Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी सभामुख ताइवान पुग्दा चीनले ग-यो व्यापारमा कडाइ

अमेरिकी सभामुख ताइवान पुग्दा चीनले ग-यो व्यापारमा कडाइ


ताइपेई । चीनले ताइवानसँगको केही व्यापार निलम्बन गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीन रुष्ट बनेको हो ।

ताइवान आफ्नो भूमि भएको दाबी गर्दै चीनले वर्षौँदेखि विश्वलाई कूटनीतिक सम्बन्ध गाँस्न समेत दिएको छैन । तर ताइवानले भने आफू स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै चीनको भूमि नरहेको बताउँदै आएको छ । यस्तोमा पछिल्ला केही वर्षयता अमेरिकाले भने ताइवानसँग छुट्टै सम्बन्ध स्थापना गर्दै स्वतन्त्रताको पक्षमा हुने गरी द्विपक्षीय सहयोग, भ्रमण लगायत गर्दै आएको छ ।

मंगलबार सभामुख ताइपेईमा झर्नेबित्तिकै चीनले केही फलफूल र माछाजन्य ताइवानी उत्पादन चीनमा आयातमा प्रतिबन्ध लगाएको हो । त्यस्तै चीनबाट ताइवानमा हुने प्राकृतिक बालुवाको निर्यातमा पनि कडाइ गरिएको छ । चीन ताइवानको ठूलो व्यापार साझेदार हो । गत वर्ष यी दुई देशबीच दुई खर्ब ७३ अर्ब अमेरिकी डलरको व्यापार भएको थियो । जुन ताइवानको कुलमध्ये ३३ प्रतिशत हो । बाँकी भने अन्य विभिन्न देशसँग हुँदै आएको ताइवानी सरकारले जनाएको छ ।

अमेरिकी सभामुख ताइवान जाने हालसम्मकै उच्चपदस्थ व्यक्तित्व हुन् । उनलाई ताइवान नजान चीनले सार्वजनिक रुपमै अपिल गरेको थियो । यसले चीन–अमेरिका सम्बन्धमा नै असर गर्ने चीनको चेतावनी थियो । तर त्यसलाई चिर्दै पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी हुन् । योसँगै दुईबीच सैन्य संकट गहिरिने विश्लेषण गरिएको छ । ताइवानको जनसंख्या दुई करोड ४० लाख छ । विभिन्न वस्तुहरुमा प्रयोग हुने सेमिकन्डक्टर चिप्सको आपूर्तिमा ताइवान सबैभन्दा ठूलो निर्यातकर्ता हो । इलेक्ट्रोनिक्स, कार, रेफ्रिजेरेटर, मोबाइलहरुमा यस्ता चिपहरु प्रयोग हुन्छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया