Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिमनोरञ्जनजिबि आग्रीको सामाजिक कथामा ‘रातो टिकी’ सार्वजनिक

जिबि आग्रीको सामाजिक कथामा ‘रातो टिकी’ सार्वजनिक


काठमाडौं । जिबि आग्रीको कथा र निर्देशनमा कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको गीत मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

१२ मिनेटको गीति भिडियोले एकल महिलाको कथा बोलेको छ । समाजलाई केही न केही सन्देश दिने खालका भिडियो बनाउन रुचाउने निर्देशक आग्रीले यस भिडियोमार्फत एकल महिलाका नाममा समाजले गरेका विभेदको विरुद्ध आवाज उठाएका छन् । ‘सामान्य मायाप्रेमका गीत धेरै बन्छन् अनि बनाइन्छ पनि, तर समाजका लागि केही दिने खालका काम भने केहीमा मात्र गर्न पाइन्छ’, निर्देशक आग्रीले भने, ‘यस्ता काम गर्ने अवसर पाउनु पनि ठूलो कुरा हो, जसले आफूलाई पनि गर्वको महसुस हुने गर्छ ।’

यसअघि जातीय विभेदविरुद्धको सन्देश रहेको विकको ‘हजुर मुसुक्कै’ बोलको गीतमा पनि आग्रीले निकै राम्रो प्रतिक्रिया पाएका थिए । विशेष गरेर हिन्दु अतिवादी सोच भएका असली हिन्दु धर्म र हिन्दुत्वको ज्ञान नभएकाहरूले महिलामाथि गर्ने विभेदलाई हटाउनु नै गीतको प्रमुख उद्देश्य रहेको निर्देशक आग्री बताउँछन् । ‘हाम्रो समाजमा अझै पनि एकल महिलाहरूलाई हेर्ने नजर फरक छ, अझ सुदूरपश्चिमतिर त यो अवस्था झनै विकराल छ’, आग्री भन्छन्, ‘यस्ता कुराहरूलाई कम गर्न गीतसङ्गीतको माध्यम महत्वपूर्ण हुने विश्वास मैले लिएको छु ।’

त्यसो त भाइरल हुनुभन्दा सन्देशमूलक गीत गाउने र समाज परिवर्तनमा योगदान दिने प्रयास आफूले गरेको बताउँछन् गायक कृष्ण विक । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा कृष्णका साथै मेलिना राई र रेखा जोशीको आवाज छ ।

रातो टिकीमा महानायक राजेश हमाल, दिलीप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशीको जीवन्त अभिनय रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो गोपाल रायले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन् । मनोज श्रेष्ठको भीएफएक्स रहेको भिडियोको कलर करेक्सन रेनिश फागोले गरेका छन् ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया