Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक सय ५० करोड लगानीमा प्रदेशकै ठूलो सुपरमार्केट ‘भाटभटेनी’

एक सय ५० करोड लगानीमा प्रदेशकै ठूलो सुपरमार्केट ‘भाटभटेनी’


बाँके, फागुन १८
एक सय ५० करोड लगानीमा ५ नम्बर प्रदेशकै सबैभन्दा ठूलो अत्याधुनिक सुपरमार्केट ‘भाटभटेनी’ नेपालगञ्जमा सञ्चालनमा आएको छ । नेपालगञ्जमा अत्याधुनिक सुपरमार्केट ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको हो । देशकै ३० उत्कृष्ट विजनेस हाउसमध्ये एक भाटभटेनीले आफ्नो १८औं शाखाको रूपमा शुक्रबारदेखि नेपालगञ्ज शाखा सञ्चालनमा ल्याएको हो । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ, उनकी श्रीमती सावित्री गुरुङ, प्रतिनिधिसभाका सांसद महेश्वर गहतराज अथक, नेपालगञ्ज मेयर डाक्टर धवल शमसेर राणालगायतले संयुक्तरूपमा नेपालगञ्ज शाखाको उद्घाटन गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकादो स्थित रत्न राजमार्ग पश्चिमतिर करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको भाटभेटनीमा भौतिक सम्पत्तिसहित करिब एक सय ५० करोड लगानी रहेको व्यावस्थापन पक्षले जनाएको छ । नेपालगञ्ज शाखासँगै प्रदेश ५ मा भाटभटेनीका तीनवटा स्टोर सञ्चालनमा आएका छन् । यसअघि बुटवल र भैरहवामा सञ्चालन गरिएका स्टोरभन्दा ठूलो स्टोरका रूपमा नेपालगञ्ज शाखा सञ्चालनमा आएको हो । स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामग्रीहरू पाइनुका साथै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फुडकोर्टलगायतका सेवाहरूसमेत उपलब्ध छन् । भाटभटेनीले शुभारम्भको अवसरमा सबै किसिमका सामानहरूको खरिदमा १० प्रतिशत तथा सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरूमा २० प्रतिशतसम्म नगद छुटका साथै निःशुल्क होम डेलिभरी सेवासमेत उपलब्ध गराउने घोषणासमेत गरेको छ ।

प्रदेशकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासम्पन्न भाटभटेनीको नेपालगञ्ज शाखा शुभारम्भसँगै हजारौँ उपभोक्ताहरूले आधुनिक सुपरमार्केटबाट सपिङको अनुभव लिएका छन् । ‘विराटनगर र भैरहवाको अनुभवबाट नेपालगञ्ज शाखालाई थप अत्याधुनिक र भव्यता दिइएको छ’, भाटभटेनीका अध्यक्ष गुरुङले शुभारम्भलगत्तै भने, ‘यो उपभोक्ताहरूको आफ्नै पसल हो, हामी माध्यम मात्र हौँ ।’ अध्यक्ष गुरुङले नेपाली ग्राहकहरूलाई सीमापारी जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सीमावर्ती बजारलाई लक्षित गरिएको बताए । ‘भारतका कम्पनीहरूबाटै विशेष दररेटमा सामान आयात गरिएकाले रूपैडिहाभन्दा निकै सस्तो दरमा हामी उपलब्ध गराउने गरेका छौँ’, अध्यक्ष गुरुङले भने, ‘ढुक्कसँग आउनुस्, सीमापारीभन्दा सस्तो, सहज र सफा सुपरमार्केटबाट अन्तर्राष्ट्रियस्तरको सपिङ गर्नुस् ।’ ‘सीमापार रूपैडिहा बजारभन्दा सस्तोमा मालसामान हामी उपलब्ध गराउँछौँ’, भाटभटेनी नेपालगञ्ज शाखाका प्रबन्धक विनोद भट्टराईले भने । सन् १९८४ देखि काठमाडौँको एउटा सामान्य पसलबाट सुुरु भएको भाटभटेनीको यात्रा देशव्यापी हुने अभियानअन्तर्गत बाँकेको नेपालगञ्जमा सञ्चालनमा ल्याएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार


तपाईको प्रतिक्रिया