Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकार लक्ष्य लिने तर पूरा गर्न नसक्ने

सरकार लक्ष्य लिने तर पूरा गर्न नसक्ने


सरकारले चालू आर्थिक वर्षको बजेटको विनियोजित लक्ष्य संसोधन गरेको छ । अर्थ मन्त्रालयले बुुधबार पत्रकार सम्मलेनमार्फत चालू आवको अर्धवार्षिक बजेट समीक्षा गरेर नै बजेटको विनियोजित लक्ष्य संसोधन गरेको जानकारी दिइसकेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले चालू आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमध्ये ९० दशमलव चार प्रतिशत मात्र खर्च हुने बताइसकेका छन् ।

अर्थमन्त्री डा. खतिवडाकैअनुसार चालू आवमा कुल विनियोजित बजेटमध्ये १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ । चालू आवमा विनियोजन गरेको बजेटमध्ये झण्डै १४ खर्ब खर्च हुुने अनुुमान गरिएको छ । अर्थमन्त्रीले उक्त कार्यक्रममा भनेका थिए, ‘हामी शतप्रतिशतभन्दा पनि ९० दशमलव ४ प्रतिशत मात्र खर्च गर्न सफल भएका छौँ ।’ सरकारले चालू आवको लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

समीक्षामा चालू आवमा १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँमा चालूतर्फ नौ खर्ब चार अर्ब ४६ करोड आठ लाख अर्थात् विनियोजित बजेटको ९४ दशमलव पाँच प्रतिशत, पुँजीगतर्फ तीन खर्ब २६ अर्ब ८१ करोड २७ लाख अर्थात् विनियोजित बजेटको ८० दशमलव एक प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५४ अर्ब ६९ करोड एक लाख अर्थात् विनियोजनको ९२ दशमलव दुई प्रतिशत मात्र खर्च हुुने अनुुमान गरेको छ । राजस्व संकलनको संशोधित अनुमान सुरु अनुमानको ९५ दशमलव छ प्रतिशत रहेको छ । जसले गर्दा राजस्व संकलनसमेत खुम्चीन पुगेको छ ।

चालू वर्षको अन्त्यसम्ममा सरकारको स्रोत अर्थात् राजस्व र आन्तरिक ऋणबाट ११ खर्ब ३२ अर्ब ५० करोड, वैदेशिक अनुदानतर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋणतर्फ दुई खर्ब नौ अर्ब ९० करोड ९० लाख परिचालन हुने संशोधित अनुमान गरेको छ । सरकारकै भनाइलाई आधार मान्दा कर्मचारीहरुको तलब वृद्धि, सामाजिक सुरक्षा भत्तामा मासिक एक हजार वृद्धि, अनुदान रकम हस्तान्तरण, कृषि अनुदानलगायतका कार्यक्रमले चालू खर्च संशोधित अनुमानअनुसार हुनेछ । माथिका यी तथ्यांकहरु सार्वजनिक गरिरहँदा अर्थमन्त्री केही गम्भीर देखिएका थिए । अर्थमन्त्री डा. खतिवडाको गम्भीरताले पनि मुुलुकको वित्तीय अवस्था कस्तो रहेछ भन्ने बुुझ्न सकिन्छ ।

नेपालमा धेरैजसो तथ्यांक अनुुमानको भरमा बनाइन्छ । त्यही अनुुमानको भरमा गरिएको तथ्यांकलाई आधार बनाएर राजस्व र करको दर निर्धारण गरिन्छ । त्यसकै आधारमा योजनाहरु बनाइन्छ । त्यही योजनाहरुको आधारमा बजेट बनाइन्छ । अनि बजेटको हालत अहिलेको जस्तो नै हुन्छ । यसरी हचुुवाको भरमा बनाइने बजेट र लिइने लक्ष्यले कसरी मुुलुकको आर्थिक विकास र समृद्धि हुन्छ ?

अर्थमन्त्री डा. खतिवडलाई अर्थतन्त्र बुुझेको व्यक्तिको रुपमा लिइन्छ । तर, उनको यो बुझाइ उनले ल्याएको बजेट हेर्दा पढेको विद्वानभन्दा नपढेको मुुर्ख नै जाती हो कि भन्नेतर्फ इङ्गित गर्छ । बजेट ठूलो बनाउने, राजस्वको लक्ष्य बढी ल्याउने अनि त्यही दरलाई भेट्टाउनलाई चर्को दरमा कर लगाएर जनताको ढाढ सेक्नेभन्दा बढी काम अहिले भएको छैन । लक्ष्य लिने अनि लक्ष्य पूरा गर्न नसक्ने अनि कसरी मुुलुकको आर्थिक समृद्ध हुन सक्छ ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया