Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिभन्सारकै गोदाममा १० महिनादेखि थन्कियो रासायनिक मल

भन्सारकै गोदाममा १० महिनादेखि थन्कियो रासायनिक मल


चौतारा । दश महिनादेखि चीनबाट ल्याइएको रासायनिक मल तातोपानी भन्सारको गोदाममा थन्किएको छ । लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल थन्किएको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको बताए । खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए ।

आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ । भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो ।

सिल्क मार्केटले सम्झौताअनुसार रासायनिक मल समयमै ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन् । कृषि सामग्री कम्पनी लिमिटेडसँग प्रक्रिया पूरा भएपछि मल काठमाडौँ लगिने शेर्पा बताउँछन् । भन्सारमै मल थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया