनेबमोजिम सम्बन्धन दिएर मलाई विद्यार्थी पढाउने मौका दिनुप-यो कि त लगानी भएको श्रीसम्पत्ति राज्यले किनिदेओस्, म बेच्न तयार छु ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया