Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा


काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षितरूपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका बिरुवा गुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो ।

कम्पनीका अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा अन्न भण्डारण गृह निर्माण गरेको जानकारी दिए । उनका अनुसार यी तीनवटा भण्डारण गृहको कूल क्षमता ५५ हजार मेट्रिक टन रहेको छ । सबैभन्दा बढी क्षमताको वेयरहाउस पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार पर्सामा २५ हजार मेट्रिक टन तथा सुनसरी र कपिलवस्तुको १५/१५ हजार मेट्रिक टन क्षमताका वेयरहाउस छन् ।

कम्पनीका महाप्रबन्धक समिरराज सत्यालका अनुसार यी भण्डारण गृहमा गहुँ, मकै र भटमासलगायत सबै किसिमका अन्न भण्डारण गर्न सकिन्छ । यी भण्डारण गृहको सेवा खाद्य उद्योग, व्यापारी, कृषक सबैले लिन सक्ने उनले बताए । वेयरहाउसमा भण्डारण गरिएको अन्न धितो राखेर कर्जा पनि लिन सकिने उनले जानकारी दिए । यो सुविधाले किसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यताबाट मुक्ति दिने अपेक्षा कम्पनीले गरेको छ । यसअघि भण्डारणस्थलको अभावमा किसानले व्यापारीले तोक्ने सस्तो मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न बाध्य भएका थिए । साथै, कुहिने तरकारी र फलफूल पशुवस्तुलाई खान दिएका खबर बारम्बार आइरहेकोले कम्पनीले सुरक्षित भण्डारण गृहको निर्माण गरेको महाप्रबन्धक सत्यालले बताए ।

‘वेयरहाउसमा सुरक्षित भण्डारण गरेको अनाजपछि राम्रो मूल्य पाएको बेला जहिलेसुकै बिक्री गर्न सकिन्छ’, उनले भने, ‘यसबाट आफ्नै भण्डारण पूर्वाधार नभएका किसान धेरै लाभान्वित हुनेछन् ।’ कम्पनीले बिक्रीका लागि आएको अन्नको लिलाम बढाबढको सेवा पनि उपलब्ध गराउने जनाएको छ । यसबाट पनि कृषक नै लाभान्वित हुने कम्पनीको दाबी छ । कम्पनीले उच्च प्रविधिबाट कृषि वस्तुको प्रशोधन, भण्डारण गरिएका उत्पादन धितोमा वित्तीय संस्थाबाट ऋण लिने व्यवस्था, कृषकका लागि बीउ, मल, औषधी, उपकरण उपलब्ध गराउनेलगायत सेवा दिने महाप्रबन्धक सत्यालले बताए ।

कम्पनीका लगानीकर्ता तथा निम्बस ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवालले खाद्य सुरक्षामा विश्वको ध्यान केन्द्रित भइरहेको अहिलेको अवस्थामा भण्डारण गृहको सान्दर्भिकता अझ बढेर गएको बताए । सरकारले खाद्यान्नको न्यूनतम समर्थन मूल्य तोकिरहेकाले खरिद गरेको खाद्यान्न भण्डारका लागि निजी क्षेत्रले तयार पारेका भण्डारण गृहको उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए । सरकारले यस्ता भण्डारणमा लगानी गर्नुभन्दा निजी क्षेत्रको लगानीमा तयार भएका संरचना मितव्ययी हुने पनि उनले बताए । पोस्ट हार्भेस्टमा ३० प्रतिशतसम्म अन्न खेर जाने भन्दै उनले त्यसरी खेर जाने अन्न जोगाउन यस्ता पूर्वाधार प्रभावकारी हुने र यसबाट खाद्यान्न उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिने बताए ।

कम्पनीले हालै वीरगञ्जमा कर्पोरेट मिट समेत आयोजना गरेको थियो । कम्पनीले कृषिजन्य उत्पादनको सुरक्षित भण्डारण, प्रशोधन, लिलाम बढाबढ सेवा, कृषिजन्य उत्पादन धितो राखी ऋणको प्रबन्ध गर्नुका साथै किसानलाई एकै ठाउँबाट बीउविजन, मलखाद, औषधी, उपकरण तथा अन्य आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ । सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको यो कम्पनीले सुनसरीको गढी, पर्साको बिरुवागुठी सेवा सञ्चालनमा ल्याएको छ भने कपिलवस्तुको वीरपुरमा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x