Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनामिबियाद्वारा १० अर्ब डलरको हाइड्रोजन परियोजना स्वीकृत

नामिबियाद्वारा १० अर्ब डलरको हाइड्रोजन परियोजना स्वीकृत


नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन इनर्जीद्वारा सञ्चालन गरिने सो परियोजना यस दशकको अन्त्यसम्ममा पूर्णरूपमा सञ्चालन हुने र वार्षिकरूपमा करिब २० लाख टन हरियो अमोनिया उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

उक्त परियोजनाले क्षेत्रीय र विश्वव्यापी बजारको मागलाई पूरा गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ । यस परियोजनाले देशको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन गर्दै र यसलाई विश्वव्यापी हरित ऊर्जा बजारमा प्रमुख खेलाडीको रूपमा स्थापित गर्नुका साथै थप समृद्ध भविष्यतर्फ नामिबियाको संक्रमणमा महत्वपूर्ण कोसेढुंगाको रूपमा विकसित हुने विश्वास गरिएको छ । सो परियोजना नामिबियाको राष्ट्रिय एजेन्डा हारामबी समृद्धि योजनासँग मिल्दोजुल्दो रहेको र आर्थिक रूपान्तरणका लागि उत्प्रेरकको रूपमा इन्धन उद्योगको अन्वेषणलाई जोड दिने बताइएको छ ।

‘हामी आफ्नो देश, क्षेत्र र सिंगो विश्वमा धेरैको जीवन परिवर्तन गर्ने सम्भाव्य भएको परियोजनाको यात्रामा उत्कटताका साथ लागेका छौँ’, राष्ट्रपति हेज गिन्गोबले भनेका छन्, ‘हाइफन हाइड्रोजन एनर्जीले परियोजनाको प्राविधिक, वित्तीय, वातावरणीय, सामाजिक र व्यावसायिक पक्षहरूको निरीक्षण गरिँदै छ ।’

नामिबिया सरकारले देशको हरित हाइड्रोजन उद्योगको स्थापना र दिगो सञ्चालनलाई समर्थन गर्दै आवश्यक भूमि उपलब्ध गराएर बलियो कानुनी, वित्तीय र नियामक ढाँचा स्थापना गरेर योगदान गर्ने बताइएको छ । हरित हाइड्रोजन उद्योगको विकासका लागि वित्तपोषण गर्न र सरकारको सहभागितालाई जनाउन विभिन्न विश्वव्यापी साझेदारहरूबाट पाँच सय ७८ मिलियन अमेरिकी डलरभन्दा बढी रकमको कोष सुरक्षित गरिएको छ । रासस


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया