Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी खातामा तीन खर्ब ३३ अर्ब नगद मौज्दात

सरकारी खातामा तीन खर्ब ३३ अर्ब नगद मौज्दात

एक खर्ब पाँच अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन


काठमाडौं । सरकारी खातामा तीन खर्ब ३३ अर्ब आठ करोड रुपैंयाँ नगद मौज्दात देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा उक्त परिमाणमा नगद मौज्दात देखिएको हो । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश रहेको महालेखाको भनाइ छ । २०७८ असार मसान्तमा भने यस्तो मौज्दात दुई खर्ब १८ करोड रुपैयाँ थियो ।

चालू आर्थिक वर्ष २०७८/०७९ को चैत मसान्तसम्ममा संघीय सरकारको कुल खर्च रकम भने सात खर्ब ९४ अर्ब २४ करोड रुपैयाँ छ । यस अवधिमा चालू खर्चतर्फ छ खर्ब २५ अर्ब ५० करोड, पुँजीगत खर्चतर्फ एक खर्ब तीन अर्ब ७९ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्चतर्फ ६४ अर्ब ९७ करोड रुपैयाँ रहेको महालेखाको भनाइ छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व सात खर्ब ८९ अर्ब २६ करोड परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश छ । यसमध्ये कर राजस्वतर्फ सात खर्ब २७ अर्ब ७९ करोड र गैरकर राजस्वतर्फ ६१ अर्ब ४७ करोड परिचालन भएको महालेखाले जनाएको छ ।

Open photo

संघीय सरकारले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ट्रेजरी बिलमार्फत ५० अर्ब, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड र नागरिक बचतपत्रमार्फत ९७ करोड परिचालन गरी जम्मा एक खर्ब पाँच अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति एक खर्ब २५ अर्ब ५३ करोड रहेको छ ।

यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ९० अर्ब चार करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३५ अर्ब ४८ करोड रहेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ८० अर्ब ६२ करोड रुपैयाँ रहेको महालेखाले जानकारी दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया