स्थानीय तहमा १४ हजार ४०२ महिला निर्वाचित
काठमाडौं । स्थानीय तह निर्वाचनमा १४ हजार चार सय दुई महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार छ सय ९९ महिला उम्मेदवार रहेका थिए । कुल सात सय ५३ स्थानीय तहमा ३५ हजार दुई सय २१ पद छन् ।
निर्वाचन आयोगको सूचना प्रणालीमा बिहीबार साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए ।
दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित भएका छन् । दुवै जना कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।
कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित भएका छन् । प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिएका थिए ।
प्रदेशगत आधारमा निर्वाचित महिला : प्रदेश १ मा आठ हजार एक सय ९६ उम्मेदवार भएकामा दुई हजार चार सय ५५ जना महिला निर्वाचित भएका छन् । मधेश प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा दुई हजार सात सय ७० जना निर्वाचित भए । सोहीअनुसार बागमती प्रदेशमा आठ हजार तीन सय ४४ महिला उम्मेदवार रहेकामा दुई हजार तीन सय ४७ जना निर्वाचित भए ।
गण्डकी प्रदेशमा चार हजार छ सय ४९ महिला उम्मेदवार रहेकामा एक हजार छ सय २२ जना निर्वाचित हुन सफल भए । सोहीअनुसार लुम्बिनी प्रदेशमा आठ हजार सात सय ६७ महिला उम्मेदवार रहेकामा दुई हजार एक सय २४ जना निर्वाचित हुन सफल भए ।
आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा चार हजार आठ सय ७८ महिला उम्मेदवार रहेकामा एक हजार पाँच सय २४ जना निर्वाचित भए । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पाँच हजार ८५ उम्मेदवार रहेकामा एक हजार पाँच सय ६० जना निर्वाचित भए ।
प्रमुख पदमा महिला : देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् । आयोगको तथ्याङ्कअनुसार झापाको बिर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित भएकी छिन् । त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भइन् ।
मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित भएकी छिन् । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित भएकी छिन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी भएकी छिन् । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भइन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भएकी छिन् । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित भइन् । त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भए ।
सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भएकी छिन् । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित भइन् । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित भएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित भए ।
दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित भएकी छिन् । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी छिन् ।
आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा एक सय २३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया