Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजी७ ले रुसी तेलमा ‘प्राइस क्याप’ लगाउने

जी७ ले रुसी तेलमा ‘प्राइस क्याप’ लगाउने


लण्डन । ठूला सात औद्योगिक देशहरुको समूह जी७ ले रुसी तेलमा प्राइस क्याप लगाउने भएका छन् । युक्रेनमाथि आक्रमण गर्ने रुसी क्षमता घटाउन प्राइस क्याप लगाउनलागेको सीएनएनले जनाएको छ ।

जी ७ अर्थात् संयुक्त राज्य अमेरिका, जापान, क्यानडा, जर्मनी, फ्रान्स, इटली र बेलायतका अर्थमन्त्रीहरुले विश्वव्यापी रुपमा प्राइस क्यापमाथि हुने रुसी कच्चा तेल र पेट्रोलियम प्रोडक्टहरुको समुद्री निकासी गर्ने सेवालाई प्रतिबन्ध लगाउनसक्ने उल्लेख गरेका छन् । योसँगै आयल शिपमेन्टको लगानी तथा बीमाबापतको रकम पनि रोकिनसक्नेछ ।

यसअनुसार अधिकतम मूल्य विभिन्न देशहरुको सहमतिमा निर्धारण गरिने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । यसले युरोपेली संघको अर्को चरणको प्रतिबन्धसँगै लागू हुने बताइएको छ । ईयूले डिसेम्बरको सुरुबाट रुसी तेलको समुद्री आयातलाई प्रतिबन्ध लगाउनेछ । रुसले यसअघि नै प्राइस क्याप कार्यान्वयन गर्ने देशलाई तेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

‘हामी त्यस्तो कडाइ गर्ने देशलाई तेल निर्यात नै गर्दैनौँ’, उपप्रधानमन्त्री अलेजेन्डर नोभाकले बिहीबार भने । बाइडेन प्रशासनले धेरै महिनायता प्राइस क्याप लगाउने प्रस्ताव गर्दै आएको छ । तर यता मस्कोले भने चीन, भारतजस्ता देशलाई ठूलो परिमाणमा तेल दिएर अर्बौँ डलर कमाउँदै आएको छ ।

तर जी ७ का अर्थमन्त्रीहरुले भने युद्धलाई जुटाउने पैसा कम गराउन रुसविरुद्ध यस्तो कदम चालिएको बताएको छ । यद्यपि यसलाई कार्यान्वयन र व्यवस्थापन गर्न जटिल हुने देखिएको छ । यसका लागि ठूलो अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्ने हुन्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया